काठमाडौं । प्रधानमन्त्रीका रुपमा विराजमान खड्गप्रसाद शर्मा ओलीले आफूलाई निक्कै नै राष्ट्रवादी भनी देखाउने गरेको अवस्थालाई व्यवहारमा उतार्नुपर्ने चुनौती आएको छ ।
उनले आफू र आफ्नो दल नेकपा (एमाले) लाई मुलुकको एकमात्र राष्ट्रवादी दलको रुपमा परिभाषित गर्ने गरेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को हप्ता नेपालमा हुने आगमनको बेला ओलीको वास्ताविकता खुल्ने भनी नेपालीजन ध्यानपूर्वक पर्खाइमा रहेका छन् ।
यसैक्रममा माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सीमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न सरकारसमक्ष माग गरेको छ ।
भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप सो पार्टीले लगाएको अवस्थामा ओलीले आफूलाई मोदीसामु कसरी प्रस्तुत गर्लान् र राष्ट्रियताका विषयमा आफ्नो अडान राख्न सक्लान् कि नसक्लान् भनी सर्वत्रबाट चासो राखिएको छ ।
नेपालमा प्रधानमन्त्री नियुक्ति हुनासाथ भारतको भ्रमण गरी ‘ओहोदाको प्रमाणपत्र बुझाउने’ प्रचलन नेपाली नेताहरुमा देखिएको भन्ने आरोपबाट ओली समेत मुक्त हुन नसकेको अवस्थामा मोदीसँग पौठेजोरी लिन ओलीले सक्लान् कि नसक्लान् भनी चासो राखिएको अवस्था छ ।
केही समयअघि भारतको भ्रमणमा गएका ओलीले आफूलाई सबल रुपमा प्रस्तुत गर्न नसक्दा उनको बोली र व्यवहारमा आकाश जमिनको अन्तर रहेको भनी आलोचना भएको थियो । नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको दललगायतले ओलीको भारतभ्रमणले उनको राष्ट्रवादी घुम्टो उघ्रिएको भन्दै आलोचना गरेका थिए ।
सरकारमै सहभागी दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले समेत ओलीलाई शंकाको घेरामा राखिरहेका छन् । मोदीको नेपालभ्रमणका बेलामा नेपालको सीमा विवादलाई उठाई समाधान खोज्नु आजको आवश्यकता पनि हो ।
आफूलाई राष्ट्रवादी नेता र आप्mनो दललाई राष्ट्रवादी भन्ने ओलीले बोलीमा मात्र होइन कि व्यवहारमै राष्ट्रवादी देखाउने अवसरका रुपमा मोदीको भ्रमण रहेको बुद्धिजीवीहरुको धारणा छ ।
त्यसैले पनि ओलीले आफूलाई नेपालको पक्षधरका रुपमा देखाई भारतीय प्रधानमन्त्रीको भ्रमणका दौरान आफ्नै भूमिमा आफ्नो भूमिको रक्षाको लागि आवाज उठाउन सकेमात्र पनि ओलीको राष्ट्रभक्ति साँच्चिकै रहेछ भनी देखिने अवस्था छ ।
ओलीको विगतलाई बुझ्नेहरु भने ओलीलाई राष्ट्रवादी नेताका रुपमा स्वीकार्न सकिरहेका छैनन् । उनीहरुले विगतमा महाकाली सन्धिका नाममा ओली विटुलिसकेको भन्दै हालको अवस्थामा पनि उनी सही रुपमा प्रस्तुत हुनेमा उनीहरुले शंकै गरेको अवस्था छ ।
निर्वाचनका अघिल्ला समयमा ओलीले आफूलाई भारतको शोषण नसहने नेताका रुपमा प्रस्तुत गर्ने जमर्को गरेका थिए । सप्तरीमा सीमाको रक्षार्थ उत्रिएकाहरुको सम्मान मात्र नगरी भारतको विरोधमा नाकाबन्धीको पनि विरोध गरेका थिए ।
ओलीका ती बेलाका बोलीलाई ध्यानमा राखी भारतीय पक्षले पनि हालको अवस्थामा वर्तमान सरकारलाई चिढ्याउने भन्दा पनि फकाउने पक्षमा भारतीय पक्ष रहेको अवस्था,नयाँ विमर्शमा उल्लेख छ ।
यस्तो बेलामा ओलीले कमसेकम मिचिएको सीमाका विषयमा कुरा मात्रै उठाए पनि उनी नेपालीजनमा अकबरी सुनमा परिणत हुने अवस्था रहेकोतर्फ ओलीको ध्यान पुग्न सके मुलुकको लागि राम्रै हुने अपेक्षा गरिएको अवस्था छ ।