• पाँचथर । आधुनिक नेपाल निर्माणअघिका १० लिम्बुवान राज्यमध्येको एक हिलिहाङ राज्यसम्बन्धी ऐतिहासिक तथा पुरातात्विक विषयलाई प्रचारमा ल्याएर समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ पाँचथरको हिलिहाङ गाँउपालिकाका ‘हिलिहाङ महोत्सव २०७५’ सुरु भएको छ ।

    १० लिम्बुवान मध्येको एक याङवरक थुममा पाँचथरका साविकका सुभाङ, पञ्चमी, अमरपुर, नागी, थर्पू, ओयाम, च्याङथापू र फलैँचा गाविसहरु तथा ताप्लेजुङका डुम्रिसे, थेचम्बु, तिरिङ्गे, फावाखोला, सिकैँचा, सिनाम, आम्बेगुदिन, चाक्सिबोटे, थुम्बेदिन, तेल्लोक, मामाङ्खे, याम्पुदिन, खेवाङ, पेदाङ, मेहेले, लिम्बुदिन, साब्लाखु, आङखोप, सादेवा र सुरुङ्खिम गाविसहरु पर्दथे ।

    यो शक्तिशाली राज्य तथा उक्त याङवरक थुमको राजधानी हिलिहाङ दरबारको प्रचार–प्रसार गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्ने, पुराातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्ने, नयाँ पर्यटकीय केन्द्र पहिल्याउने र समग्र गाँउपालिकालाई पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्ने महोत्सवले लक्ष्य लिएको छ ।

    दरबार क्षेत्र अतिरिक्त हिलिहाङ गाँउपालिका भित्रका पर्यटकीय स्थलहरु सानो पाथीभरा, जोरपोखरी, आगेजुङ, गोपेटार, कालापानी, भोटे गढी, मृदङ्गा झरना लगायतको प्रचार–प्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने, समग्रमा हिलिहाङलाई आधुनिक नेपाल निर्माणसँग सम्बन्धीत विषयमा अध्ययनको केन्द्र बनाउने, हिलिहाङ क्षेत्रका स्थानीय उत्पादनहरुको प्रदर्शन र प्रचार–प्रसार गरेर बजार खोज्ने लक्ष्य पनि महोत्सवले लिएको छ ।

    हिलिहाङ दरबार रहेको हिलिहाङ गाँउपालिका वडा नं. ४ मा रहेको हस्तपुर क्षेत्रमा नवनिर्भित खेलमैदानमा महोत्सव आयोजना गरिएको छ । निक्कै अग्लो स्थानमा रहेको हिलिहाङ दरबारकै मुनि रहेको खेलमैदानमा महोत्सव आयोजना गरिएको छ । महोत्सवमा तत्कालीन याङवरक थुमका राजा हिलिहाङ तथा उनको राज्यले प्रयोग गरेका हात हतियारहरु विशेष आकर्षणको रुपमा रहेका छन् ।

    यहाँ ठूलो परिमाणमा हतियार रहेको भएपनि हिलिहाङ तथा याङवरक क्षेत्रका अगुवा सुब्बाहरुले लगेका कारण सिमित मात्रामा मात्रै हतियार राखिएको छ । ढाल, तरबार, तोप लगायत हतियार प्रदर्शनमा छन् । हिलिहाङ गाँउपालिका क्षेत्रमा उत्पादित चिया, राडी, पाखी, दुग्धजन्य उत्पादनहरु, खोर्सानी, कागती लगायतबाट उत्पादित सामग्रहरु, घरेलु हात हतियारहरु, ढाकाका कपडाहरु तथा जनजाति समुदायका भेषभुषाहरु, पाखन्वेद, बुढो ओखती, हड्चुर, चिम्फिङ, चिराइतो, याङ्बे लगायत जडिबुटीहरु, हाते कागज, बाँसबाट निर्भित सामग्रीहरु, परम्परागत स्थानीय सामग्रीहरु, कपासमा उत्पादित लत्ता कपडाहरु, स्थानीय परिकारहरु लगायत प्रदर्शनका लागि महोत्सवमा राखिएको छ ।

    महोत्सवको सोमवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । महोत्सव उद्घाटनकै लागि आएका मुख्यमन्त्री राईले हिलिहाङ दरबार क्षेत्रको अवलोकन गरे । मुख्यमन्त्री राईले याङवरक राज्यका अन्तिम राजा हिलिहाङको दरबारसँगै रहेको र राजा हिलिहाङले दैवी शक्ति प्राप्त गरेको विश्वास लिइएको ‘युमा साम्माङ माङयुक्ना हिम’को दर्शन गरे ।

    मुख्यमन्त्री राईले हिलिहाङ दरबारको भग्नावशेषअघि निर्माण गरिएको राजा हिलिहाङको पूर्ण कदको शालिक समेत अनावरण गरे । महोत्सवकै अवसर पारेर आयोजना गरिएको भलिवल प्रतियोगिताको समेत मुख्यमन्त्री राईले उद्घाटन गरे ।

    महोत्सवको मुख्य आकर्षण एवं संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिइएको हिलिहाङ दरबारको भने भग्नावशेष मात्र बाँकी छ । उक्त दरबार तिब्बतबाट इटा ल्याएर बनाइएको जानकार तथा स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ । उक्त दरबार क्षेत्रको २०७१ सालमा पुरातत्व विभागले उत्खनन समेत गरेको थियो । विभागले उक्त दरबार क्षेत्रलाई पुरातात्विक क्षेत्रको रुपमा सूचिकृत समेत गरेको छ । तर, स्थानीय जानकारहरु दरबार क्षेत्रको उत्खनन गर्ने क्रममा दरबार क्षेत्रका पुरातात्विक तथा ऐतिहासिक प्रमाणहरु नष्ठ भएको वताउँछन ।

     

    दरबार घेरेको ८ फिट अग्लो पर्खाल केही स्थानीयले भत्काएको र मनपरी रुपमा इटा लगेको स्थानीय शिक्षक योगेश योङ्या वताउँछन् । १८४८, १८६० मा पटक–पटक सम्झौता भएको र ती सम्झौताहरु शिलालेखमा लिपिवद्ध गरिएको भएपनि त्यसलाई भाँचेर फालिएको उनको भनाई छ । प्रमाण, इतिहास र सम्यता नष्ठ गर्ने प्रयत्न भएको योङ्याको आरोप छ ।

    जेष्ठनागरिक तथा जानकारहरुले भनेका आधारमा तरबारको जिर्णोद्धार गर्नुपर्ने, तोप, ढाल, तरबार, सम्झौताका पाण्डुलिपी तथा शिलालेखहरु सङ्कलन गरि संग्रहालय निर्माण गरिनुपर्ने, माङ्हिमको निर्माण गर्नुपर्ने र पर्यटकीय स्थलको रुपमा विकास गरिनुपर्ने स्थानीयको भनाई छ ।

    राजा हिलिहाङको १८४४ सालमा निधन भएको वताइन्छ । उनको निधन स्वभाविक नभएको स्थानीयको भनाई छ । राजा हिलिहाङको निधनअघि हिलिहाङ र नेपाल एकीकरणमा रहेको गोर्खाली सेनावीच १७ पटक युद्ध हुँदासमेत हारजित नभएको वताइन्छ । तर, १८४४ मा नेपाल राज्यमा गाभिने पक्षमा रहेका हिलिहाङ राजाकै आफन्त तथा अन्यले उनको हत्या गरेको वताइने गरिन्छ ।

     

    राजा हिलिहाङ १८३१ सालमा भएको नेपाल र लिम्बुवानवीचको सन्धी नमान्ने पक्षमा रहेका लडाई गर्दै आएको वताइन्छ । राजा हिलिहाङ नै लिम्बुवान राज्यका अन्तिम राजा भएका कारण हिलिहाङ दरबार अध्ययनको अत्यन्तै महत्वपूर्ण स्थल रहेको वताइन्छ ।

    करिब ५० लाख रुपैँयाको लागतमा सम्पन्न हुने अनुमान गरिएको महोत्सवलाई हिलिहाङ गाँउपालिकाले मूख्य रुपमा सहयोग गरेको छ । गाँउपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । समितिले देश तथा विदेशबाट महोत्सवका लागि सहयोग संकलन गरेको छ ।

    महोत्सवको पहिलो दिन महोत्सवको उद्घाटन, साँस्कृतिक झाँकीको प्रस्तुती तथा दरबार क्षेत्रको अवलोकन सम्पन्न भएको छ । दोश्रो दिन नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको छ । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति प्रदर्शन गरेका छन् । महोत्सवको तेश्रो दिन हिलिहाङ ५–६ जोरपोखरीदेखि आगेजुङ गुम्बा, गोपेटार, भोटेगढी हुँदै हिलिहाङ दरबारसम्म पदयात्राको आयोजना गरिएको छ ।

    यस्तै चौथो दिन जेष्ठ नागरिकहरुको सम्मान, कलाकारहरुको प्रस्तुती तथा हिलिहाङ क्षेत्रको पर्यटन विकास सम्बन्धी अन्तरकृया हुँदैछ भने अन्तिम दिन भलिवल खेलमा विजेताहरुलाई पुरस्कार वितरण, सहयोगीहरुलाई सम्मान तथा महोत्सव समापन गरिने महोत्सव आयोजक मूल समारोह समितिले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…