• प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच परामर्शमै आर्थिक वर्ष ०७५/०७६ को बजेटको तयारी गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार प्रधानमन्त्री ओली र प्रचण्डको छलफल भएको हो ।

    पार्टी संसदीय दलको बैठकमा माओवादी केन्द्रका सांसद र मन्त्रीहरूले बजेट निर्माणमा छलफल नगरेको विषयमा व्यक्त गर्दै आएको असन्तुष्टिको जानकारी प्रचण्डले प्रधानमन्त्री ओलीलाई गराएका थिए । प्रधानमन्त्री ओलीले संयुक्त चुनावी घोषणापत्र र सरकारको प्राथमिकतालाई ध्यान दिएरै बजेट निर्माण अघि बढिरहेकाले त्यसबारे थप छलफल गर्न सकिने बताएका थिए । ‘उहाँहरूबीच आपसी छलफल र सल्लाहबाटै बजेट ल्याउने सहमति भएको छ,’ भेटपछि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले नयाँ पत्रिकासँग भने ।

    अर्थमन्त्रीले आफूहरूलाई बाइपास गरेर बजेट निर्माण गरिरहेको भन्दै मंगलबारको बैठकमा माओवादीका मन्त्री र सांसदहरूले असन्तुष्टि जनाएपछि प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

    भेटमा प्रचण्डले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट आएको ट्विटले दुई पार्टीको सहकार्य र एकताको तयारीमै प्रभाव पर्ने गरी भ्रम सिर्जना गरेको विषयप्रति जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले बेग्लै प्रसंगसँग जोडेर उठाएको विषयलाई सचिवालयले ट्विट गर्दा गलत अर्थ लागेको हुन सक्ने भन्दै स्पष्ट पारेका थिए ।

    ‘ट्विटरमा आएको धारणाले तलसम्म एकखाले भ्रम सिर्जना भएको पाइयो, खासमा त्यो विषय के हो भनेर अध्यक्षज्यूले जिज्ञासा राख्नुभएकोमा प्रधानमन्त्रीले फरक प्रसंगमा बोलेको कुरालाई सचिवालयले ट्विटमा राख्दा भ्रम सिर्जना भएको छ भने हाम्रो तर्फबाट तलसम्मै स्पष्ट पार्छौं भन्नुभएको छ,’ सापकोटाले भने, ‘भ्रममाथिको छलफलपश्चात् वातावरण सहज बनेको छ ।’ यस्तै, प्रधानमन्त्री ओली र प्रचण्डले पार्टी एकतालाई परिपक्व ढंगले अघि बढाउने समझदारीसमेत गरेको उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…