• मुक्तिनाथ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालको दुईदिने राजकीय भ्रमणमा आएका मोदी शनिबार बिहान मुक्तिनाथ आउने कार्यक्रम छ। मोदीको पुजापाठ, सुरक्षा प्रबन्ध र स्थानीयस्तरमा स्वागतको सम्पूर्ण तयारी पूरा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। बाह्रगाउँमुक्ति क्षेत्र गाउँपालिकाको अगुवाइमा मुक्तिनाथ क्षेत्र स्वागत गेट, झण्डा, तुलव्यानले झकिझकाउ देखिएको छ।

    हेलिप्याड देखि मन्दिर प्रवेद्धार सम्म विभिन्न ६ वटा गेट निर्माण गरिएको छ। त्यसमा कार्पेट बिछ्याईएको छ। शुक्रबार बिहान मोदी भ्रमणको पूर्वसन्ध्यामा मुक्तिनाथ परिसरमा जनप्रिय युवा क्लबको नेतृत्वमा सरसफाई गरिएको छ। परिसर बाहिर भक्तजनहरुले फालेको प्लाष्टिक, फोहोरजन्य पदार्थहरु हटाईएको छ। बिहिबार बिहान वेमौसमी हिमपातका कारण तयारीको कार्य केहि ढिला भएको थियो।

    मौसममा सुधार आएसँगै मुक्तिनाथ क्षेत्रमा शुक्रबार दिनभर घाम लागेको छ। तापक्रम बढेपछि मुक्तिनाथ सहित, झारकोट र खिँगा क्षेत्रमा जमेको एक फिट हिउँ पग्लेको छ। घाम लागेका कारण तयारीका सम्पूर्ण कार्य सहज तरिकाले अघि बढेको बाह्रगाउँमुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष धारा गुरुङले जानकारी दिए।

    बिहान करिब ८ बजे मुक्तिनाथ ओर्लने मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी र प्रदेश नं ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा स्वागत गर्नेछन्। त्यसपछि मुस्ताङका सांसद्, प्रमुख जिल्ला अधिकारी सहित गाउँपालिका अध्यक्षहरुले स्वागत गर्ने कार्यक्रम तय भएको छ। मन्दिरको मूख्य मण्डपमै पुजापाठको व्यवस्था मिलाईएको मोदीले आधा घण्टा पुजाअर्चना गर्ने बताईएको छ।

    मोदीको भ्रमणको अघिल्लो दिन नेपाली सेनाको विशेष टोलीले मुक्तिनाथमा विशेष सर्च अभियान सुरु गरेको छ। ठुला होटलहरुमा कुकुर सहितको टोलीले निरिक्षण गरिएको छ। मनाङसँगको सीमाना थोराङला पास, मुक्तिनाथ आसपास र कागबेनी क्षेत्रमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

    बिहिबार बिहान ९ बजे मुक्तिनाथमा एक फिट हिउँ जमेको थियो। त्यतिबेला त्यहाँको तापक्रम माइनस २ डिग्री थियो।बिहानैबाट हेलिप्याड र स्वागत गेट निर्माण गर्ने भनिएपनि दिउँसो १ बजे मात्रै यो काम सुरु हुन सक्यो । बेमौसमी हिमपातका कारण व्यापक चिसोका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको स्वागतको तयारी अघि बढेको छ।

    मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म ६ वटा हेलिप्याड र ६ वटा स्वागत गेट निर्माण गर्ने तयारी भएपनि हिमपात र चिसोले सोचे जस्तो काम हुन नसकेको बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए। गाउँपालिकाको अगुवाईमा स्थानीय भौतिक संरचना निर्माणको काम जनप्रिय युवा क्लबले गरिरहेको छ। ‘बिहान ११ बजेसम्म यहाँ मान्छे हिड्डुल गर्न सक्ने अवस्था थिएन्, त्यसैले गेट निर्माणको काम निकै ढिला भयो’, उनले भने, ‘मौसमले साथ दिइरहेको छैन।’ हेलिप्याडको रेखांकन र स्थान छनौटका लागि आएका सुरक्षा निकायको हेलिकोप्टरहरु 
    अवतरण गर्न नसकेर पटक–पटक जोमसोम फर्केका थिए। हिमपातका कारण मुक्तिनाथ र कागबेनी क्षेत्रका ६ वटा विजुलीका खम्बाहरु ढलेपछि मुक्तिनाथमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद छ । इन्टरनेट र सञ्चार सम्पर्क नहुँदा जिल्ला, प्रदेश र केन्द्रसँग समन्वय गर्न समस्या उत्पन्न भइरहेको छ। 

    प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल र जिल्लास्तरीय स्वागत समितिका संयोजक एवम् जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्यामो गुरुङको निर्देशनमा ढलेको खम्बाहरु जडान भएपनि सञ्चार सम्पर्क भरपर्दो छैन। मुक्तिनाथमा पर्यटन व्यवसायी सुरज गुरुङका अनुसार वैशाख अन्तिम साता हिमपात भएको यो नै पहिलो पटक हो। ‘मैले थाहा पाएसम्म र जानकारी भएसम्म यस्तो कहिल्यै भएको थिएन्, यति बाक्लो हिउँ त पुस÷माघ पनि भएको थिएन’, उनले भने, ‘हिउँले विद्युत र सञ्चारका तारहरु अबरुद्ध बनायो, जसले यहाँको तयारीलाई अस्तव्यस्त बनाइदिएको छ।’

    हिमपातले मुक्तिनाथसँगै झारकोट र खिँगा गाउँ सेताम्मे भएको थियो। जिसस प्रमुख गुरुङले प्रतिकुल मौसमका बीच स्वागतका लागि आश्यक तयारी गर्नुको विकल्प नभएको बताइन्। ‘सबै खाले विकल्पहरु प्रयोग गर्दै हामीले गेट र हेलिप्याडहरु बनाउनेछौँ, हेलिप्याडका लागि सुरक्षा निकायहरु खटेका छन् भने स्वागत गेटका लागि स्थानीय युवाहरु’, उनले भनिन्। वैशाख २९ गते बिहान हेलिकोप्टरबाट मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिने हेलिप्याडमा अवतरण गरेपछि मोदी पैदल मुक्तिनाथ मन्दिर पुग्नेछन्। त्यहाँ उनलाई मन्दिरका बटुकहरु सम्मान दिनेछ। 

    इतिहासमै पहिलोपटक मोदीलाई मुल मण्डपमै राखेर पुजाअर्चनाको सुविधा दिईनेछ। प्रमुख जिल्ला अधिकारी पौडेलले सुरक्षा निकायसँगको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिए। ‘नेपाल र भारतका सुरक्षा अधिकारीहरुसँगको समन्वयमा चुस्त सुरक्षा प्रबन्ध मिलाएका छौँ, उहाँलाई सुरक्षित रुपमा मुक्तिनाथ दर्जन र पुजनको व्यवस्था मिलाउनेछौँ’, उनले भने। प्रशासनले वैशाख २४ गते सूचना जारी गर्दै २८ र २९ गते बेनी–जोमसोम सडक, मुस्ताङ र मनाङको सीमाना थोराङला पास बन्द गर्ने बताईएपनि सर्वत्र विरोध भएपछि २८ गते साँझ ४ बजे देखि मुक्तिनाथ क्षेत्रमा मात्रै बन्द गर्ने निर्णय गरेको छ।

    ‘२९ गते उहाँले पुजापाठ गर्ने समयसम्म हामीले प्रवेश निषेध गरेका छौँ, अरु समय खुल्ला सबै खुल्ला हुनेछ’, उनले भने। मोदीको भ्रमणलाई मध्यनजर गर्दै म्याग्दीको सीमाना घासामा सुरक्षा व्यवस्था कडा बनाईएको छ। मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रका होटलहरुमा व्यापक निगरानी बढाईएको छ। चोक–चोकमा सुरक्षाकर्मी तैनाथी गरिएको छ। मोदीको विशेष पुजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रँगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको छ। 

    मुक्तिनाथका मुख्य पुजारी कृष्ण प्रसाद सुवेदीले धार्मिक पर्यटन प्रर्बद्धन हुने भएकाले मोदीलाई मुल मण्डपमै पुजा अर्चनाको व्यवस्था गरिएको जानकारी दिए। ‘अहिलेसम्म हामीले कसैलाई पनि त्यस्तो सुविधा दिएका थिएनौँ, उहाँ मुक्तिनाथ दर्शन गर्ने अहिलेसम्मकै उच्च विदेशी पाहुना समेत हुनुहुन्छ’, उनले भने। मोदीकै भ्रमणका लागि मिनी आइसियु कक्ष पनि स्थापना गरिएको छ। त्यहाँ नेपाली र भारतीय विशेषज्ञ स्वास्थ्यकर्मी रहनेछन्। २८ गते मुक्तिनाथमा रहेको एक दर्जन होटलहरु बन्द गरिनेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…