दमक | झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसंगै पुलिसले नगद १३ लाख ११ हजार रुपैया प्राप्त गर्यो । मनाङले ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनु पर्यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले ८८ औं मिनेटमा हेडमार्फत गोल गर्दै पुलिसको जित सुनिश्चित गरेका थिए ।
खेलमा हाबी पनि पुलिसनै थियो । खेलको १२ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार मनाङका डिफेण्डरले क्लियर गर्दै पुलिसलाई अग्रता लिनबाट रोकेको थियो । ३४ औं मिनेटमा कर्नर बललाई पुलिसका रेजिन सुब्बाले प्रहार गर्न सकेनन् । ७० औं मिनेटमा मनाङका खेलाडीको प्रहार पुलिसका सन्तोष हेमरमले क्लियर गरेका थिए ।
खेलमा पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे । यस्तै उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम भए । उत्कृष्ट मीडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा तीन÷तीन गोल गरेका आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपीएफका हरी कार्की तथा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित भए । विद्यागत उपाधि विजेता खेलाडीले जनही नगद २५ हजार प्राप्त गरे । सर्वोत्कष्ट खेलाडी किरणले टिभिएस कम्पनीको अपाची मोटरसाईकल प्राप्त गरे ।
गोल्डकप बैशाख १९ गतेदेखि सुरु भएको थियो । दमक नगरपालिकाले आयोजना गरेको गोल्डकपमा आयोजकसहित १० टिमको सहभागीता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए । उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरे ।