• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर विवेकशील साझा पार्टीले केन्द्रीय कार्यालयमा शुक्रबार एउटा व्यानर झुण्ड्यायो । ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखिएको व्यानर केन्द्रीय कार्यालय अघि झुण्ड्याएर पार्टी नेताहरु केन्द्रीय कमिटीको बैठकमा व्यस्त थिए ।

    अपराह्न साढे २ बजे जिल्ला प्रशासन कार्यालय ललितपुरबाट डिएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले व्यानर झिकिदियो । ‘माथिको आदेश’ भन्दै प्रहरी टोलीले व्यानर झिकेपछि नेताहरुको एउटा टोली बिरोध जनाउन र व्यानर फिर्ता माग्न ललितपुरको जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । सिडिओसँग भेट नभएपछि उनीहरु सहायक सिडिओलाई आफ्नो कुरा राखेर फर्किए । त्यसपछि यस विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

    पार्टीका संयोजक रविन्द्र मिश्र जनमत जित्न प्रधानमन्त्री केपी ओलीले देखाएको राष्ट्रवाद सत्ता टिकाउन लम्पसारवादमा परिणत भएको बताउँछन् ।

    ‘केपी ओलीले नाकाबन्दीका बेला जनमत जित्न र चुनाव जित्नका लागि राष्ट्रवादको जुन डंका पिटे त्यो अहिले उजागर भयो’,  उनले भने,‘त्यतिबेला जनमत जित्न देखाएको राष्ट्रवाद अब सत्ता टिकाउन लम्पसारवादमा परिणत भएको छ ।’

    उनले कही कतै केहि पनि नबिथोलिने ढंगबाट गरिएको विरोधमाथि हस्तक्षेप गर्नु संवैधानिक अधिकार र लोकतन्त्रको पूर्ण विपरित रहेको बताए ।

    व्यानर लगेपछि पटकपटक उनीहरुको पार्टी कार्यालयमा व्यानर राख्ने झिक्ने क्रम चलिरह्यो । उनीहरुले अर्को व्यानर बनाएर राख्न खोज्दा प्रहरीले निकालिदिन्थ्यो र पुनः उनीहरु व्यानर राख्ने प्रयास गर्थे ।

    निक्कैबेर यो क्रम चलेपछि अहिले उनीहरुले पार्टी कार्यालयअघि पुरानै व्यानरको भाषा राखेर अर्को व्यानर टाँगेका छन् । पछिल्लोपटक राखिएको व्यानर भने प्रहरीले नझिकेको मिश्रले बताए । व्यानर नझिकेपनि प्रहरी पार्टी कार्यालयलाई घेरा हालेर बसेको मिश्रले बताए ।

    यहिबीच उनीहरुले ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं’ लेखेका बेलुन पार्टी कार्यालयबाटै उडाएका छन् । उनीहरुले यसलाई ‘व्यानर आन्दोलन’ भनेका छन् ।

    प्रहरीले विवेकशील साझाको पार्टी कार्यालयबाट व्यानर निकालेको घटनाप्रति विभिन्न पार्टीका नेताहरुले सामाजिक सञ्जालबाटै बिरोध गरिरहेका छन् ।

    पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ट्वीट गरेका छन्–‘विधिवत दर्ता भएको कुनै राजनीतिक दलले देशको संविधान र कानून विपरित नहुने अभिव्यक्ति बोलेर, लेखेर, तुल टांगेर वा अन्य कुनै प्रकारले गर्दा त्यसलाई राज्यले बल प्रयोग गरेर रोक्नु अधिनायकवाद वा कसैप्रति चाकडी प्रदर्शनकै भद्धा नमुना हो, त्यसको सबैले प्रतिवाद गरौं ।’

    कांग्रेस प्रवक्ता भन्छन्–उत्तरकोरिया होइन, नेपाल हो !

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयबाट व्यानर निकाल्ने कार्यको विरोध गरेका छन् ।

    शर्माले ट्वीट गरेका छन्–‘टायरको धुवाँ, जलेका मोटर अनि ध्वस्त रेलिङ, कम्युनिस्ट विपक्षको विरोध शैली एकताका यस्तो हुन्थ्यो । तर ‘नाकाबन्दी बिर्सेका छैनौं’ भनेर विनम्र विमतिको व्यानर नसहने कस्तो सरकार ? कस्तो संस्कार ? प्रमज्यु ! उत्तरकोरिया होइन नेपाल हो यो, विरोध सहन नसक्ने लोकतन्त्र ल्याएको होइन हामीले ।’

    कांग्रेस युवानेता गगन थापाले व्यानर च्यात्ने कार्य असंवैधानिक र निन्दनीय भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन्–‘हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सृजनात्मक विरोधपनि सहन नसक्ने ? विवेकशील साझाको व्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो ।’

    कांग्रेसकै अर्का युवानेता धनराज गुरुङले पनि ट्वीटरमार्फत व्यानर निकाल्ने कार्यको कडा शब्दमा विरोध गरेका छन् । गुरुङले ट्वीट गरेका छन्–‘विवेकशील साझा पार्टीले आफ्नो कार्यालयमा राखेको ‘हामीले नाकाबन्दी भुलेका छैनौं’ भनेर लेखिएको व्यानर समेत च्यातेर सिंहदरबार भित्रको गाण्डीवधारी एक हुल बाँदरले मोदीको पाउमा भक्तिभाव चढाएछ त !’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…