• जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियोे कि आकस्मिकता  शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो । एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए ।

    हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए । भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो ।

    झन्डै १५ सय अर्ब बजेट भएको देशमा एक अर्ब ‘कनिका सहयोग’
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश नं. २ सरकारलाई एक अर्ब सहयोग गर्ने घोषणा गरेका छन् । १२ बिघा मैदानमा प्रदेश सरकारको तर्पmबाट नागरिक अभिनन्दन ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् । नेपालको वार्षिक बजेट नै १५ सय अर्बको छ । शक्तिशाली छिमेकीको एक अर्ब सहयोगको घोषणा कनिकाजस्तो देखिएको छ ।

    जनकपुरधाममा मोदीका चार घन्टा

    भारतीय प्रधानमन्त्री मोदी विशेष विमानमा शुक्रबार बिहान १०ः३५ मा जनकपुर विमानस्थलमा अवतरण भए । रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गरे । भारतबाटै ल्याइएको बुलेटप्रुफ गाडीमा उनी विमानस्थलबाट ४ किलोमिटर दूरीको जानकी मन्दिर पुगे जहाँ प्रधानमन्त्री केपी ओली स्वागतका लागि तयार थिए ।

    जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीसँगै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहले स्वागत गरे । जानकी मन्दिरमा मोदीले करिब ३० मिनेट विशेष पूजा गरे ।

    पूजापाठपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले मोदीलाई प्रतिमा प्रदान गरे । प्रधानमन्त्रीद्वयले रामायण सर्किट उद्घाटन पनि गरे । त्यसपछि दुवै प्रधानमन्त्रीले जनकपुर–अयोध्या बस उद्घाटन गरे ।

    बाह्रबिघामा मोदीलाई अभिनन्दनको तयारी सुरु भयो । प्रधानमन्त्री ओली काठमाडौं फर्किए । मोदीलाई जनकपुर उपमहानगरपालिका मेयर साहले मैथिली भाषामा तयार पारिएको नागरिक अभिनन्दन पत्र पढेर सम्बोधन गरे । जनकपुरको साँचो पनि मोदीलाई बुझाए ।

    त्यसपछि रक्षामन्त्री पौडेलले स्वागत मन्तव्य राखे । मुख्यमन्त्रीको मन्तव्यपछि प्रदेश सरकार, जनकपुर उद्योग वाणिज्य संघ र वीरगन्ज उद्योग वाणिज्य संघले मोदीलाई १२१ किलोको फुलको माला लगाइदिए ।

    त्यसपछि मोदीले करिब ४५ मिनेट जनकपुर, मिथिला र नेपालको विषयमा हिन्दी, नेपाली र मैथिलीमा भाषण गरे । जनकपुरका लागि एक अर्ब रुपैयाँ सहयोग घोषणा गरे । जनकपुर ओर्लिएको चार घन्टापछि मोदी भारतीय सेनाको विमानबाटै दिउँसो २ः३० तिर काठमाडौंका लागि उडे ।

    विगतमा सम्झौता मात्रै भए, अब कार्यान्वयन पनि हुन्छ : ओली

    प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्धमा जनकपुरको पौराणिक, ऐतिहासिक र धार्मिक भूमिका रहेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिने विश्वास गरे । जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब भारतसँग सम्झौता मात्रै होइन, कार्यान्वयन पनि हुने गरी काम गर्ने बताए ।

    ‘विगतमा पनि मुलुकको हितका लागि भारतसँग विभिन्न सम्झौता भयो, तर काम भएन । अब हामी विलम्ब नगरी काम गर्छौँ, हामीसँग विलम्ब गर्ने समय छैन,’ ओलीले भने । उनले रामायण सर्किटले दुवै देशको पर्यटन विकासमा टेवा पुग्ने पनि बताए ।

    नेपालविना भारत अधुरो : मोदी


    मोदीले जनकपुर मन्दिर र बाह्रबिघामा गरेको सम्बोधनमा पटक–पटक नेपाल–भारत सम्बन्धलाई विभिन्न कोणबाट अथ्र्याउने कोसिस गरे । उनले जानकीको जन्म भएको जनकपुरको महŒव पेस गर्दै जनकपुरविना भारत अधुरो रहेको बताए ।

    जनकपुरविना अयोध्या अधुरो, सीताविना राम अधुरो हुन्छ । जनकपुर यस्तो पवित्र भूमि हो, जहाँ राजा जनकले शासन गरेका छन् । जनकपुरसँग भारतको दैवीयदेखि रोटीबेटीको सम्बन्ध रहिआएको छ । सरकार त परिवर्तन हुँदै जान्छ, तर नेपाल र भारतको सम्बन्ध अमर रहन्छ ।

    हाम्रो दृष्टि र सृष्टि पनि समान छ । हाम्रो सुख र चुनौती पनि समान छ । हाम्रो आशा र आकांक्षा पनि समान छ । चाहना र बाटो, सपना र संकल्प पनि समान छन् । हाम्रो मन, चाहना र लक्ष्य एक छ ।

    नेपालविना भारतको आस्था अधुरो छ, नेपालविना भारतको विश्वास अधुरो छ, इतिहास अधुरो छ, नेपालविना भारतको धाम र हाम्रो राम पनि अधुरा छन् ।

    व्यक्ति र सरकार आउदै जाँदै गर्छन्, तर हाम्रो यो सम्मान अजरअमर छ । यो समय हामीले मिलेर संस्कार, शिक्षा, शान्ति, सुरक्षा र समृद्धिको रक्षा गर्नुछ । हाम्रो यो मान्यता छ नेपालको विकासमा नै क्षेत्रीय विकासको सूत्र जोडिएको छ ।

    हामी हिमालय पर्वतसँग जोडिएका छौँ, तराईका खेतसँग जोडिएका छौँ । अनगिन्ती कच्ची–पक्की बाटोसंँग जोडिएका छौँ, साना–ठूला दर्जनौँ नदीसँग जोडिएका छौँ । खुला सीमासँग पनि हामी जोडिएको छौँ, तर आजको युगमा यति मात्र पर्याप्त छैन । हामीलाई हाइवेसँग जोडिनु छ, इन्फरमेसन वे अर्थात् आइवेसँग जोडिनु छ ।

    हामीलाई ट्रान्सवेज अर्थात् बिजुलीसँग पनि जोडिनु छ । हामीलाई रेल्वेजसँग पनि जोडिनु छ, कस्टमसँग पनि जोडिनु छ र हामीलाई हवाईसँग पनि जोडिनु छ । हामीलाई जलमार्गबाट समेत जोडिनु छ । जल, थल, नभ र अन्तरिक्ष सबै मार्गबाट हामीलाई आपसमा जोडिनु छ ।

    जयनगर–जनकपुर रेल्वे लाइनको काम तीव्र गतिले भइरहेको छ । यस वर्षको अन्त्यसम्म यसलाई पूरा गर्न प्रयास गरिँदै छ । जब यो लाइन पूरा हुन्छ तब नेपाल–भारतको विशाल रेल नेटवर्कसँग पनि जोडिन्छ । अब हामी बिहारको रक्सौल हुँदै काठमाडौंलाई भारतसँग जोड्न अगाडि बढ्दै छौँ ।

    यति मात्र होइन अब नेपाललाई जलमार्ग हुँदै भारतसँग जोड्न प्रयास गर्दै छौँ । नेपाल चाँडै भारतको जलमार्ग हुँदै समुद्रसँग जोडिनेछ । यो जलमार्ग हुँदै नेपालको उत्पादन विश्वमा बिक्री हुनेछ । यसले नेपालमा उद्योग स्थापना हुनेछ र रोजगारीका नयाँ अवसर सिर्जना हुनेछ ।

    हामी पाँच ‘टी’को बाटोमा चलिरहेका छौँ । ट्रेडिसन, ट्रेड, टुरिज्म, टेक्नोलोजी र ट्रान्सपोर्ट अर्थात् परम्परा, व्यापार, पर्यटन, प्रविधि र यातायात भारतलाई विकासको बाटोमा अगाडि बढाउने सूत्र हुन् । नेपाललाई पनि यो सूत्रमा जोड्छौँ ।

    भ्रमणले विकासको सम्भावना बढेको छ : मुख्यमन्त्री
    प्रदेश मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रम मोदीको जनकपुर भ्रमणले प्रदेशको विकासमा टेवा पुग्ने विश्वास गरे । मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले रामायाण सर्किटको माध्यमले सामाजिक मूल्य–मान्यतालाई बचाउँदै जनकपुर र अयोध्यालाई युगल जोडी सहरका रूपमा विकास गनुपर्ने बताए ।

    प्रदेश २ विकासमा पछाडि परेको भन्दै राउतले राज्यद्वारा मधेसी जनतामाथि विभेद भएको गुनासो गरे । उनले वर्षायाममा बाढी तथा डुबान र सुक्खा मौसममा खडेरीको गर्नुपरिरहेको सामना हल गर्न सघाउन मोदीसँग आग्रह गरे ।

    आर्थिक समृद्धिका लागि सरकार गम्भीर छ : रक्षामन्त्री
    रक्षामन्त्री ईश्वर पोखरेलले आफूहरू नेपाललाई समृद्ध बनाउने अभियानमा लागेको बताए । मुलुकमा रहेको राजनीतिक संक्रमण अब समाप्त हुँदै गएको भन्दै उनले भने, ‘अब जनतालाई आर्थिक क्रान्ति चाहिएकाले सरकार मुलुकको समृद्धितर्फ केन्द्रित भएको छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…