काठमाडौँ — सन् २०१४ मा नेपालमा भएको सार्क शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र मुक्तिनाथ भ्रमण गर्ने इच्छा व्यक्त गरे । एक महिना अघिदेखि नै मुक्तिनाथमा स्वागतको व्यापक तयारी भयो ।
स्थानीयले जमेको हिउँ फोरे । मन्दिरमा रंगरोगन भयो । भत्किएका सिँढी मर्मत गरिए । तर, अन्तिममा मोदी मुक्तिनाथ आउने कार्यतालिका रद्द भयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी रानीपौवामा गस्ती गर्दै सशस्त्र प्रहरी । तस्बिर : दीपक
मन्दिरको हबिगत पुरानै अवस्थामा फर्कन थाल्यो । १०८ धारा बिग्रन थाले । लगाइएको रंग फुङ्ग उड्यो । भूकम्पले क्षति पुर्याएको पर्खाल मर्मत हुन सकेन ।
यसपालि भने मोदी मुक्तिनाथ आउने निश्चित भइसकेको छ । उनलाई स्वागत गर्न भव्य तयारी गरिएको छ । मोदीको गृहनगर गुजरातमा भगवान्सरह पुजिने धार्मिक गुरु हुन् नीलकण्ठ वर्णी स्वामी नारायण ।
उनले विसं १८४९ को वर्षा ऋतुको चतुर्मासमा मुक्तिनाथ आएर कठिन तपस्या गरेका थिए । यहाँबाट फर्किएपछि उनले आफ्नो विचार भारतभर फैलाए । उनैको स्मृतिमा भारतको अहमदावादस्थित स्वामी नारायण मन्दिरका नरनारायणदेव पीठाधिपति १००८ आचार्य महाराज तेजेन्द्रप्रसाद र देवेन्द्रप्रसादले मुक्तिनाथ परिसरमा वैष्णव मन्दिर स्थापना गरेका छन् ।
आफ्नो आत्मवृत्तान्तमा स्वामी नारायणले मुक्तिनाथको महिमा वर्णन गरेका छन् । मोदी स्वामी नारायणका भक्त हुन् । उनकै पदचाप पछयाउँदै मोदीले २०–२२ वर्षको उमेरमा मुक्तिनाथमा बसेर तपस्या गरेको जानकार बताउँछन् ।
२१ वर्षदेखि मुक्तिनाथ मन्दिरमा पुजारी रहेका कृष्णप्रसाद सुवेदीलाई एक भारतीय तीर्थयात्रीले मोदीले १० महिना मुक्ति क्षेत्रमा बिताएको बताएका रहेछन् ।
‘उनको कुरा कहाँसम्म सत्य हो, मलाई थाहा छैन,’ उनले भने, ‘तर उनको कुरा विश्वास गर्ने हो भने मोदीले मुक्ति क्षेत्रका डाँडाकाँडा चहारेका छन् ।’ मोदीले दामोदर कुण्ड जान प्रयास पनि गरेको ती तीर्थयात्रीले पुजारीलाई बताएका रहेछन् । ‘
मुक्तिनाथबाट फर्किएर नै उनले नरेन्द्र मोदी नामको बीचमा ‘दामोदर दास’ थपेका हुन्,’ उनले भने, ‘यसरी उनको नाम नरेन्द्र दामोदर दास मोदी रहन गएको हो ।’ राजनीतिमा पनि मुक्तिनाथबाट फर्किएर प्रवेश गरेको उनी बताउँछन् । सन् २०१४ को सार्क सम्मेलनमा मोदीले आफूले कुनै समय नेपालमा बिताएको बताएका थिए तर कुन ठाउँ भन्ने खुलाएका थिएनन् ।
यसपल्टको भ्रमणमा मोदी मुक्तिनाथ आउने जानकारी स्थानीयलाई गत चैतमै गराइएको थियो । होटल व्यवसायीलाई प्रत्येक पाहुनाको रेकर्ड राख्न प्रशासनले पत्र काट्यो । मुस्ताङ प्रवेश गर्ने नाकाहरूमा चेकजाँच बढाइयो ।
समिति नै बनाएर मन्दिरको मर्मत सम्भार थालियो । भत्किएका सिँढी बनाइए । १०८ धारामध्ये बिग्रिएका धारामा पानी खस्न थाल्यो । धारा सुनौलो रंगले रंगियो । मन्दिर परिसरमा सरसफाइ भयो । शौचालयको व्यवस्था गरियो । बोटबिरुवा गोडमेल गरिए । रंगरोगनले मन्दिर हेर्न लायक भयो । मुक्तिनाथले मुहार फेर्यो ।
‘पहिले पनि राजा आउने रे भनेपछि मात्रै सरसफाइ हुन्थ्यो,’ स्थानीय मुक्तिनाथ सरंक्षण समितिका अध्यक्ष एवं प्रमुख लामा हीराबहादुर ठकुरी भन्छन्, ‘अहिले पनि त्यही चलन छ ।
मोदीको भ्रमण अन्तर्राष्ट्रियकरण हुने भएकाले मुक्तिनाथलाई फाइदा पुग्ने उनले ठानेका छन् । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी पनि मोदीको भ्रमणपछि धार्मिक पर्यटनबाट नेपाललाई उल्लेख्य फाइदा पुग्नेमा सहमत छन् । ‘भारतका प्रधानमन्त्रीसमेत मुक्तिनाथ आए भनेपछि यहाँको महिमा उच्च स्थानमा पुग्छ,’ उनले भने, ‘आन्तरिक पर्यटक र धार्मिक तीर्थयात्रीको आगमन बढ्छ ।’
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको मुक्तिनाथ विकास समितिले मन्दिरको व्यवस्थापन हेर्छ । मालपोत कार्यालयका प्रमुख समितिका कोषाध्यक्ष छन् । मन्दिरमा दैनिक हजारौं तीर्थयात्री पुग्छन् । उनीहरूले दिने भेटी र दानबाट वार्षिक करोडाैं रुपैयाँ संकलन हुन्छ । उक्त रकम प्रयोगमा आउन नसकेको स्थानीयको गुनासो छ ।
होटल व्यवसायी पेमा गुरुङ दानका रूपमा संकलित रकम मन्दिरको विकासमा प्रयोग हुनुपर्ने बताउँछन् । ‘यहाँ उठेको रकम यहीं खर्च हुनुपर्छ,’ उनी भन्छन्, ‘जिल्लामा लगेर अरू विकासका योजनामा खर्च गर्न भएन ।
मुक्तिनाथ प्रवेश गर्ने मुख्य बजार रानीपौवाका पूर्वमुखिया सुरज गुरुङ विकास समितिमा स्थानीयको नेतृत्व हुनुपर्ने मत राख्छन् ।
‘६/६ महिनामा सीडीओ परिवर्तन हुन्छन्,’ उनले भने, ‘एउटाले बनाएको योजना अर्काले लागू गर्दैनन् ।’ उनी मुक्तिनाथ विकास नहुनुको मुख्य जड नै विकास समितिमा स्थानीयको नेतृत्व नहुनुलाई मान्छन् । उनी भन्छन्, ‘विकास समितिको खातामा थन्किएको करोडौं रुपैयाँ प्रयोगमा आउनुपर्छ ।’
गुरुयोजना अभावमा विकास अलपत्र
स्वामीनारायण ट्रस्टका अध्यक्ष पीपी स्वामी १६ वर्षअघि गुजरातबाट मुक्तिनाथ पुगे । उनले प्रमुख लामा हीराबहादुर ठकुरीलाई भेटे । मन्दिरलाई सहयोग गर्ने इच्छा व्यक्त गरे । ‘मलाई चिन्दै नचिनेको मान्छेले सहयोग गर्छु भन्दा अचम्म लागेको थियो,’ लामाले सम्झिए, ‘त्यतिबेला हामीसँग कुनै गुरुयोजना थिएन ।
- उनले मन्दिर परिसर पर्खालले घेर्ने योजना सुनाए । पीपी स्वामीले १० लाख भारु सहयोग गर्ने वचन दिए । लामाको अध्यक्षतामा बल्ल स्थानीय संरक्षण समिति गठन भयो । विधान बनाएर जिल्ला प्रशासन कार्यालयमा दर्ता भयो । बैंक खाता खोलियो ।
१० लाख भारु खातामा जम्मा भयो । पीपी स्वामीले लामालाई गुजरात बोलाए । लामा एक हप्ता गुजरात बसे । स्वामीनारायणको मन्दिर अवलोकन गरे । त्यतिखेर पीपी स्वामीले पुन: १० लाख भारु पर्खाल निर्माणका लागि थपिदिए । स्थानीयले ५ लाख रुपैयाँ जम्मा गरे । २०५८ वैशाख १२ मा पर्खाल निर्माण कार्य सुरु भयो ।
२०६० चैत २२ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले पर्खालको उद्घाटन गरे । अहिले पनि गुरुयोजना अभावमा मुक्तिनाथको विकास अलपत्र परेको प्रमुख लामा बताउँछन् । ‘गुरुयोजना बनेको छ तर पारित भइसकेको छैन,’ उनी भन्छन्, ‘पर्यटन मन्त्रालयले जतिसक्दो छिटो पारित गर्छ उति छिटो मुक्तिनाथको विकास हुन्छ ।
चार वर्षअघि जगमा पानी पसेर मुक्तिनाथ मन्दिर दायाँ ढल्किएको थियो । पुरातत्त्व विभागले मन्दिर मर्मत गर्यो । संरक्षण समितिले मन्दिरको दायाँपट्टि रहेको आनी भवन भत्काएर पछाडि सार्ने योजना बनाएको थियो । गुरुयोजनाकै अभावमा उक्त कार्य हुन नसकेको लामाले बताए । ‘त्यसो गर्दा २/३ हजार तीर्थयात्री मन्दिर परिसरमा अट्न सक्छन्,’ उनले भने ।