• मोरङ ; सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक बहसमा अभियुक्त पक्षका कानुन व्यवसायीहरूले होहल्ला गरेपछि इजलासमा देखाउन थालिएको भिडियो बीचमै रोकिएको छ । भिडियोमा ३३ किलो सुन पत्ता लगाउन चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सहयोगी र भरियालाई दिएको यातनाका दृष्य छन् ।

    जिल्ला अदालत, मोरङमा न्यायाधीश नारायण शर्माको इजलासमा शुक्रबार चलेको थुनछेक बहसका क्रममा सरकारी वकिलले अनुमति मागेर भिडियो देखाउन खोजेका थिए । जुन भिडियो प्रमाणका रूपमा अदालतसमक्ष पेस गरिएको थियो । सरकारी पक्षका वकिलले भिडियो देखाउन थालेपछि प्रतिवादी पक्षका वकिलहरू होहल्ला गर्न थाले ।

    इजलासमा भिडियो देखाउन सुरु गर्नासाथ प्रतिवादी पक्षका वकिल उद्धवचन्द्र घिमिरेले विरोध जनाए । अदालतबाट गलत अभ्यास भएको र त्यसले नकारात्मक प्रभाव पार्ने उनको जिकिर थियो । त्यसपछि वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले होहल्ला गर्न थाले । उनीहरूको होहल्लापछि ४ मिनेट देखाइएको भिडियो रोकियो । र, लगत्तै न्यायाधीश शर्माले इजलास स्थगित गरे ।

    प्रतिवादी पक्षमा ८० वकिल
    दुई दिन सरकारी पक्षका वकिलले बहस गरे । आइतबारदेखि प्रतिवादी पक्षका वकिलले बहस गर्नेछन् । मोरङ अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार, प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या ८० पुगेको छ । पछिल्लोपटक बहसका लागि नाम दर्ता गराउनेमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, सुशील पन्त, अधिवक्ताहरू उद्धव रेग्मी, मनीषा बस्नेत, रमिता महर्जन, कल्पना धमलालगायत छन् । त्यस्तै, झापाका अधिवक्ता अशोक पोखरेल, सुनसरीका मोहन कोइराला, मोरङका अधिवक्ताहरू हेमराज पन्त, पुरुषोत्तम नेपाल, उद्धवचन्द्र घिमिरेलगायत छन् ।

    एसएसपी पनि फरारको सूचीमा
    तेस्रो मुलुकबाट तस्करी भएर आएको साढे ३३ केजी सुन गायब भएपछि खोज्ने क्रममा यातना दिँदा मोरङ उर्लाबारी–७ का सनम शाक्यको गत १८ फागुनमा मृत्यु भएको थियो । त्यसपछि गृह मन्त्रालयले विशेष छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो । जसमा ६३ जनाविरुद्ध संगठित अपराध, मानव अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान अपराधमा मोरङ जिल्ला अदालतमा १९ वैशाखमा मुद्दा दर्ता गरिएको थियो । मुद्दामा सन् २०१५ जुलाईदेखि १६ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन तस्करी भएको र सोहीअनुसार बिगो दाबी गरिएको छ ।

    यसमा आठ प्रहरीसहित ३० जना पक्राउ परेका छन् भने ३३ जना फरार छन् । मुख्य नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्याम खत्री पनि फरारकै सूचीमा छन् ।

    के छ भिडियोमा ?
    सरकारी वकिलका अनुसार इजलासमा देखाउन लागिएको भिडियोमा सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ले हराएको ३३ किलो सुन पत्ता लगाउन सहयोगी र भरियालाई दिएको यातनाका दृश्य छन् । उनले सहयोगी र भरियालाई होटेलका कोठा र जंगलमा यातना दिएका थिए ।

    त्यस्तै, सनम शाक्यलाई करेन्ट लगाइएको थियो । यातना दिने क्रममा संगठित अपराधमा संलग्न प्रहरी र कारोबारीको नाम उच्चारण गरेका छन् । सुन तस्करीमा संलग्न भुजुङ गुरुङले भरियाहरूलाई हप्काएको विषयमा पनि भिडियोमा छ, जुन अनुसन्धान समितिसँग अभियुक्तहरूले भनेका कुरा हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…