• प्रताप दुलाल
    काठमाडौं । २०७५ को २९ वैशाख नेपाली क्रिकेट प्रेमीहरुले सधैं सम्झी राख्नेछन् । आईपिएलको लिग चरणमा हरेक टोलीले जम्मा १४ खेल खेल्नु पर्नेमा ११ खेलसम्म बेन्चमा बसेका नेपाली लेगस्पीनर सन्दीप लामिछानेले १२ औं खेलमा खेल्ने अवसर पाएपछि दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोर बीचको खेल सम्भवतः नेपालबाट सबैभन्दा बढि दर्शकले हेरेको खेल बन्यो ।

    सन्दीपले आईपिएलमा डेब्यु गरेसँगै उनी आईपिएल खेल्ने १३ औं देशको खेलाडि पनि बनेका छन् । सन्दीपलाई यस सिजनको आईपीएल अक्सनमा दिल्लीले अनुबन्धन गरेपछि उनी आईपीएलमा छानिने पहिलो नेपाली खेलाडि बनेका थिए । यो सँगै आईपिएलको इतिहासमा पहिलो पटक कुनै टिमले ३ जना खेलाडि १८ वर्ष भन्दा मुनि खेलाएको इतिहास पनि बनेको छ । शनिबारको खेलमा सन्दीप बाहेक भारतीय खेलाडिद्वय पृथ्वी शा र अभिषेक शर्मा पनि १८ वर्ष मुनिकै खेलाडि हुन् ।

    सुरुवातकै खेलहरुमा सन्दीपले खेल्न पाउँछन् जस्तो भएपनि दिल्लीसँग ३ जना भारतीय स्पीनर भएकोले पनि सन्दीपले सुरुवातमै खेल्न पाएनन् । यद्यपी ११ खेल खेलेकोमा ८ खेलमा हार व्योहोरेको दिल्लीले स्लो विकेटमा सन्दीपलाई ‘सिक्रेट वोपन’ को रुपमा खेलाउँदा सन्दीपको डेब्यु सम्भव हुन सक्यो ।

    दिल्लीले यस महत्वपूर्ण खेलमा टस हारेर ब्याटिङ गर्दैै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । सन्दीपसँगै आईपिएल डेब्यु गरेका भारतीय खेलाडि अभिशेक शर्माले आक्रामक खेल खेल्दै १९ बलमा ४६ रन तथा अर्का युवा खेलाडि रिसभ पन्तले ३४ बलमा ६१ रन बनाएपछि दिल्लीले ‘डिफेन्डेबल’ स्कोर बनाएको हो ।

    स्लो विकेटमा १८१ रन ठुलै स्कोर भएकोले दिल्लीले उक्त योगफल बचाउने विश्वास गरिएको थियो ।



    पहिलो ओभरमै कन्फीडेन्ट

    सन्दीप लामिछानेको बलिङ गर्ने पालो आउला कि नआउला भनेर कुरिरहेका नेपाली क्रिकेट समर्थकलाई धेरै समय कुर्नु परेन। दिल्लीका कप्तान श्रेयस आइयरले१२ औं खेलसम्म नखेलाइएका सन्दीपलाई नयाँ बलले पहिलो ओभरमै बलिङ गर्ने जिम्मेवारी दिए।

    यस्तो महत्वपूर्ण खेलमा पहिलो ओभर नै बलिङ गर्न आएका सन्दीप कन्फीडेन्ट देखिएका थिए। कसिलो लाइनमा बलिङ गरेका उनको ६ बलमा विपक्षीको ब्याटबाट मात्र २ रन बनेको थियो भने ४ रन बाइ मार्फत् अतिरिक्त गएको थियो।

    पहिलो ओभरमा ब्याटसम्यानलाई सन्दीपले दबाबमा राख्नाले दोश्रो ओभरमा ट्रेन्ट बोल्टले मोइन अलिलाई आउट गर्न सफल भए।

    सन्दीपले यसरी लिए पहिलो विकेट

    इनिङको तेश्रो ओभरमा सन्दीप फेरी बलिङ गर्न आए। उनले फालेको पहिलो बलमा विराट कोहलीले कुनै रन बनाउन सकेनन्। दोश्रो बलमा संयमतापूर्वक खेल्दै १ रन लिएर स्ट्राइक पार्थिव पटेललाई दिए।सन्दीपले तेश्रो बल अफ स्टम्प भन्दा बाहिर दिएकोमा पार्थिवले चौका प्रहार गरे।

    चौथो बलमा सन्दीपले मिडल एण्ड अफ स्टम्प लाइनमा बलिङ गरेकोमा पार्थिवले स्वीप गर्न खोज्दा बिट भएर एलबिडब्लु आउट भए र नयाँ बल दिने कप्तानको निर्णयमा सन्दीपले न्याय गरे।

    एबी डे भिलियर्सको सम्भावित विकेट

    बैंगलोरको लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका भिलियर्सले खेलेको पहिलो बलमै उनी झन्डै आउट भएका थिए। तेश्रो ओभरको पाँचौ बल सिधै भिलियर्सको लेग प्याडमा लागेको थियो । भिलियर्सले लामो स्ट्राइड लिएकाले सन्दीपको बल अफस्टम्पभन्दा बाहिरबाट प्याडमा लागेकोले मात्रै भिलियर्स आउट हुनबाट जोगिएका थिए ।

    सन्दीपले उनको विकेट लिन सकेको भए दिल्लीले सो खेल जित्ने ठूलो सम्भावना रहन्थ्यो। यसरी पहिलो बलमा जोगिएका भिलियर्सले अन्तिमसम्म टिकेर ३७ बलमा ७२ रन बनाए र दिल्ली पराजित हुनुप¥यो।

    कप्तानको गलत निर्णय

    पहिलो ओभरमा सन्दीपले ब्याटस्म्यानलाई दिएको दबाबको फाइदा उठाउँदै ट्रेन्ट बोल्टले दोश्रो ओभरमा विकेट लिए। सो दबाब निरन्तर रहँदा तेश्रो ओभरमा सन्दीपले पनि विकेट लिए र भिलियर्स पनि आउट हुन सक्ने अवस्था पुगिसकेको थिए। यस्तोमा दबाबलाई निरन्तरता दिन चौथो ओभर बोल्टलाई नै बलिङ गराउनु पर्नेमा दिल्लीका लागि डेब्यु गरेका अर्का खेलाडि कार्ल जुनियर डालालाई बलिङ गर्न लगाए।

    डालाको फितलो बलिङमा विराट कोहलीले एकै ओभरमा १७ रन निकाली दबाब कम गर्न सफल भए।

    पाँचौ ओभर पनि सन्दीपलाई नदिइ हर्शल पटेललाई दिँदा विकेट झर्ने क्रम रोकिइ बैंगलोर सम्हालिन पायो।

    सन्दीपको बाँकि २ ओभर

    विश्व चर्चित आईपिएलमा पहिलो खेल खेलिरहेका सन्दीपले सातौं ओभर बलिङ गर्दा बैंगलोरको लागि क्रिजमा विराट कोहली र एबी डे भिलियर्स ब्याटिङ गर्दै थिए। कोहली र भिलियर्स अहिलेको क्रिकेटका २ महान ब्याटसम्यान हुन्। यी दुई खेलाडिले विश्वको हरेक ठाउँमा, जस्तो सुकै पिचमा, बलियो भन्दा बलियो प्रतिस्पर्धी विरुद्ध रन बनाउँदै आफ्नो देशलाई खेलहरु जिताइरहेका छन्।

    यी दुईले खेलेको इनिङको सातौं ओभरमा सन्दीपले ६ ओटा भेराइटीको बल फालेका थिए। कोहलीले पहिलो बलमा चौका हानेपनि बाँकी ५ बलमा ४ रन मात्र लिन सकेका थिए। भिलियर्स र कोहली दुबै जना सन्दीपको बलहरुलाई सतर्कता पूर्वक खेलेका थिए।

    त्यस्तैगरी सन्दीपले इनिङको १२ औं ओभरमा आफ्नो चौथो ओभर बलिङ गरेका थिए।सन्दीपको अन्तिम ओभरमाकोहली र भिलियर्सले सुरुको ४ बलमा ४ रन लिए भने कोहलीले पाँचौ बलमा छक्का प्रहार गरेका थिए। अन्तिम बलमा कुनै रन नबनेपछिसन्दीपले ४ ओभरमा २५ रन दिएर १ विकेट लिंदै आफ्नो डेब्यु खेललाई शानदार बनाए।

    ३९ ओभरमा ३६८ रन बनेको सो खेलमा ९.४४ रन प्रति ओभरको औसत भएपनि सन्दीपले ६.२५ को औसतमा मात्र रन खर्चेका थिए।

    दिल्ली पराजित

    कप्तानले बलिङको क्रममा सहि समयमा राम्रो निर्णय नलिंदा सम्भावित जितबाट विमुख भइ दिल्लीले अन्ततः हार व्योहोर्नु प¥यो। विराट कोहली र एबी डे भिलियर्सको ‘मास्टर क्लास’ को अगाडि दिल्लीको केहि लागेन।

    तेश्रो विकेटको लागि यि दुई महान ब्याटसम्यानले ११८ रनको साझेदारी गरेपछि दिल्लीको प्लेअफमा पुग्ने सम्भावना तुहियो। १९ ओभरको समाप्तीमा लक्ष्य पुरा गर्दै बैंगलोर विजयी भयो।

    कालो बादलमा चाँदीको घेरा

    दिल्लीले अहिलेसम्म खेलेको १२ खेलमा ९ मा हार व्योहोरि सकेको छ। गौतम गम्भीरले कप्तानबाट राजिनामा दिएपछि दिल्ली टिम कमजोर देखिएको थियो। सुरुमै कागिसो रबाडा घाइते भएकाले पनि दिल्लीलाई नोक्सान परेको थियो भने धेरै आश गरिएका अन्तर्राष्ट्रिय खेलाडिबाट सोचे अनुरुप प्रदर्शन नआउँदा पनि दिल्ली निराश छ ।

    यस्तोमा रिसभ र श्रेयसको निरन्तर आकर्षक प्रदर्शन दिइराखेका छन् भने शनिबारको खेलमा सन्दीप र अभिषेकको शान्दार डेब्युलाई दिल्ली डेयरडेभिल्सले सकारात्मक मान्दै कालो बादलमा चाँदीको घेरा देखिएको बताएको छ । सरलपत्रिकाबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…