• काठमाडौं। यो फोटो नेपाली खेल जगतको लागि ऐतिहासिक छ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको यो फोटोमा त्यो ऐतिहासिक सफलता छ । नेपाली युवा खेलाडीको लगन, प्रयास र समर्पणको कथा । अनि यो सफलताको कथामा केही यस्ता दिग्गजहरुको साथ र आशीर्वाद छ जसले नेपाली क्रिकेट जगतलाई एउटा उचाइमा पुर्याएको छ । ती विश्वविजेताहरु जसले सन्दिपलाई यो स्थानमा पुर्याए ।

    फोटोमा सन्दिप लामिछानेले लगाएको क्याप कुनै साधारण क्याप होइन । यो विश्वविजेताको आशीर्वाद र बहुमूल्य उपहार हो । यो क्याप उनलाई रिकी पोन्टिङले दिएका हुन् । उनै रिकी पोन्टिङ जसले आफ्नो नेतृत्वमा अस्ट्रेलियालाई २ पटकसम्म विश्वविजेता बनाएका थिए । २००३ र २००७ को विश्वकप अस्ट्रेलियाले जित्दा यो टिमका कप्तान पोन्टिङ थिए । २००३ को विश्वकप जित्दा त पोन्टिङ फाइनल खेलमा म्यान अफ द म्याच पनि भएका थिए ।

    २ पटकसम्म वन डे विश्वकप जिताउन सक्ने कप्तान पोन्टिङपछि वेष्ट इण्डिजका क्लिभ लोयड मात्र हुन् । लोयडले आफ्नो कप्तानीमा वेष्ट इण्डजलाई १९७५ को पहिलो विश्वकप र १९७९ को दोस्रो विश्वकप जिताएका थिए । यी दुईबाहेक कुनै पनि कप्तानले आफ्नो देशलाई २ पटकसम्म वन डे विश्वकप जिताउन सकेका छैनन् । ती पोन्टिङको प्रशिक्षणमा उनैको आशीर्वाद लिएर मैदानमा उत्रिन पाउनु नेपाली खेलाडीको लागि गौरवको कुरा हो ।



    सन्दिपलाई यो सफलता दिलाउनुमा अर्का विश्वविजेताको पनि हात छ । ती हुन् २०१५ को विश्वकप जिताउने अस्ट्रेलियाकै अर्का कप्तान माइकल क्लार्क । जसले सन्दिपको खेल देखेपछि उनलाई आफूसँगै लगेर प्रशिक्षण दिएका थिए । त्यसैले त क्लार्क अझै पनि सन्दिपका हरेक खेल नियालिरहन्छन् र उनलाई हौसला दिइरहन्छन् । अनि सन्दिपका हरेक सफलतामा रमाउँछन् । हिजो सन्दिपले डेब्यू गर्दै गर्दा यी दुई विश्वविजेता मात्र होइन सिंगो क्रिकेट जगतले सन्दिपलाई नियालिरहेको थियो ।

    हिजो सन्दिपले ४ जना विश्वस्तरीय ब्याट्सम्यानलाई बलिङ गर्ने अवसर पाए । यीमध्येका २ ब्याट्सम्यानलाई त विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यानको रुपमा लिइन्छ –भारतका विराट कोहली र दक्षिण अफ्रिकाका एबी डिभिलियर्स । सन्दिपले यीबाहेक इङल्याण्डका अलराउण्डर मोइन अली र भारतका विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेललाई बलिङ गरे । पटेललाई त सन्दिपले आउट पनि गरे । रोचक त के भने पार्थिवको क्रिकेट करिअर नै सन्दिपको उमेरजति पुगिसकेको छ ।

    हिजोको सन्दिपको डेब्यूका विषयमा क्रिकेट क्षेत्रका दिग्गजहरुले विभिन्न टिप्पणी गरे । सन्दिपको डेब्यूसँगै भारतका सिनियर खेल पत्रकार बोरिया मजुमदारले हिजो ट्वीटरमा लेखे ‘यो सबै कहानीहरुको बारेमा भइरहेको छ र सन्दिप आफैंमा एक उत्कृष्ट कहानी हुन् ।’ अस्ट्रेलियाका सिनियर क्रिकेटर तथा कमेन्टेटर डिन जोन्सले लेखे ‘नेपालको लागि गर्वको दिन ।’ अफगानिस्तानका टप बलर राशिद खानले सन्दिपलाई बधाइ दिँदै लेखे ‘तिमी चम्किनेछौ ।’

    यस्तै ट्वीटरमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन्दिपलाई आइपिएल खेल्ने पहिलो खेलाडी भएकोमा बधाइ दिएको छ । इएसपिएनका क्रिकेट पत्रकार पिटर डेला पेनाले सन्दिपको स्पेल आइपिएलमा कुनै पनि एसोसिएट खेलाडीको डेब्यूमा सबैभन्दा कम खर्चिलो भएको भन्दै उनी पहिल्यै किन खेल्न पाएनन् भन्ने प्रश्न गरेका छन् । आइपिएलको अफिसियल ट्वीटर ह्याण्डलबाट सन्दिपको पहिलो विकेट ऐतिहासिक भएको उल्लेख गरिएको छ । इङ्ल्याण्डका क्रिकेटर माइकल वोगनले सन्दिपको पहिलो आइपिएल विकेटमा बधाइ दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…