• काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत सम्बन्ध समानता र बराबरीको हैसियतमा नयाँ उचाइमा पुर्‍याइएको दाबी गरेका छन् उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणबारे आइतबार संसद्लाई जानकारी दिँदै ३ वर्षअघि उत्पन्न तिक्तता अन्त्य भई दुई देशबीच पारस्परिक लाभ र सम्मानका साथ अघि बढ्ने वातावरण बनेको दाबी गरे ।

    ‘नेपाल-भारत सम्बन्ध नयाँ दिशा, नयाँ उचाइ र नयाँ स्तरमा पुर्‍याइएको छ, प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘दुई देशको समानता र बराबरीको हैसियतमा, सार्वभौमसत्ता र स्वाधिन राष्ट्रको हैसियतमा । अहस्तक्षेप, पारस्परिक लाभ र समानताका साथ अघि बढ्ने परिस्थिति र वातावरण निर्माण भएको छ ।

     ३ वर्षअघि आफू प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाएको र नाकाबन्दी नहटेसम्म भारत भ्रमण नगर्ने अडान आफूले राखेको स्मरण गर्दै उनले भने  त्यसबेला पनि मैले बराबरी हैसियतमा दुई सार्वभौमसत्ता राष्ट्रको हैसियतमा व्यवहार हुनुपर्ने अडान राखेको थिएँ भारतीय प्रधानमन्त्रीको यसपटकको भ्रमणमा नेपालको अखण्डता  सार्वभौमसत्ता  हाम्रा प्राथमिकताअनुसार सहयोग गर्ने खुलस्त राखेर समुचित र बराबरीका आधारमा अघि बढ्ने बताउनुभएको छ । दुई देशबीचको सम्बन्धको प्रस्थान विन्दुको जग पनि यही हो ।’

    ३ वर्षअघि भारतले नाकाबन्दी लगाउँदा दुई देशबीचको सम्बन्ध तनावग्रस्त भए पनि अब नाकाबन्दी नहुने स्थिति निर्माण भएको ओलीले बताए । हाम्रो दुश्मनी कसैसँग छैन  उनले भने   मित्रता सबैसँग चाहन्छौं तर पारस्परिक साथ र सहयोग चाहन्छौं ।

     मोदीको भ्रमण क्रममा राष्ट्रहितविपरीत कुनै पनि काम नभएको दाबी गर्दै उनले भने प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुरिने

     नोक्सान पर्ने कुनै काम भएको छैन । यसै देशको अन्नपानी खाएको हुँ, अरुको हितमा काम गरेको छैन । मोदीको भ्रमण उपलब्धिपूर्ण तथा दुई देशको लाभ र स्वाभिमानको पक्षमा भएको छ ।

    मोदीको भ्रमण क्रममा कतिपय तत्वबाट अखण्डतामाथि चुनौती दिने अभिव्यक्ति आएका भन्दै ओलीले आपत्ति जनाए । भारतीय जनता पार्टीकै सांसदको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भने  केहीले अत्यन्त अनुचित धृष्टता गरे  त्यसको जवाफ मोदीले नै आफ्नो अभिव्यक्तिमा औपचारिक र आधिकारिक होइन भन्ने स्पष्ट गरिसकेका छन् ।

     केही काम गर्दा जहिले पनि गैरजिम्मेवार तत्व देखा पर्ने गरेको उनको भनाइ थियो । मोदीको स्वागत गर्नै नहुने, सम्बन्ध सुधार्न नहुने पक्षमा समेत केही देखिएको उल्लेख गर्दै उनले आक्रोश पोखे  विगतमा त्रुटि थिए  त्यही तनावपूर्ण सम्बन्ध राखिराख्नुपर्ने ? जे भए पनि विरोध गर्ने र जे भए पनि समर्थन गनु वाञ्छनीय होइन ।

    प्रधानमन्त्री ओलीले जनकपुरमा नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा कूटनीतिक मर्यादाविपरीत कार्य भएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश २ का मुख्यमन्त्रीको नाम नलिई आपत्ति जनाए ।

    मुख्यमन्त्री राउतले जनकपुरमा नागरिक अभिनन्दनका क्रममा नेपालको संविधान विभेदकारी भएको गुनासो मोदीसँग गरेका थिए । ‘नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त कतिपय कुरा राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त देखिए’, उनले भने, ‘सबैलाई थाहा छ, ती कुरा सरकारका नीति होइनन् । परराष्ट्र नीति, नेपाल-भारत सम्बन्ध सञ्चालनसम्बन्धी सरकारका आफ्ना स्पष्ट धारणा छन्।’

    प्रधानमन्त्री ओलीले विगतमा भारतसँग भएका सहमति कार्यान्वयन गर्ने समयसीमा निर्धारण गरी अघि बढ्ने सहमति भएको जानकारी दिए । ‘विगतका सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको छ, अब ढिलाइ गर्न नहुने भनेर समयसीमा तोक्ने र हाम्रो संविधान दिवसलाई आधार मानेर कार्यान्वयन हुन बाँकी विषय कार्यान्वयन गर्ने सहमति भएको छ’, उनले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले विदेशबाट नेपाल आउने हवाई उडानका लागि भारतले एउटा मात्र रुट दिएकोमा बढाएर चार पुर्‍याउने सहमति भएको जनाए । ‘हालसम्म सिमराबाट मात्र एयर रुट रहेकोमा अब बिराटनगर, भैरहवा र नेपालगन्जबाट पनि भारतले रुट दिने सहमति भएको छ’, उनले भने, ‘यसका लागि आगामी सेप्टेम्बरभित्र प्राविधिक अध्ययन गरी काम अघि बढाउने सहमति भएको छ ।’ लुम्बिनी र पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहे पनि भारतले एउटा मात्र हवाई रुट दिएकाले नयाँ विमानस्थल सञ्चालनमा कठिनाइ हुने जानकारहरूको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले आफू चाँडै नै चीन भ्रमणमा जान लागेको जानकारी दिए । प्रधानमन्त्री नियुक्तीलगत्तै भारत भ्रमण गरेका उनले चीन भ्रमण गर्ने जानकारी गराएका हुन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनसँग भएका सहमति कार्यान्वयन गर्न उनको आगामी भ्रमण महत्वपूर्ण हुने प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू बताउँछन् ।

    प्रधानमन्त्री ओलीले काठमाडौं-रक्सोल रेलवे निर्माणका लागि संयुक्त प्राविधिक कार्यदल गठन गरी सर्भे गर्ने र त्यससम्बन्धी समझदारीमा छिट्टै हस्ताक्षर गर्ने सहमति मोदीसँग भएको जनाए ।

    भारतका तर्फबाट एउटा डिभिजनलाई जिम्मा दिइसकिएको र नेपालका तर्फबाट कार्यदल गठन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । नदीको बाटो जलमार्ग सञ्चालन गर्न प्राविधिकको संयुक्त कार्यदल बनाएर सर्भे थाल्ने सहमति भएको उनले जानकारी दिए ।

    दुई देशका कृषिमन्त्रीस्तरीय बैठक गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउने, महाकाली नदीमाथि तीन वटा पुल बनाउने, महेन्द्रनगरमा ४ वटा पुल बनाएर भारतीय राजमार्गसँग जोडने, बुटवल-गोरखपुर ट्रान्समिटर लाइन निर्माणबारे छलफल भएको र त्यसबारे भारत सकारात्मक रहेको उनले बताए ।

    प्रधानमन्त्री केपी ओलीले ५ वर्षभित्र रक्सोलबाट काठमाडौं रेल आउने दाबी गरेका छन् । आइतबार राष्ट्रियसभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी दिने क्रममा उनले विगतमा रेलका कुरा गर्दा धेरैले नपत्याए पनि काठमाडौं रेल आउने निश्चित भएको दाबी गरेका हुन् । विगतमा आफूले रेलको कुरा गर्दा गिज्याउने गरेको उल्लेख गर्दै उनले व्यंग्य गर्दै भने, ‘धेरैलाई अचम्म लाग्ला, हुँदैन-हुँदैन भन्दाभन्दै, गिज्याउँदा गिज्याउँदै रक्सोल-काठमाडौं रेल आउने नै भयो ।’

    उनले भारतकै लगानीमा ५ वर्षमा रेल ल्याउने समझदारी भएको सदनलाई जानकारी दिए । उनले भने, ‘भारतकै लगानीमा सर्भे र रेल निर्माण हुने समझदारी भएको छ ।

     उनले तत्काल दुई देशका प्राविधिकको संयुक्त कार्यदल गठन गरी सम्भाव्यता अध्ययन थालिने जानकारी दिए । ओलीको एक महिनाअघिको भारत भ्रमणका बेला रक्सोल-काठमाडौं रेल निर्माण गर्ने समझदारी भएको थियो । समझदारीअनुसार मोदीको दुईदिने नेपाल भ्रमण क्रममा ५ वर्षभित्रै रेल सञ्चालन गर्ने गरी काम अघि बढाउने सहमति भएको हो ।

    विगतमा भारतसँग सम्झौता हुने तर कार्यान्वयन नहुने प्रवृत्ति अन्त्य गर्न दुवै देश एकमत रहेको जनाउँदै उनले राष्ट्रियसभामा भने, ‘अब सबै काम समय तोकेर हुनेछ, पहिलेजस्तो सहमति गर्ने तर काम नहुने प्रवृत्ति अन्त्य गर्न सहमति भएको छ ।

    अन्तर्राष्ट्रिय हवाई उडानका लागि नयाँ रुट मागेको र त्यसमा भारत सहमत भएकोसमेत उनले जानकारी दिए । उनले भने, ‘अहिले वीरगन्जको सिमरा एउटा मात्र हवाई रुट छ । हामीले थप चार इन्ट्री रुट माग गर्‍यौं, यसलाई तत्काल सम्भाव्यता अध्ययन गरेर टुंगोमा पुर्‍याइनेछ ।’

    भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर कतिपय नकारात्मक टिप्पणी गरेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । उनले भने, ‘केही व्यक्तिलाई जे भएपनि नकारात्मक टिप्पणि गर्ने बानी नै परेको छ तर हामीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र स्वाधिनता तलमाथि नपर्ने गरी व्यवहार गरेका छौं ।’

    भारतीय प्रधानमन्त्री जनकपुरबाट नेपाल आएको विषयमा विवाद गर्नुको तुक नरहेको भन्दै उनले भने, ‘अमेरिका जाँदा वासिङटनबाटै, चीन जाँदा बेइजिङबाटै, पाकिस्तान जाँदा इस्लामाबादबाटै प्रवेश गर्नुपर्छ भन्ने छैन । यो कुनै विवादको विषय होइन । पटनामा मोदीको कार्यक्रम थियो । त्यहाँबाट सहजताका हिसाबले जनकपुरबाट भ्रमण सुरु भएको हो ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…