• झापा । कक्षा ६ मा पढ्दा पढ्दै फुटबलको मायाजालमा परिन् अस्मिता खवास । गाउँमा हुने भाले कपदेखि नर्वे कपसम्मको अनुभव छ यिनीसँग ।
    यिनको गाउँ ज्यामिरगढीमा फुटबल खेल्ने महिला उनी एक्ली थिइन् । ‘महिलाले पनि फुटबल खेल्छन् ? भन्थे गाउँलेहरू,’ अस्मिताले अनुभव सुनाइन, ‘परिवारले सहयोग नगरेको भए म फुटबल खेल्न पाउने थिइनँ होला ।’
    खासगरी अस्मितालाई दाजु र आमाले धेरै सहयोग गरे फुटबलमा । त्यो समयका चर्चित महिला फुटबलरहरू विनीता शेर्पा र लक्ष्मी खड्का एक दिन अस्मिताको घर पुगे खेलाडी खोज्दै । महिलाको जिल्ला टिम बनाउने अभियानकै क्रममा उनीहरूको नजरमा परिन् अस्मिता । यिनको खेल कौशल अब्बल थियो । पुरुष खेलाडीलाई छक्याएर बल जाली चुमाउन सिपालु थिइन् । अन्य खेलाडीको दाँजोमा अग्लो उचाइ भएकाले किपर बन्ने प्रस्ताव भयो । यिनले स्वीकारिन् ।
    जिल्ला टिमबाट खेल्न थालेको वर्ष दिनपछि यिनी सन् २००२ मा राष्ट्रिय टिममा पारिन् । नर्वेमा भएको नर्वे कपबाट यिनले पहिलोपटक अन्तर्रा्ष्ट्रिय अनुभव बटुल्ने अवसर पाइन् । नर्वेका लागि टिममा पर्दा परिवारका सदस्य नै चकित परे । पहिलोपटक हजाईजहाज चढेर विदेश उडदा उनको गाउँमा खुसियाली छाएको थियो । ३६ देशका महिला खेलाडी सहभागी नर्वे कपमा यिनको प्रदर्शन तारिफयोग्य नै रह्यो । उनले नर्वेमा १६ दिन बिताएकी थिइन् ।
    २००२ देखि २०१० सम्म लगातार राष्ट्रिय टिममा परेकी अस्मिताले २०१० मा बंगलादेशको ढामा भएको साफ च्याम्पियनसिप खेलेर फर्किएपछि संन्यास लिइन् । एन्फाले उनलाई महिला टिमको सहायक प्रशिक्षणको जिम्मेवारी पनि दिन्छ बेलाबेला । हालै सिलिगुडीमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा अस्मिताले सहायक कोचको जिम्मेवारी सम्हालेकी थिइन् । ‘महिला फुटबल टुर्नामेन्ट हुँदा एन्फाले प्रशिक्षणका लागि आग्रह गर्छ’, अस्मिताले भनिन्, ‘सहायक कोचकै रूपमा चाहिँ नियुक्ति दिएको छैन ।’
    गत वर्ष जिल्ला खेलकुद विकास समितिले करिब ६ महिना जति करारमा प्रशिक्षकका रूपमा राख्यो ।

    करार अवधि नवीकरण नहुँदा उनी बेरोजगार बनेकी छन् । एफसीबाट भर्खरै उनले ‘बी’ ग्रेडको कोचिङ लाइसेन्स परीक्षा दिएकी छन् । गत वर्ष ‘सी’ ग्रेडको लाइसेन्स पास गरिसकेकी छन् ।
    नेपाली महिला फुटबलको अवस्थामा अहिले पनि कुनै सुधार नआएको अस्मितालाई लाग्छ । पुरुष फुटबलको तुलनामा महिला सधैं मारमा रहेको उनले बताइन् । ‘महिलाहरूको ट्रेनिङ भए पनि म्याच हुन नसक्नु विडम्बना हो,’ अस्मिता भन्छिन, ‘पुरुष फुटबलरलाई भ्याइनभ्याई छ, महिलाहरू भने फुर्स्दिला छन् ।’ महिला फुटबलको विकासका लागि राज्यले लगानी गर्न कन्जुस्याइँ गरेको उनको आरोप छ । थप्छिन,‘पुरुष खेलाडीलाई जस्तै लगानी गर्ने हो भने महिला फुटबलले पनि सोचे जस्तो प्रदर्शन गर्न सक्ने थियो ।’
    अहिले उनी तिनै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको तयारीमा लागेकी छिन् । शनिवारबाट हुने उक्त प्रतियोगितामा जिल्लाका ८ वटा टिमले सहभागिता जनाएका छन् । सनसाइन महिला फुटबल क्लब गठन गरेर गाउँका बहिनीहरुलाई फुटबल प्रशिक्षण गराउँदै आएकी अस्मिताले त्यहि प्रशिक्षण लिएका खेलाडीलाई उत्साहित गर्ने लक्ष्यका साथ जिल्ला स्तरीय प्रतियोगिता गर्ने हिम्मतका साथ लागि परेकी छिन् । उनलाई स्थानीय फुटबल प्रेमीहरुको ठूलै साथ र सहयोग पनि रहेको छ । सिंगो जिल्ला फुटबल संघ प्रतियोगिता सम्पन्न गर्न लागि परेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…