• काँकरभिट्टा । झापाको भद्रपुरमा रहेको संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रमले दलित विद्यार्थीलाई भर्ना नगरेपछि तालाबन्दी गरिएको छ
    इलाम घर भएका विकास कार्कीडोलीलाई गुरुकुलले भर्ना लिन नमानेपछि नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार गुरुकुलमा तालाबन्दी गरेको संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले जानकारी दिएका छन् । कार्की डोलीलाई बिर्तामोड निवासी भुवन भट्टराईले भर्नाका लागि गुरुकुल पु¥याएका थिए । भर्नाका लागि गुरुकुलमा पुगेका उनले संस्कृत विद्यालयको प्रशासनलाई आग्रह गर्दा भर्ना लिन अस्वीकार गरेका थिए ।
    सो घटना सार्वजनिक भएपछि झापा जिल्लामा रहेका दलित अधिकारकर्मीले बालबालिकाको मौलिक हकलाई हनन् नगर्न आग्रह गर्दा पनि गुरुकुलले विद्यार्थी भर्ना गर्न नमानेको अध्यक्ष मंग्रातीले बताए । गुरुकुलले दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ना लिन नमानेपछि जातीय विभेद गरेको निष्कर्श निकाल्दै विभिन्न संघ–संगठनले दुवै पक्षबीच छलफल गरेर समाधान निकाल्ने प्रयास गरेको थियो । बिहीबार विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियू र गुरुकुल सञ्चालक समितिबीच समाधानको प्रयास गरिएको थियो ।
    छलफलमा युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले भर्नाका लागि पुगेका विद्यार्थीलाई भर्ना गर्न अस्वीकार गर्नु जातीय विभेद भएको दावी गरेका छन् । उनले नेपालको संविधानमा जातीय विभेद गर्नु सामाजिक अपराध भएको उल्लेख गरेका छन् । समाज रुपान्तरणको अभियानमा जातीय विभेद् गलत संस्कार भएको उनको ठहर छ । सापकोटाले भने तत्काल विद्यार्थीलाई पठनपाठनको वातावरण सिर्जना गरियोस् । ‘हिन्दु धर्ममा यसरी विभेद् हुनुले लज्जाबोध भएको छ’ सापकोटाले थपे– ‘धर्मभित्रको यस्ता कुसंस्कारकै कारण सर्वसाधारण नागरिक धर्म परिवर्तन गर्न बाध्य भएका छन् ।’
    यस्तै दुई पक्षबीचको छलफलमा बोल्दै हल्दिबारीका अगुवा मोहन रेग्मीले संविधान अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने बताएका छन् । गुरुकुल सञ्चालनका निम्ति बनाइएका नीति नियम संविधान विपरित भए परिवर्तन गर्नुपर्ने उनको धारणा छ । झापा जस्तो जिल्लामा जातीय विभेद् हुनु दुःखद भएको भन्दै रेग्मीले मुलुकमा परिवर्तन आएको सन्देश दिन गुरुकुलमा सबै जातजातिका विद्यार्थीलाई शिक्षा आर्जन गर्ने वातावरण मिलाउनु पर्ने बताए ।
    गुरुकुल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिएका छन् । उनले विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको बताए । समाधान निकाल्न छलफल गरिए पनि अध्यक्ष चापागाईले विभिन्न तर्क गर्दै भर्ना लिन नसकिने संकेत गरे । उनले दलित विद्यार्थीलाई यहाँ पठन–पाठनका लागि वातावरण बनाइए पनि सामाजिक रुपमा स्वीकार्य नहुने बताएका थिए । हाम्रा बटुकहरु हरेक दिन धार्मिक कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले दलित विद्यार्थीको संलग्नता व्यवहारिक रुपमा समाजले स्वीकार्ने वातावरण बनेको छैन तर यसलाई सामान्य तुल्याउँदै लाने चापागाईले बताए ।
    छलफलको नेतृत्व गरेका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मंग्रातीले गुरुकुल स्थापना गरेर संस्थागत विभेद् गरेको प्रति आपत्ति जनाएका छन् । उनले गुरुकुलको हर्कतलाई स्वीकार्न नसकिने प्रतिक्रिया दिएका छन् । विभेद्मुक्त समाज निर्माण गर्न यसअघि धेरै दलितले जीवन गुमाइसकेका छन्, अझै गुमाउन पनि तयार छौँ भन्दै उनले देशभर रहेका गुरुकुललाई सबै जातजातिका विद्यार्थीलाई अध्ययन गर्ने वातावरण बनाउन अभियानका रुपमा अघि बढ्ने बताए । समाधानको प्रयास सफल नभएपछि तालाबन्दी गरेका उनीहरुले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापन पत्र बुझाएका थिए ।
    प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद्लाई अन्त्य गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समाजमा कुनै पनि विभेद्को घटना हुन नहुने बताएका छन् । ज्ञापन पत्र बुझ्दै उनले माग सम्बोधन गर्न सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको उत्पीडित अधिकार मञ्च नेपालका सचिव सागर पोर्तेलले जानकारी दिए ।
    देशभरका गुरुकुल, विधापिठमा, सबै जाति, लिङगका विधार्थी अध्ययन गर्न पाउनुपर्ने, गुरुकुल आश्रम सञ्चालन पक्षले अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ बमोजिक हदैसम्म कारबाही गरिनुपर्ने, दलित भएकै कारण भर्ना लिन अस्वीकार गरेको विद्यार्थीलाई ४८ घण्टाभित्र भर्ना गर्नुपर्ने, कुरिती र कुसंस्कारको संरक्षण गर्ने पाठशाला खारेजी गर्नुपर्ने ज्ञापनमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…