• सरकारको आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सोमबार संघीय संसद्मा प्रस्तुत हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शुक्रबार बसेको दुवै सभाको छुट्टाछुट्टै बैठकमा नीति तथा कार्यक्रम र राष्ट्रपतिको सम्बोधनबारे जानकारी गराएका हुन् ।

    राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहीबमोजिम आगामी सोमबार अपराह्न ४ बजे राष्ट्रपतिले संघीय संसद्को बैठकलाई सम्बोधन गर्नेबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र प्रतिनिधिसभा बैठकमा सभामुख र राष्ट्रिय सभा बैठकमा अध्यक्षले पढेर सुनाएका थिए ।

    संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि पेस गर्ने नीति तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले बताए ।

    उनले भने, ‘संघीय संसद्का दुवै सदनको बैठक प्रतिनिधिसभाको हलमा बस्नेछ । सोमबार अपराह्न ४ बजे राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्नुहुनेछ । सोहिक्रममा सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुनेछ ।’

    १५ जेठमा सरकारले नयाँ आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहीबमोजिम संघीय संसद्मा ७ जेठमा सरकारको नीति तथा कार्यक्रम पेस हुन लागेको हो । सरकारको नीति तथा कार्यक्रममाथि केही दिन संसद्मा छलफल हुने र १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने संघीय संसद्को कार्यतालिका छ ।

    संसद्को नियमावली निर्माणमा सांसद निलम्बन, समिति गठनमा सत्तापक्ष र प्रतिपक्षीबीच विवाद भएपछि सरकारको नीति तथा कार्यक्रम संसद्मा आइसकेपछि मात्रै नियमावली टुंगिने भएको छ ।

    संसद्को सम्भावित कार्यसूचीमा सचिवालयले पटक–पटक राखे पनि दलबीच कस्तो अवस्थामा सांसद निलम्बन गर्ने वा नगर्ने तथा प्रतिनिधिसभामा समितिको संख्या कति हुने भन्ने विवाद कायम रहेपछि छलफल अघि बढ्न सकेन ।

    नियमावली निर्माणमा बहुमतीय प्रक्रियाबाट सत्तापक्ष अघि बढे प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ । राष्ट्रपतिको संसद्मा सम्बोधन सोमबार रहेकाले त्यसअघि संसद् विभाजन नदेखाउन नियमावली पारित गर्ने प्रक्रिया पछाडि सारिएको नेताहरूले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…