• बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या आरोपमा पक्राउ परेका ६ जना शुक्रबार जेल चलान भएका छन् । जिल्ला अदालत झापाले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।जेलचलान हुनेहरूमा बिर्तामोड–५ घर भई राधे रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देव, बिर्तामोड–३ घर भई पारसकुमारकै पसलमा म्यानेजरका रूपमा काम गर्दै आएका प्रकाश भन्ने चिरञ्जीवी ओली, सोही स्थानका दीपेश पौडेल, बिर्तामोड–३ का राजेशरराज भन्ने राहुल साह र बिर्तामोड–५ का सुजन चौधरी छन् ।

    सोही मुद्दामा संलग्न रहेका पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद विश्वकर्मालाई अदालतले १८ लाख ५० हजार २ सय ३० रुपैयाँ धरौटी माग गरेको थियो । सो धरौटी रकम राख्न नसकेका कारण उनी पनि जेल चलान भएको प्रहरीले जनाएको छ । हत्यापछि साजनबाट लुटिएको सुन प्रमोदले नै खरिद गरेको प्रहरीको दाबी छ । बिर्तामोडको देवा ज्वेलर्सका सञ्चालक २६ वर्षीय साजन मुखियालाई २० फागुनमा अपहरण गरी उनीहरूले हत्या गरेको प्रहरीको आरोप छ । सो घटनामा संलग्न कोही पनि पक्राउ पर्न अब बाँकी नरहेको प्रहरीले जनाएको छ ।

    पक्राउपछि पनि चलखेल
    घटनामा संलग्न सबैलाई पक्राउ गरी अनुसन्धान गरिरहेका वेलासमेत मुख्य योजनाकार पारसले भने विभिन्न चलखेल गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पारसले यो घटना पूर्ण रूपमा जिम्मा लिइदिन पक्राउ परेका अन्य व्यक्तिहरूलाई फकाउँदै आएका थिए । ‘उनीहरूलाई हामीले एकैठाउँ राखेर अनुसन्धान गरेनौँ, फरक–फरक कोठामा राखेका थियौँ,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले भने, ‘तर, पारसले यो घटना जिम्मा लिइदे, तँलाई एक करोड दिन्छु भनेर प्रकाशलाई चिठी लेख्न भ्याइसकेको रहेछ ।’

    प्रहरीले अदालतमा म्याद थप गर्न लगेका वेला पारसले आफ्नै पसलमा म्यानेजरका रूपमा काम गर्दै आएका प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई सो पत्र दिएका थिए । प्रहरीले सो चिठीसमेत अदालतमा पेस गरेको थियो । अदालतमा पारसले प्रतिरक्षाका लागि ११ जना वकिल राखेका थिए ।

    साजनको हत्या लुटपाट
    बिर्तामोडस्थित देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या फिल्मी स्टाइलले भएको थियो । दुई वर्षदेखि बिर्तामोडमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका २६ वर्षीय साजन २० फागुनदेखि बेपत्ता थिए । उनको हत्या भएको ९ दिनपछि प्रहरीले इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा शव फेला पारेको थियो । रेडबुलमा अधिक मात्रामा अल्कोहल मिसाएर खुवाइसकेपछि उनीहरूले साजनलाई क्लोरोफर्म सुँघाएर बेहोस बनाएका थिए । ‘त्यसपछि कार्टुन बाँध्न प्रयोग गरिने प्लास्टिक र सेतो चोयाको डोरीले साजनका दुवै हात पछाडि बाँधेको अनुसन्धानमा खुलेको थियो,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कोइरालाले भने, ‘घाँटीमा पनि सोही डोरीले बाँधेर कर्तव्य गरी मारेको पाइयो ।’

    साजनलाई अपहरण गरेको आधा घन्टाभित्र बिर्तामोडमै हत्या भएको थियो । हत्यामा संलग्न भनिएकाहरूले साजनको साथमा रहेको नगद, सुनको ढिक्का र सुनका अन्य गरगहनासमेत लुटेका थिए । त्यसलगत्तै उनीहरूले साजनको शवलाई जुटको बोरामा हालेर भारतीय नम्बरको गाडीमा इलामसम्म लगेर फालेका थिए । प्रहरीले सो भारतीय नम्बर प्लेटको गाडीसमेत काकडभित्ता नजिकैको एक गल्लीमा फेला पारेको थियो ।हत्यामा संलग्न पारस, दीपेश र प्रकाशलाई प्रहरीले तुरुन्तै पक्राउ गरेको थियो । राहुलराज भन्ने राजेश साह, मामा भन्ने सुजन चौधरी र प्रमोद विश्वकर्मालाई प्रहरीले वैशाखमा पक्राउ गरेको थियो ।

    ८८ किलो सुन तस्करीका आरोपी थुनामुक्त
    ८८ किलो सुन तस्करीको आरोपमा पक्राउ परेका दुईजनालाई सर्वोच्च अदालतले मुक्त गर्न आदेश दिएको छ । सुन तस्करीका मुख्य अभियुक्त भएको दाबी गर्दै प्रहरीले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्लास दिनकरलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठले उनीहरूलाई थुनामुक्त गर्न बिहीबार आदेश दिएको हो ।

    १० फागुनमा ८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त भएको दाबी गर्दै प्रहरीले विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्लास दिनकर सालुङ्केलाई काठमाडाैँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ बमोजिम थुनामा राख्न आदेश जारी गरेको थियो । जिल्ला अदालतको आदेशपछि उच्च अदालतले पनि सोही आदेश सदर गरेको थियो । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनीहरू १० वैशाखमा सर्वोच्च अदालत पुगेका थिए । जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले उनीहरूलाई छाड्न आदेश दिएको हो ।

    रसुवाको केरुङ नाका हुँदै अवैध रूपमा भित्र्याएको ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट प्रहरीले १९ भदौ ०७४ मा बरामद गरेको थियो । तस्करी प्रकरणमा प्रहरीको महानगरीय अपराध महाशाखाले १७ कात्तिकमा ४ जना चिनियाँ नागरिकसहित ११ जनाविरुद्ध संगठित अपराधसहितको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेको थियो ।

    अभियुक्तहरूविरुद्ध ५ वर्ष कैद सजाय र ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै प्रहरीले मुद्दा दायर भएको थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरूविरुद्ध २ वटा मुद्दा दायर गरेको हो । प्रहरीले सुन बोकेर ल्याउने गाडीका चालकलाई भने निर्दोष भनी मुद्दा दर्ता गरेको थिएन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…