• काठमाडौँ ; सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरूले उठाएका विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

    संसद् सुरु भएयता सांसदहरूले विभिन्न विषय उठाए पनि सरकारका मन्त्रीहरू अनुपस्थित भएपछि सभामुखले ध्यानाकर्षण गराएका हुन् । ‘यो सदन सुरु भएपछि विशेष समय लिएर माननीय सदस्यहरूले धेरै महत्त्वपूर्ण विषय उठाउनुभएको छ,’ शुक्रबारको बैठकमा उनले भने, ‘म सरकारको ध्यानाकर्षण गराउँछु, ध्यानाकर्षण भएकै पनि हुनुपर्छ ।’

    सांसदहरूले विशेष समय लिएर राष्ट्रिय र स्थानीय समस्या उठाउने गरेका छन् । शुक्रबारको बैठकमा विगतको तुलनामा मन्त्रीहरूको सहभागिता बढी नै थियो । बैठकमा देवेन्द्रराज कँडेलले काम नगरेको भन्दै ठेकेदारलाई कारबाही गर्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘हामीले ठेकेदारको बचाउ गर्न खोजेका हैनांै,’ उनले भने, ‘कानुन बनाएर मात्रै कारबाही गरौं ।’ सांसद यशोदा गुरुङले मनाङ जाने सडक कालोपत्रे गर्ने भनिए पनि अझै नभएको र शिक्षाको बजेट जतिसुकै खर्च भए पनि गुणस्तर कमसल रहेको बताइन् । उनले आवासीय विद्यालयको अवधारणा अघि बढाउन पनि सरकारसमक्ष माग गरिन् ।

    सांसद प्रदीप यादवले नेपाली नागरिक भएर पनि सहजै नागरिकता पाउन नसकेको गुनासो गरे । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने संवैधानिक व्यवस्था रहे पनि प्रमुख जिल्ला अधिकारीहरूले अडाउने गरेको उनले बताए । ‘नागरिकता नहुँदा बैंकमा खाता खोल्न पाएका छैनन् । विदेश अध्ययन गर्न जान सकेनन् । सवारी चलाउन आउँछ तर लाइसेन्स निकाल्न सकेका छैनन्,’ यादवले भने, ‘नागरिकता लिन गयो सीडीओसाबले कानुन बनेको छैन भनेर फर्काउने गरेका छन् ।’ यो समस्या तराईका जिल्लामा बढी रहेको सांसदहरूको भनाइ छ । सांसद प्रमोदकुमार साहले ०६३ सालमा जन्मसिद्ध नागरिकता पाएकाहरूका सन्तान नागरिकताविहीन भएको बताए ।

    सांसद छविलाल विश्वकर्माले प्रदेश सरकारले बनाएको कानुनमा दलितलाई समान हैसियत नदिएकामा आपत्ति जनाए । सांसद उमा रेग्मीले देशका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि बलात्कार, दुव्र्यवहारको घटना बारम्बार हुने गरेकाले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने बताइन् । सांसद हृदयेश त्रिपाठीले सरकारले बनाएको न्यायिक आयोग र छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरेकामा आपत्ति जनाए । सांसद कमला रोकाले रुकुम पूर्व नयाँ जिल्ला भएपछि पूर्वाधारको विकासमा सरकारले ध्यान नदिएको बताइन् ।

    पार्टी एकताको स्वागत
    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएकामा संसद्मा सत्तापक्ष र प्रतिपक्ष सांसदले समेत स्वागत गरेका छन् । सांसद खगराज अधिकारीले दुई ठूला कम्युनिस्ट पार्टीको एकताले आर्थिक समृद्धि र विकासको मार्ग प्रशस्त गरेको बताए । कांग्रेस सांसद सञ्जय गौतमले एमाले र माओवादी केन्द्रको एकतालाई स्वागत गरे । ‘समृद्ध नेपाल बनाउने सोचका साथ पार्टी एकता भएको भनिएको छ, यो सार्थक होस् । तर, दम्भ नदेखाइयोस् । हाम्रो गन्तव्य, भूमिका, इतिहास र लोकतान्त्रिक मोड के हो ? हामीलाई थाहा छ । हामी सकारात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,’ उनले भने । नख्खु कारागारमा रहस्यमय मृत्यु भएका भक्तबहादुर सुनुवारको छानबिन प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । भूकम्पपीडितलाई जस्तै बाढीपीडितलाई पनि राहत दिन उनले आग्रह गरे । ‘एउटै देशको नागरिकलाई किन विभेद ?’ उनले भने । सांसद दुर्गा पौडेलले संविधानमा उल्लेख भएको समाजवादउन्मुख व्यवस्था कार्यान्वयनका लागि एकता प्रभावकारी हुने बताइन् ।

    सत्ता पक्षको पहिलो सिटमा दाहाल
    संसद्मा सत्तापक्ष नवगठित नेपाल कम्युनिस्ट पार्टीको वरीयताक्रमअनुसार बसेको छ । सत्ता पक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा बसेका हुन् । उनीपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो । सुवास नेम्वाङ त्यही ‘रो’ को पाँचौं सिटमा बसेका थिए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने सरकारका लागि छुट्याएको सिटमा रहने भएकाले सत्ता पक्षको सिटमा दाहाल पहिलो नम्बरमा बसेका हुन् । यसअघि माओवादी केन्द्रका सांसद बस्ने सिटमा भने पहिलो नम्बरमा देव गुरुङ थिए । त्यसपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बसे । उनीसँगै टोपबहादुर रायमाझी थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…