• काठमाडौं । मोरङ उर्लाबारी चोकबाट ५० मिटर पूर्व एउटा सानो घर छ । बजारको चोकैमा तर टिनको ढोका, पुरानोखालको दुइतले घर । बुधबार साँझ हामी त्यहीँ पुग्यौं । अर्थात त्यो घर थियो ३३ किलो सुन प्रकरणमा ज्यान गुमाएका सनम शाक्यको ।
    घरमा पुग्दा सनमकी आमा कल्पना शाक्य र श्रीमती सुनिता लावती शाक्य पेटीमा बसिरहेका थिए । हामी घरमा पुग्दा उनीहरुले पहिले कुनै पनि प्रतिक्रिया जनाएनन् । तर कुरा सुरु गर्दै गरेपछि आमा र श्रीमतिले सनम र गोरेको सम्बन्धका बारेमा खुलस्त पार्दै गए ।

    को हुन सनम शाक्य ?

    सामान्य परिवारमा जन्मिएका सनम शाक्य ३ भाइमध्ये जेठा हुन् । सुरुमा सनम गाउँमै सानोतिनो ठेक्कापट्टा गर्ने, कतिपय ठेकेदारको हिसाबकिताब राख्ने काम गर्थे । दुई भाईहरुमध्ये एकजना काठमाडौं र माइलो घरमै छन् । उनीहरुसँग सम्पतिका रुपमा देखिने त्यही घर भएको घडेरी मात्रै छ ।

    सुन ओसार पसारमा लागेका सनमले कति कमाए र कहाँ खर्च गरे भन्ने अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

    “हामीले सबै किनेरै खाने हो,” आमा कल्पना भन्छिन्, “सनमले महिनामा १५/२० हजारसम्म जुटाउथ्यो, घरखर्च चल्थ्यो ।”

    सनमकी ९ वर्षीय छोरी दिप्सा ६ कक्षामा पढ्छिन् । चुडामणि उप्रेती गोरे र सनम सानैदेखि चिनजानका साथी थिए । गाउँमा सानोतिनो व्यावसाय गरेर जिवन निर्वाह गरिरहेका सनमलाई ‘गोरे’ ले २०७२ साउनतिर आफैसँग काम गर्न काठमाडौं ल्याए । गोरेले सनमलाई

    आफ्नो कारोबारको हिसाबकिताब हेर्न लगाए । त्यहीँबाट सुरु भयो सनम र गोरेको गहिरो सम्बन्ध ।

    सनमकी छोरीको जन्मदिनमा घरमै आएका थिए ‘गोरे’

    गोरे सनमकी श्रीमतीलाई भाउजु र सनमले गोरेकी श्रीमती निरु खरेललाई भाउजु नाताले सम्बोधन गर्थे । गोरे कहिलेकाँही सनमको घरमा पनि आउँथे । सनमकी श्रीमती सुनिता सम्झन्छिन्–‘०७४ साउन २४ गते छोरी दिप्साको जन्मदिनमा हाम्रो घर आएका थिए । छोरी दिप्सालाई आशिर्वाद पनि दिए । गोेरेले मलाई भाउजु भन्थ्यो तर सनमको हत्या गरेर मेरै सिउँदो उजाड पारिदियो ।”

    सनमले छाडेका थिए गोरेको काम !

    २ वर्ष गोरेको लेखा सहयोगीको रुपमा काम गरेपछि सनम माघ २० गते काठमाडौंबाट मोरङस्थित आफ्नो घर पुगेका थिए ।

    सनमले त्यसबेला नै श्रीमती सुनितासँग अब आफुले गोरेको काम छाडेको बताउँछन् । तर कहिलेकाही हिसाबकिताबका लागि गोरेले सम्र्पक गरिरहन्थे । साउन २२ गते गाउँमा भाइको बिहे थियो । सनम पनि त्यो विवाहमा थिए ।

    मोहन काफ्लेसँग भारत गएपछि ...

    माघ २३ गते गोरेले श्रीमती सुनितालाई आफु मोहन काफ्लेसँग भारत जान लागेको बताएका थिए । उनले त्यहाँ काम छ भने तर के काम खुलाएनन् । उनीहरुसँगै बाटोबाट रुस्तम मिया पनि भारतको सिलगुढी पुगे । गोरे पनि भारतको आसामबाट सिलगुढी आए । उनीहरु तीनै जनालाई भारतमा सुन लुकाएको भन्दै गोरेको समुहले एक होटलमा कुटपिट गरेको परिवार बताउँछन् ।

    माघ २९ गते सनम भारतबाट फर्किए । भारतबाट फर्किएपछि सनम फागुन १५ गतेसम्म घरमै बसेका थिए ।

    सनमले श्रीमतीलाई भने– मलाई केही भए गोरेलाई समात्नू

    गोरेको काम छोडेका बताएका सनमलाई गोरेले फोन गरिरहन्थे । श्रीमती सुनिता भन्छिन्, “गोरेले भेट्न आइज काम छ भनेपछि सनम गोरेलाई भेट्न जान्छु भन्दै फागुन १६ गते बिहान घरबाट निस्किए । सनमलाई आफ्नो संकटबारे पहिल्यै जानकारी हुन सक्छ । त्यसैले सनमले घरबाट निस्कनेबेला मसँग भनेका थिए, सुनिता गोरेलाई चिन्छौं ?”

    सनमको प्रश्नले आफू त्यसबेला नै झस्किएको सुनिता बताउँछिन् । उनको प्रश्नले म झस्किएर सोधेँ, “किन नचिन्नु, राम्रोसँग चिन्छु । किन सोधेको ?”

    त्यसपछि सुनितालाई सनमले अन्तिम जवाफ दिए– मलाई दायाबाँया भए गोरेलाई समात्नू ।”

    त्यसबेला सनमले चितवन जाने काम भएको बताएका थिए ।

    सनमको मोबाइलमा गोरे बोलेपछि.......

    फागुन १६ गते गोरेलाई भेट्न घरबाट निस्किएका सनमको श्रीमतीसँग बेला बेलामा कुरा भइरहेकै थियो । त्यसबीचमा मोहन काफ्ले र सनम सँगै थिए । मोहन काफ्लेकी श्रीमती पुनम खड्काले सनम र मोहन सँगै भएको बताएकी थिइन् ।
    सुनिताले सनमलाई फोन गर्दा गोरेले उठाएर सनम आफूसँगै भएको बताएका थिए ।

    “भाउजु सनम मसँगै छ,” गोरेको भनाई उद्धृत गर्दै सनम शाक्यकी श्रीमति सुनिता भन्छिन् ।

    १७ गते बिहान भने सुनिता र सनमको कुराकानी भएको थियो । त्यतिबेला सनमको मोबाइलमा मोहन काफ्ले पनि बोले । मोहनले आफ्नो मोबाइलको ‘व्याट्री लो’ भएर अफ भएको र केही काम भए सनमकै नम्बरमा फोन गर्न भनेका थिए ।
    १७ गते आफू काममा भएका बेला सनमको फोन आए पनि आफूले उठाउन नपाएको बताउँछिन् ।

    पछि फोन गर्दा म मिटिङमा छु पछि कुरा गरौंला भन्ने म्यासेज मात्रै आइरहन्थ्यो ।

    सुनिता भन्छिन्– फागुन १८ गते मोहन काफ्लेको फोन लाग्यो । मैले फोन गर्दा कुराकानी पनि भयो । मोहनले सनम दाई मिटिङमा हुनुहुन्छ । ११ बजेतिर आउनुहुन्छ । त्यसपछि हामी घर फर्किन्छौं भनेर भनेका थिए ।”
    तर न सनम आए न कुरा हुन सक्यो ।

    १९ गते बिहान मोहन काफ्लेसँग सुनिताले ३ पटकसम्म कुरा गरिन् तर अन्त्यमा मोहनले सनम दाई त टेकराज मल्लसँग गएको भन्ने जवाफ दिए ।

    सुनिताले मोहनको श्रीमतीबाट टेकराज मल्लको नम्बर मागेर फोन गर्दा टेकराजले को सनम हो म चिन्दिन भन्दै फोन काटिदिएपछि सनमको परिवार झनै तनावमा परेका थिए ।

    प्रहरी अनुसन्धानमा सनमको हत्या फागुन १८ गते नै भइसकेको थियो । गोरेले टेकराजलाई हत्याको जिम्मा लिए ५० लाख परिवारलाई दिने बताएपछि त्यही योजनामा टेकराजको नम्बर र नाम श्रीमतीलाई दिइएको हुन सक्ने अनुमान परिवारको छ । गोरेसहितको समुहले सनमलाई चरम यातना दिएर हत्या गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । अन्त्यमा टेकराज मल्लकी श्रीमती नानु अधिकारीलाई ५० लाख नदिएपछि घटनाको रहस्य बाहिरिएको स्रोत बताउँछ ।
    १९ गते दिउँसो प्रहरीले नै सनमको परिवारजनलाई सनम समातिएको छ भन्दै खबर गरेको थियो ।

    घटनाको निश्पक्ष छानविन होस् : परिवारजन

    सनमका परिवारजनले घटनाको निश्पक्ष छानबिनको माग गरेका छन् । मोरङ अदालतमा मुद्दा चलिरहँदा उनीहरुले दोषीमाथी हदैसम्मको कार्वाहीसँगै क्षतिपूर्तीको माग गरेका छन् ।
    गत माघको पहिलो साता युएईबाट आएको भनिएको अवैध ३३ किलो सुन गायब भएपछि त्यही सुनसँग जोडेर सनमको हत्या भएको थियो । सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई रेडकर्नर नोटिस जारी गरेर खोजी कार्य जारी छ ।बाह्रखरीबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…