तस्करीको सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे आत्मसमर्पण गर्न नेपाल आफैं आएको खुलेको छ।
गोरेलाई छानबिन समितिले काठमाडौंको गौरीघाटबाट बिहान साढे पाँच बजे पक्राउ गरेको थियो।
तस्करीको ३३ किलो सुनकाण्ड र सनम हत्या काण्डको मुख्य अभियुक्त गोरेलाई बनाईएको र ४ वर्षमा करिव ३८ सय किलो अवैध सुन गोरेलेनै भित्र्याएको भन्ने कुरा आएपछि सत्य कुरा बाहिर ल्याउन गोरे आफैं नेपाल आएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
स्रोतले भन्यो ‘तस्करीको सुन व्यवस्थापन गर्ने गोरेलाई ३८ सय किलो सुनको मालिक नै जस्तै बनाइयो। त्यो कुरा गोरेलाई चित्त बुझेन। उनी आफै आएर समितिसमक्ष सुनमा खास कसको लगानी भन्ने बारेमा खुलाउन चाहन्थे।’
स्रोतका अनुसार गोरे सोमबार काठमाडौं आएका थिए। उनी काठमाडौं आएको कुरा उनका परिवारले समितिलाई सूचना दिएपछि उनलाई मंगलबार पक्राउ गरिएको हो।