• पथरी / मोरङको कानेपोखरी र पथरीशनिश्चरे क्षेत्रमा अधिकांश निजी विद्यालयहरु गैर कानूनी ढंगबाट सञ्चालन भइरहेको पाइएको छ । केही दिनअघिमात्र स्थानीय तहको शिक्षा समितिले गरेको अनुगमनबाट यस्तो रहस्य पत्ता लागेको हो ।

    अनुगमनका क्रममा कानेपोखरीका २२ वटा निजी विद्यालयमध्ये पाँचवटा बाहेक सबै गैरकानूनी ढंगबाट सञ्चालन भएको पाइएको छ । जसमा पर्ल एकेडेमी, रमाइलो बालजगत, सर्चलाइट, पिनाकल ज्ञानमन्दिर र फिनिक्स बोर्डिङ स्कुल बाहेक अन्य १७ वटा निजी विद्यालय गैर कानूनी ढंगबाट सञ्चालन भइरहेको कानेपोखरी गाउँपालिकाका श्रोत व्यक्ति प्रेमकुमार कार्कीले जानकारी दिए ।

    ‘हामीले त्यस्ता गैरकानुनी रुपमा सञ्चालनमा भएका सबै विद्यालयलाई कानूनी प्रकृया पूरा गर्नका लागि निर्देशन दिएका छौ’– श्रोत व्यक्ति कार्कीले भने ‘त्यसका लागि हामीले अनुगमनको रिपोर्ट गाउँपालिकालाई पेश समेत गरेका छौं ।’

    अनुगमनका क्रममा अधिकांश विद्यालयले तल्लो तहको मात्रै स्वीकृति लिएको भए पनि माथिल्लो तहसम्मको अध्यापन गराएको पाइएको थियो ।

    शैक्षिक सत्र सुरु हुनासाथ ती विद्यालयहरुले माथिल्लो कक्षाका लागि अभिभावकलाई विभिन्न प्रलोभन दिएर भर्ना लिएपछि त्यसको विरोध भएको थियो । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङकी सदस्य मनकुमारी गुरुङको अगुवाइमा गैरकानूनी तवरले चलेका विद्यालयलाई कारवाही गर्न माग गर्दै विद्यालय सञ्चालकहरुको टोली गाउँपालिका पुगेको थियो । सो टोलीले लिखित उजुरी दिएपछि गाउँपालिकाको शिक्षा समितिले अनुगमन गरेको हो ।

    समितिले अनुगमन गरी कानेपोखरी गाउँपालिकाभरी सञ्चालन भएका निजी विद्यालयहरुको अवस्था सार्वजनिक गर्ने काम मात्र गरेको रमाइलो बालजगत ईग्लिस बोर्डिङ स्कुलका सञ्चालक दानबहादुर बस्नेतले बताए ।

    ‘कानूनी प्रकृया पूरा नगरी माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयलाई कारवाही गर्ने तर्फ गाउँपालिकाले चासो नदिएपछि हामीहरुले पुनः अर्को उजुरी दर्ता गरेका थियौं’– बस्नेतले भने ‘त्यसको पनि कुनै सुनुवाई भएको छैन ।’

    यता कानेपोखरी गाउँपालिकाकी उपाध्यक्ष राजमति इङनामले अध्यक्ष विरामी भएका कारण आफुहरुलाई विकासे योजना सम्पन्न गर्ने चटारो बढेको र नयाँ योजनाको तयारीमा जुट्नु परेकोले त्यतातिर ध्यान दिन नपाएको बताइन् । ‘हामी छलफल गर्ने क्रममा छौं । अब चाँडै बोर्ड मिटिङ बस्दैछ, त्यसले जे निर्णय गर्छ त्यही अनुसार कारवाही अगाडी बढ्छ’– उनले भनिन् ।

    उता कानूनी प्रकृया पूरा नगरिएका भनिएका निजी विद्यालयका सञ्चालकहरु भनें आफुहरुलाई सरकारले कानूनी अल्झन लगाएर थप कक्षा स्वीकृति नदिएको दावी गर्छन् । ‘हामीले माथिल्लो कक्षाको लागि पहिले नै धरौटी रकम जम्मा गरिसकेका छौं’– एक निजी विद्यालय सञ्चालकले भने ‘तर शिक्षा कार्यालयले ठूला विद्यालय सञ्चालकहरुको दवावमा परेर हामीलाई थप कक्षा सञ्चालन अनुमति दिएको छैन ।’

    उनले अभिभावकको मागका आधारमा पनि माथिल्लो कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए । ‘एउटै परिवारका २÷३ जना बच्चा भएको अवस्थामा दाजुदिदी पास भएर गएपछि सानो बच्चाको हेरचाह र स्कुल ल्याउन लान समस्या हुन्छ भनेर अभिभावकले नै माथिल्लो कक्षा सञ्चालनको माग गर्नुहुन्छ’– उनले भने ‘उता राज्यले चाहीं हामीले माग गरे अनुसारको कक्षा थपको अनुमति दिंदैन ।’

    यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा अधिकांश निजी विद्यालयहरु कानूनी प्रकृया पूरा नगरी सञ्चालन भएको पाइएको छ । गत महिना शिक्षा समितिले गरेको अनुगमनबाट अधिकांश निजी विद्यालयहरु मादण्ड विपरित सञ्चालनमा रहेको पाइएको विद्यालय निरीक्षक दुर्गा सिग्देलले जानकारी दिए । ‘धेरै विद्यालयहरु अनुमति विना माथिल्लो कक्षा सञ्चालन भएको पाइयो’ विद्यालय निरीक्षक सिग्देलले भने ‘हामीले त्यस्ता विद्यालयको बारेमा नगरपालिकालाई जानकारी गराइसकेका छौं । कार्यपालिका बैठक पछि कार्यविधि अनुसार कारवाही गर्ने भनिएको छ ।’

    निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङका सदस्य एवं क्लस्टर नं. ७ का संयोजक सुरेन्द्र लिम्बूले केही निजी विद्यालयहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको स्वीकार गरे । ‘यसबारेमा हामी सूचना संकलन गरिरहेका छौ’– संयोजक लिम्बूले भने ‘त्यस्ता सञ्चालकहरुलाई कानूनी प्रकृया पूरा गर्न दवाव समेत दिएका छौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…