बीरेन्दनगर । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द नेपालको आयोजनामा सुर्खेतको बीरेन्द्रनगरमा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सुरु भएको छ । मेलमिलाप परिषदको सहयोग रहेको यस तालिमको उद्घाटन उच्च अदालतका कामु प्रमुख न्यायाधिश माननीय जीवनहरि अधिकारीले गर्नु भएको थियो । तालिमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि कामु प्रमुख न्यायाधिश माननीय जीवनहरि अधिकारीले अदालतमा, गाउँपालिका नगरपालिकामा र समुदायमा मेलमिलापले ठूलो भूमिका खेल्ने बताउँदै सहभागीहरुलाई कुशल मेलमिलापकर्ता बन्न शुभेच्छा दिनुभएको थियो भने प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाललाई मेलमिलाप परिषद्बाट उत्कृष्ट संस्थाका रुपमा सम्मानित भएको बधाइ समेत दिनुभएको थियो । त्यसैगरी, कार्यक्रमका अतिथि उच्च अदालत सुर्खेतका निमित्त रजिष्टार नरेन्द्र बहादुर बुुढाले मेलमिलापबाट दिगो शान्ति स्थापना हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । त्यस्तै, मेलमिलाप परिषद्का तालिम संयोजक युवराज पौडेलले परिषद्को ७ वटै प्रदेशमा तालिम संचालन गर्ने कार्यक्रम रहेको बताउनुभयो । तालिममा कर्णाली प्रदेशका सात जिल्लाका अधिवक्ता, प्रहरी नायव निरिक्षक, प्राध्यापक, समाजसेवी एवं शिक्षकहरु गरी २७ सहभागीहरु रहेका छन् । तालिम जेठ १९ गतेसम्म चल्नेछ । उद्घाटन शत्र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमको सहजिकरण दीपकराज भट्ट, इरादा पडाडी अधिकारी र सञ्जय न्यौपानेले गर्नुहुनेछ ।