सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीमा प्रहरीले मुख्य अभियुक्त बनाएको गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई भरपर्दो सुरक्षा दिन अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङमा बयानका क्रममा गोरेले आफूलाई हिरासतमै खतरा भएको बताएका थिए ।उनलाई बयानका लागि बुधबार मोरङ अदालत लगिएको थियो । उनले आफू असुरक्षित रहेको बताएपछि अदालतले मानवअधिकारवादीको समेत निगरानीमा भरपर्दो सुरक्षा प्रदान गर्न मोरङ प्रहरीलाई आदेश दिएको हो । उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।
अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार गोरेले ६ नम्बर इजलासमा न्यायाधीश नारायण शर्मासमक्ष आफ्नो जिउज्यान असुरक्षित रहेकाले मानवअधिकारवादीसमेतको निगरानीमा सुरक्षा प्रदान गर्न माग गर्दै निवेदन दिएका थिए । अदालतमा बयान दिन उपस्थित गराइएका गोरेलाई पहिला एक सय ५३ पेजको अभियोग पढेर सुनाइएको थियो । त्यसपछि प्रमाणका रूपमा प्राप्त भिडियो देखाइएको थियो ।
त्रिभुवन विमानस्थल हुँदै तस्करहरूले ल्याएको साढे ३३ किलो सुन हराएपछि उनले आफ्नै समूहका सनम शाक्यको हत्या गरेका थिए । सुन पत्ता लगाउन यातना दिँदा उर्लाबारी–७ का शाक्यको मृत्यु भएको थियो । उनको शव १८ फागुनमा भेटिएको थियो ।
सुन हराएपछि शाक्यसहित सानु बन र प्रेमलाल चौधरीको पनि ज्यान गयो । बन र चौधरीले आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ । गोरे भने फरार थिए । अनि सनम शाक्यको ज्यान गएको र आफू पनि असुरक्षित रहेको गोरेले अदालतमा बताएका छन् ।गोरेले आफू १७ फागुनमा मात्र सनम शाक्यलगायतलाई केरकार गर्न पुगेको, तर १८ गते नगएको बयान दिएका छन् । बयानका क्रममा उनले आफूले सनमको हत्या नगरेको जिकिर गरेका छन् । आफूले पहिल्यै सुन तस्करी गर्न छाडिसकेको र आफू नाइकेसमेत नभएको उनको जिकिर छ । अदालतका अनुसार उनले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका छन् ।
पहिलो दिनको बयानमा गोरेले सुन हराएपछि आफूले भोगेको दबाब र यातनाबारे पनि खुलाएका छन् । बयानका क्रममा तस्करी आरोप लागेका सबै ६३ प्रतिवादीलाई नै आफूले चिन्ने बताएको अदालतले जानकारी दिएको छ । बयानको पहिलो दिन बुधबार गोरेले काठमाडौंदेखि सिन्धुलीको खनियाँ खर्कसम्मको घटनाबारे बताउन भ्याए । उनको बयान बिहीबार पनि जारी रहने अदालतले जनाएको छ ।
२८ अभियुक्तलाई पठाइयो झुम्का कारागार
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गरेका सबै २८ जनालाई बुधबार झुम्का कारागार पठाएको छ । मोरङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले झुम्का कारागार पठाएको मोरङ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया