• काठमाडौँ, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।

    उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो ।

    मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
    “अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छांै । ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।”

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताउनुभयो ।

    “निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन,” उहाँले भन्नुभयो – “निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।”

    प्रधानमन्त्री ओलीले सरकार लोकप्रियता हासिल गर्न नभई लोकप्रिय काम गर्न बनेको पनि स्पष्ट गर्नुभयो ।

    कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तयार रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई अध्ययनका लागि बाध्यतामाबाहेक विदेश जान नपर्ने वातावरण बनाउन आफूहरु लागिपरेको र स्वदेशमै गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराउनुभयो ।

    स्वदेशमै विदेशमा पाइने शिक्षा पाइन्छ भन्ने सन्देश दिन शैक्षिक मेला आयोजना गरिएको मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस मेलामा १५० भन्दा बढी कलेजको सहभागिता रहेको छ ।

    प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा तीन दिनसम्म सञ्चालन हुने यस मेलामा करीब दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…