सुर्खेत । सुर्खेत महिला जेसीजले आयोजना गरेको स्लो स्कुटी ड्राइभ प्रतियोगीताको उपाधि जुनु रामजालीले हात पारेकी छिन् ।
सर्खुेत लेडी जेसीजको शनिवारबाट सुरु भएको जेसीज सप्ताह अन्तर्गत उद्घाटन समारोहको अवसर पारेर शनिबार आयोजना गरिएको महिला स्कुटी स्लो रेसमा ५० जना प्रतियोगीलाई पछि पार्दै जुनुले उपाधि जितेकी हुन् । उपाधिसँगै उनले नगद ५ हजार नगद पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगीतामा हिना मल्ल दोस्रो र तुलसी थापाले तेस्रो भएका छन् । उनीहरुलाई जनही तीन हजार र एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ । वीरेन्द्रचोकदेखि हुलाक चोकसम्म भएको दुई सय मिटर स्लो स्कुटी ड्राइभ प्रतियोगीताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले गरेका थिए । उनले महिला सशक्तिकरणका लागि सुर्खेत महिला जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
सुर्खेत महिला जेसीजकी अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्खेत महिला जेसीजकी संस्थापक अध्यक्ष येवम नेपाल, नेपाल जेसीका पूर्व राष्ट्रिय उपाध्यक्ष सीमा चन्द, जिल्ला ट्राफिकका इन्र्चाज कविराज सेन्चुरी, पूर्व अध्यक्ष ज्योति पौडेल र प्रतिमा मल्ल, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्षभद्र भण्डारी, वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८ का अध्यक्ष यज्ञ खत्रीलगायतको सहभागिता रहेको कार्यक्रम संयोजक सुमित्रा गौतमले बताइन् । कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी कार्कीले गरेकी थिइन् ।