नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका छन् । प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा शनिबार भएको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो । ओली र दाहालले प्रतिनिधिसभा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति गरेका छन् । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन् । नेम्वाङ तत्कालीन एमालेबाट प्रतिनिधिसभा दलको उपनेता तथा शर्मा राष्ट्रिय सभामा माओवादीबाट दलको नेता थिए । संसदीय दलको कामलाई प्रभावकारी बनाउन दुवै नेतालाई निरन्तरता दिने सहमति भएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भए पनि सहमतिबारे अनभिज्ञता प्रकट गरे । एउटै पार्टीका अध्यक्षबीच नियमित छलफल संवाद हुने कुरा नौलो भएन, राजनीतिक विषयमा कुराकानी भएको हो, तर सहमतिबारे जानकारी छैन अधिकारीले भने । त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरी हुनेछिन् । गुरुङ तत्कालीन माओवादी दलका प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन् । तत्कालीन एमालेबाट खगराज अधिकारी प्रमुख सचेतक थिए । त्यस्तै राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतकबारे आइतबार बिहानसम्म दुई अध्यक्षले टुंगो लगाउने एक केन्द्रीय सचिवालय सदस्यले बताए । यसअघि राष्ट्रिय सभामा तत्कालीन एमालेका तर्फबाट संसदीय दलको नेता बनाउने भनिएका सांसद पर्शु मेघी गुरुङ तथा प्रमुख सचेतक बनाउने तयारी गरिएका सांसद खिमलाल भट्टराईलाई संसदीय समितिको सभापति बनाइने स्रोतले जनायो । नेकपाले पार्टी संसदीय दलको नयाँ विधान बनाइरहेको छ । पार्टी एकीकरणपछि तत्कालीन एमाले र माओवादी केन्द्रको पुरानो विधान मिलाएर छुट्टै नयाँ विधान बनाउने तयारी अघि बढेको हो । ८ जेठमा बसेको नेकपाको संसदीय दलको बैठकले भीमबहादुर रावल संयोजक रहेको ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा देव गुरुङ खगराज अधिकारी कृष्णभक्त पोखरेल रेखा शर्मा र रामनारायण बिडारी सदस्य छन् । विधानको प्रारूप तयार भएको छ दुई तीन दिनभित्रै कार्यदलले अन्तिम रूप दिनेछ समितिका सदस्य कृष्णभक्त पोखरेलले बताए । पोखरेल र बिडारीले विधानको प्रारूप तयार पारेका हुन् । नेकपाले पार्टी सञ्चालनसम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको हो । मस्यौदा समितमा पौडेलसहित देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् । नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको छ कार्यदलमा छलफल गरेर छिटै अन्तिम रूप दिन्छौँ नेता भुसालले भने । कार्यदलको बैठकले भुसाल र देवकोटालाई प्रारम्भिक मस्यौदा गर्ने जिम्मेवारी दिएको थियो । भुसालले प्रारम्भिक मस्यौदा अध्ययनका लागि सबै सदस्यलाई बाँडिएको बताए । पूर्वमाओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरूले प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा पनि सम्मानजनक भूमिकाको दाबी गरेका छन् । केन्द्रीय कमटीमा नपरेपछि तत्कालीन माओवादी पोलिटब्युरो सदस्यहरूले अध्यक्ष प्रचण्डसमक्ष हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएरै माग राखेका हुन् । ९ जेठमा पूर्वमाओवादीका ८७ पोलिटब्युरो सदस्यहरूले हस्ताक्षर संकलन गरी १० जेठमा प्रचण्डलाई भेटेरै माग राखेको नेता रमेश मल्लले बताए । केन्द्रीय कमिटीमा नपरेका नेताहरूले एकतामा विधि–प्रक्रिया नअपनाइएको गुनासो गरेको मल्ले बताए । ‘नयाँ केन्द्रीय कमिटीमा सदस्यहरू मनोमानी रूपमा मनोनीत गरिएका छन् । पूर्वमाओवादीबाट १३ जिल्लामा प्रतिनिधित्व नहुनुले पनि विधि–प्रक्रिया नअपनाएको देखिएको छ,’ पूर्वमाओवादी पोलिटब्युरो सदस्य उमेश यादवले गुनासो गरे । उनले यस्तो प्रवृत्ति सच्याउन पनि माग गरे । प्रतिनिधिसभामा दलको उपनेता र सचेतक तत्कालीन एमाले र प्रमुख सचेतक तत्कालीन माओवादीको भागमा परेको छ । प्रतिनिधिसभाको सभामुख तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा रहेकाले दलको नेता प्रधानमन्त्री केपी ओली बनेका छन् भने उपसभामुख तत्कालीन एमालेकी डा. शिवमाया तुम्बाहम्फे छिन् ।
त्यस्तै, राष्ट्रिय सभाको अध्यक्ष तत्कालीन एमालेबाट गणेश तिमल्सिना बनाइएकाले दलको नेता माओवादी केन्द्रबाट दीननाथ शर्मालाई बनाइएको छ ।नयाँ पत्रिका दैनिक ?