बाहुनडाँगी । नयाँ खेलाडी उत्पादन गर्दै फुटबल विकासमा सहयोग गर्ने लक्ष्यका साथ झापा मेचीनगर–४ बाहुण्डाँगीमा यहि जेठ १७ गतेबाट जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
बाहुनडाँगी युवा क्लबको आयोजना तथा बाहुण्डाँगी जेसीजको सह–आयोजनामा हुने प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेन आइतवार बाहुनडाँगीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ६१ हजार र उपविजेता टिमले नगद ३१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष पोषक दर्जीले बताए । प्रतियोगितामा आयोजक बाहुनडाँगी युवा क्लब, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, खोपबाडी युथ क्लब बुट्टाबारी, युनाइटेड क्लब विर्तामोड, मुनाल क्लब चन्द्रगढी, सशस्त्र प्रहरी बल पाथीभरा गण, दमक फुटबल क्लब र शनिश्चरे युथ क्लबको सहभागिता रहने सहआयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष एवम टिम सम्पर्क समितिका संयोजक जीवन दर्जीले बताए ।
कुल ६ लाख खर्च हुने प्रतियोगिताका लागि मेचीनगर नगरपालिका वडा नम्बर ४ बाट ३ लाख ५० हजार, आयोजकबाट १ लाख ५० हजार र अन्य रकम प्रायोजक र सहप्रायोजकका रुपमा सहयोग माग्ने प्रचार प्रसार समितिका संयोजक तथा बाहुनडाँगी जेसीजका महासचिव सागर कार्कीले बताए ।
सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगितामा ६ वटा उत्कृष्ट विधामा विभिन्न खेलाडीलाई नगदसहित पुरस्कृत गरिने स्वयसेवक संयोजक कञ्चन उप्रेतीले बताए । ।