• दाङ; शान्तिनगर गाउँपालिकाका दुई वडाका घरपिच्छे झाडापखालाका बिरामी छन् । मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप आइतबार साँझसम्म नियन्त्रणमा आएको छैन ।

    बिरामी संख्या बढदै गएपछि गाउँले आतंकित छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार आइतबार साँझसम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको छ ।शनिबार रातिसम्म ४ सय १९ बिरामी रहेकामा आइतबार ८ सय २ जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले दिए ।

    रातिसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान उनले गरे । शनिबार बिहानदेखि आइतबार राति २ बजेसम्म लगातार बिरामी आए उनले भने फेरि बिहान ४ बजेदेखि बिरामीको भीड लाग्न थाल्यो । उपचारपछि घर फर्केका ३० जना आइतबार फेरि बिरामी भएर स्वास्थ्यचौकी आएको पुनले बताए ।

    घर फर्केर फेरि प्रदूषित पानी नै पिएपछि उनीहरू बिरामी परेका छन् । दूषित पानी पिउन नछाडदा संख्या बढदै गएको हो उनले भने खानेपानी आयोजनाका सबै उपभोक्ता बिरामी भएका छन् । प्रत्येक घरमा बिरामी छन् ।

    पुनका अनुसार तीनवटा एम्बुलेन्सले निरन्तर बिरामी ओसारिरहेका छन् । स्थानीय बीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ । अधिकांश महिला र बालबालिका बिरामी छन् । शान्तिनगर–३ पातेटाकुराकी ४७ वर्षीया डिला चन्दको अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रेफर गरिएको छ । अन्यको स्वास्थ्यचौकीमा चलाइएको आकस्मिक शिविरमा उपचार भइरहेको छ ।

    माइलीपानी खानेपानी आयोजनाको मुहान भलको पानीले प्रदूषित भएपछि ३ र ४ वडामा झाडापखाला फैलिएको थियो । झाडापखालाबाट ३ नम्बर वडाका पातेटाकुरा गनारी गाहा टोल अँधेरे भल टोल खत्री टोल र चिराघाट तथा ४ का एकली कजेरी र हिरापुर गाउँ बढी प्रभावित रहेको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए ।

    खानेपानीको विकल्प नहुँदा झाडापखाला नियन्त्रणमा आउन नसकेको उनले बताए । प्रत्येक घरमा कम्तीमा दुई जना बिरामी भएको डाँगीले बताए । माइलीपानी खानेपानी समितिले ८ सय ५१ घरमा पानी वितरण गरेको छ ।

    बिरामीको संख्या बढदै गएपछि आइतबार दिनभर विशेषज्ञ चिकित्सकसहित चार ठाउँमा स्वास्थ्य शिविर चलाइएको थियो । नेपाली सेनाको फिल्ड अस्पताल नेपालगन्ज र १९ नं. बाहिनी तुलसीपुरबाट चिकित्सकसहितको टोली शान्तिनगर पुगेर उपचारमा खटिएको छ । डा. सुमन गुरुङ, डा. सिर्जना थापा, डा. सुम्निमा राई र स्वास्थ्य प्राविधिकसहित आठ जनाको टोली उपचारमा खटिएको छ ।

    राप्ती अञ्चल अस्पतालबाट पनि डा. गोविन्द ढकाल र डा. महेश कर्माचार्य तथा तुलसी अस्पतालबाट डा. शरद ओली र ५ नर्ससहितको टोली उपचारमा खटिएको छ ।

    राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थी डा. जितनारायण यादव डा. छवि खडकासहित स्वास्थ्यकर्मीहरू कुमार केसी र प्रदीप पुडासैनीको टोली औषधिसहित झाडापखाला प्रभावित क्षेत्र पुगेको छ । उपचारका क्रममा औषधि अभाव हुन नदिन पर्याप्त तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए ।

    सेनाको रिपुमर्दिनी गण घोराहीबाट सहसेनानी नारायणबहादुर बिष्टको नेतृत्वमा ४२ जनाको टोलीले खानेपानी मुहानमा पुगेर सरसफाइ गरेको छ । खानेपानी मुहानको अवस्था अवलोकन र पानी परीक्षण गर्न जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको टोली मुहान पुगेको छ ।

    चारवटा मुहानमध्ये दुइटा मात्रै सुरक्षित रहेको निमित्त डिभिजन प्रमुख तिलक न्यौपानेले बताए । दुईवटा मुहानमा खोलाको पानी सिधै ट्यांकीमा जोडिएकाले प्रदूषण भएको जानकारी उनले दिए । खोलाबाट सिधै जोडिएका मुहानका पाइप तत्कालका लागि हटाइएको उनले बताए ।

    केही दिनअघि धारामा समेत धमिलो पानी आएको र मुहान आसपासका गाउँघरको फोहोर पानी मिसिएको आशंका गरिएको उनले बताए । ‘दुइटा मुहानमा पानी छान्ने प्रविधि जडान छ । दुइटा मुहानमा सिधै खोलाको पानी ट्यांकीमा जडान गरिएको रहेछ,’ न्यौपानेले भने, ‘मुहानमाथिका गाउँमा खुला दिसापिसाब अत्यधिक छ ।

    पानी पर्दा गाउँको फोहर मुहानमा मिसिएको देखिन्छ । अब पानीको सबै पाइपलाइन नै शुद्धीकरण गर्नुपर्ने देखिएको उनले बताए । अहिले उक्त मुहानको पानी प्रयोग नगर्न सबैलाई सूचित गरिएको न्यौपानेले बताए । पानी शुद्धीकरण नहुँदासम्म तुलसीपुरबाट ट्यांकरमा बोरिङको शुद्ध पानी पठाउन थालिएको उनले बताए ।

    अहिलेको पाइपलाइन पूरै प्रदूषण भएको पाइयो । सबै पाइपलाइनमा औषधि हालेर एकपटक शुद्धीकरण गर्नुपर्छ उनले भने, ‘त्यसअघि उक्त पानी पिउन मिल्दैन । गाउँमा अरू पानीका स्रोत नभएकाले ट्यांकरबाटै आपूर्ति गर्न थालिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…