कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निर्वाचित सभापति भएको भन्दै कसैले ‘गेट आउट’ भनेर नहट्ने बताएका छन् । नेपाल प्रेस युनियनको २७औँ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्दै देउवाले अब तीन वर्ष सभापतिमै रहने र फेरि पनि लड्ने संकेत गरे । ‘म निर्वाचनबाट सभापतिमा जितेको हुँ । समय नहुँदै कसैले गेट आउट भन्दैमा आउट हुने कुरा हुँदैन,’ उनले भने, ‘अब तीन वर्ष अझै मेरो कार्यकाल छ । त्यसमा पनि प्रतिस्पर्धा हुन्छ ।’
कांग्रेस यसअघि एमाले र माओवादी नमिल्दा पनि पराजित हुने गरेको भन्दै देउवाले यसपटक उनीहरू मिल्दा हार्नु स्वाभाविक भएको बताए । अरू कारणले कांग्रेस हारेको होइन उनले भने पहिले पनि कम्युनिस्टहरू नमिल्दा पनि कांग्रेसले निर्वाचन हार्ने गथ्र्यो ।
यसपटक उनीहरू मिल्दा निर्वाचन हारिएको हो । निर्वाचनमा भोग्नुपरेको पराजयलाई रचनात्मक ढंगले स्वीकार्दै अब पार्टीको सुदृढीकरण र नवनिर्माण गर्ने गरी अघि बढ्नुपर्ने बताए ।
देउवाले सरकारलाई निरंकुश र अधिनायकवादी बन्नबाट रोक्न सिंगो कांग्रेस एक हुनुपर्ने बताए । स्वतन्त्र प्रेस लोकतन्त्रको अर्काे पर्याय भएको भन्दै उनले प्रेसलाई धम्काउने थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न खोजिए कांग्रेसले कडा प्रतिवाद गर्ने बताए ।
नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरू मिलेका वेला पार्टी एकढिक्का हुनुपर्ने बताए । पार्टीमा एकताको ठोस आधार विधानको दायराभित्र बस्ने न्यायपूर्ण रूपमा निष्पक्ष र पारदर्शी मूल्यांकन गर्दै एकताको भावना देखाउनुपर्छ पौडेलले भने कांग्रेसको सिद्धान्तले जितेको छ ।
सिद्धान्त जित्दा हामी हार्नु भनेको संगठन पक्ष पराजित भएको हो । बारम्बार गर्ने गल्तीलाई ढाकछोप नगरी जानुपर्छ ।
कम्युनिस्टहरूबीच एकता भए पनि उनीहरूको कार्यशैली राम्रो नदेखिएको उनले दाबी गरे । ‘कम्युनिस्टहरू ट्रेड युनियनबाट सरकारमा पुग्ने र पुगेपछि त्यसलाई लात मार्ने गर्छन् । प्रेसलाई यसैगरी प्रयोग गर्न खोज्छन् र लात मार्छन्,’ उनले भने, ‘कांग्रेसजस्तो अवस्थामा पनि सडकमा ओर्लँदै आएको छ ।
‘संविधान कार्यान्वयनको खिलाफमा सिन्डिकेट’
कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता समावेशिता संविधान कार्यान्यवनको खिलाफमा सिन्डिकेट खडा गरेको आरोप लगाए ।
तीन तहको निर्वाचन भए पनि संविधानको कार्यान्वयन नसकिएको उनको भनाइ थियो । लोकतन्त्रको मूल्य– मान्यताअनुसार संविधान कार्यान्वयनको पहल नै नभएको उनले बताए । सरकारले सय दिनको प्रयोग अन्डरलाइन कम्युनिस्ट पार्टीको निर्माणमा खर्च गरेको आरोप उनले लगाए ।
महामन्त्री डा. शशांक कोइरालाले गुटभन्दा माथि उठेर पार्टी चलाउनुपर्ने बताए । उनले कम्युनिस्ट पार्टी मिल्दा किन कांग्रेस एक हुन नसक्ने भन्दै देउवा र पौडेललाई प्रश्न गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल युनियनका अध्यक्ष बद्री सिग्देल नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेल नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल वरिष्ठ पत्रकार हरिहर विरहीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।