• बिर्तामोड, जेठ १४। झापाका मानवअधिकारकर्मी तथा पेसाकर्मीहरुले दलित बालकलाई भद्रपुरस्थित गुरुकुलले भर्ना नलिएको विषय प्रति स्थानीय प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
    गुरुकुलमा भएको घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरीत रहेको निष्कर्षसहित उनीहरुले पीडितलाई न्याय र वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् ।
    झापाको भद्रपुर–६ स्थित श्री कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा इलाम बरबोटे–५ का आठ वर्षीय अनाथ विकास कार्कीढोलीलाई आवासीय भर्ना लिन इन्कार गरिएपछि दलित अधिकारकर्मीहरु आन्दोलित छन् । उक्त घटना र त्यसपछि उत्पन्न परिस्थिति सहज बनाइ आपसी छलफलबाट समस्या समाधानका लागि संवाद समूह झापाको संयोजनमा सोमबार बिर्तामोडमा छलफलमा सहभागीले अब सबैखाले विभेदको अन्त्य झापाबाटै शुरु गर्नुपर्नेमा जोड दिए ।
    गुरुकुलले गरेको उक्त विभेदविरुद्ध झापाका दतिल अधिकारकर्मीले पाँच सय ५१ सदस्य गुरुकुल जातीय विभेद संयुक्त संघर्ष समिति र २१ सदस्यीय सचिवालय बनाएर संघर्ष गरिरहेका छन् । संघर्ष समितिका संयोजक तथा नेपाल उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मग्रान्तीसहित संघर्षरत् पक्षले घटनाबारे अधिकारकर्मीलाई जानकारी गराएका थिए ।
    प्रदेश नं। १ कि प्रदेश सभा सदस्य जसमाया गजमेर, वरिष्ठ अधिवक्ता तथा झापा बारका पूर्व अध्यक्ष टंक उप्रेती, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषद्का सहसंयोजक एवम् मानव अधिकार सञ्जाल झापाका सचिवालय प्रमुख विष्णु खरेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका उपाध्यक्ष राम मैनालीले ती बालकलाई गुरुकुलमा भर्ना नलिएको घटना अपराध भएको बताए । उनीहरुले पीडितलाई न्याय र समस्याको दीगो समाधान संवादबाटै सम्भव भएकोमा जोड दिए ।
    संवाद समूहमा भएको छलफलमा पाँच बुँदे साझा धारणा तथा निष्कर्ष समेत तय गरिएको छ । जसमा संघर्षरत् पक्षले आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउने, सरोकारवालाहरुबीच संवाद र छलफलबाटै समस्याको उचित निकास खोज्ने, उक्त घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै पीडितलाई न्याय र झापामा विभेदमुक्त समाज निर्माणको अभियानमा अग्रसर हुने प्रतिबद्धता जनाइएको छ ।
    त्यस्तै नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका मौलिक र कानूनी हकको कार्यान्वयन गर्न नेपाल सरकार लगायत सरोकारवालाको ध्यानाकर्षण गराउने, घटनाको शीघ्र अनुसन्धान गरी पीडितलाई न्यायका लागि उचित कानूनी प्रक्रिया अगाडि बढाउन स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराउने छलफलले निष्कर्ष निकालेको छ ।
    अधिकारकर्मी तथा पेसाकर्मीहरुले संविधानतः नेपालमा जातीय र अन्य सबै विभेद अन्त्य भए पनि व्यवहारमा त्यो नदेखिएकाले उक्त घटनाको पृष्ठभूमिमा अब व्यवहारमै सबै विभेद अन्त्य गरी सामाजिक रुपान्तरणको अभियानमा अग्रसर हुन आह्वान गरेका छन् । दलित अधिकारकर्मीहरुले सबै गुरुकुलमा बिना भेदभाव दलित विद्यार्थीले पढ्न पाउनुपर्ने आवाज उठाएका छन् । उनीहरुले आफ्नो संघर्षलाई शान्तिपूर्ण रुपमा अघि बढाउँदै सामाजिक सद्भावको पक्षमा रहेको समेत प्रतिबद्धता जनाएका छन् । दलितको घरमा ब्राह्मण जातिका पुरोहितले कर्मकाण्ड गर्न नमान्ने भएकाले आफ्नै समुदायबाट पुरोहित तयार गर्न गुरुकुलमा पठनपाठनको अनुकूल वातावरण बनाइनुपर्ने उनीहरुको भनाइ छ ।
    छलफलमा दलित आयोगका पूर्व सदस्य टेकबहादुर सशांकर, नेपाल दलित संघका केन्द्रिय सदस्य हस्त परियार, मुक्ति समाज नेपालका जिल्ला अध्यक्ष भोला परियार तथा संघर्ष समितिका सहसंयोजक रञ्जित परियार, सचिव छविलाल विश्वकर्मा, सदस्यहरु सूर्यबहादुर विक, वीरबहादुर दर्नाल, गोपाल लकान्द्री, निता घतानी, हर्कमाया विक, हरि नेपाली, दलित बालकलाई इलामबाट भर्नाका लागि गुरुकुलमा पुर्याउने तुलसी भट्टराई लगायतले आफ्ना धारणा राखेका थिए । छलफलको सहजीकरण संवाद समूह सचिवालयका सहजकर्ताद्वय पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…