रुकमणि सिग्देल तिम्सिना ।
नेतृत्व सर्वब्यापि कुरा हो । समुहको न्यायिक अगुवाई नै नेतृत्व हो । हरेक परिस्थिती र प्रकियाका साथ नेतृत्व चयन हुन्छ , घरमा घरमुली, मन्दिरमा पुजारी, गोठमा गोठालो सबै नेतृत्व । मान फरक, नाम फरक, सम्मान फरक त्यो नै नेतृत्वको निर्धारक । स्टेफिन भन्छन ‘नेतृत्व जन्मजात गुण पनि हो ।’ नेतामा हुनुपर्ने विषेशणको तत्व नै नेतृत्व हो । देशमा राजनैतिक नेतृत्व चयनको माहौल पनि रहेको बेला नेतृत्वका बारे चिन्तन प्रश्तुत गर्ने अभिलाषा पलाएको छ ।
दार्शनिकहरुले नेतृत्व निर्मित तत्व हो की जन्मसिद्ध गुण हो भन्ने विषयमा फरक फरक चिन्तनहरु प्रश्तुत गरेका छन् । नेतृत्व प्रजातान्त्रिक हुनुपर्छ कि निरंकुश भन्ने विषयमा पनि बहसहरु छन् । वास्तवमा नेतृत्व के हो , नेतृत्व ब्यक्ति नभई ब्यक्तिको ब्यवहारको प्रभावको प्रतिफल हो । वाणी , कोमलता र स्नेहवाट पैदा हुने शक्ति हो जसमा धैर्यता र महानता हुन्छ , जसले सम्पूर्ण आश्रीतहरुलाई सम्मोहन पे्रदान गर्दछ । ब्यक्तित्व यद्यपि निर्मित संस्कारको अलाभा बढी जन्मजात तत्व नै हो । तसर्थ आत्माज्ञान नेतृत्वको अहम् गुण हो । आत्मज्ञान नभएको कुटिल मान्छे पदमा बस्दैमा नेतृत्व हुँदैन ।
दोषहरु सबैमा हुन्छन् । गुणमात्र भएको मान्छे संसारमै हुन्न । तर गुणले दोषलाई जित्न नसक्ने मान्छे नेतृत्व हुन सक्दैन । एकोहोरो, मुर्ख, प्राविधिक, र नियम मात्र ठूलो भन्ने मान्छे कसरी नेतृत्व हुन सक्दछ ?अहिलेको जमानामा नियम र सिस्टममा काम त रोवोर्टले पनि गर्दछ भने त्यहि गर्न मान्छेलाई किन नेतृत्वमा राख्नु कम्तीमा रोवोर्टले मान्छेकै चित्त त दुख्दैन ! मानव भएर मानवको अस्तित्व र भावना बुझेर जसले काम गर्न सक्दैन त्यो कदापि नेतृत्व हुन सक्दैन । भावना, विवेक र सदाचार नभएको मानिस त सिस्टममा मात्र चल्ने निर्जिव मेशीन जस्तो हुन्छ । कुटीलता र मुख्र्याइँ मात्र भएको नेतृत्व पशु समान हो । जो खतरनाक परजिव जस्तै हो । खतरनाक जिवले त बरु आफूलाई असर पर्ने काम कसैले गरेमा मात्र उसलाई हानी पुर्याउँदछन् तर खराब नेतृत्वले बिना कारण अरुलाई हानी पुर्याउने कथित कार्य गर्दछ । अरुलाई कसरी दबाउन सकिन्छ,कमजोरी के छ मा नै तल्लिन रहन्छ । जब कि असल नेतृत्वको कार्य गल्ती सच्याउने अवसर दिएर महान बन्नु हो । आफ्ना सहयात्री हरु प्रति बैरभाव र दबदबा जो नेतृत्वले राख्दछ ऊ आफ्ना लागि आपैं खाल्डो खनिरहेको हुन्छ जुन कुरा ऊ आफू महसुस गर्न सक्दैन ।
संसारमा प्रेम, सद्भाव र स्नेहले जित्न सक्ने विश्वासको उचाइ र गर्न सकिने असल ब्यवस्थापन धम्की,दबाव,निर्देशन र नियमले हुन सक्दैन । निर्देशन त नियम बमोजिम बदलिन्छ आफैं किनकी नियम आफैं अकाट्य कुरा होइन त्यो आवश्यकता बमोजिम संसोधन गर्न सकिन्छ । तर प्रेमले जितिसकेको संसारलाई संसोधनले फरक पार्दैन । भौतिक नियमहरु जे सुकै भएता पनि नेतृत्वले भने प्राकृतिक नियमहरुमा बढी जोड दिनु उपयुक्त हुन्छ । प्रशाशनको प्राकृतिक नियम विश्वास, मेलमीलाप , सद्भाव, प्रेम र जवाफदेहिता नै हो । जसले कुटीलता, मुख्र्यार्इं प्राविधिकता, र नियमवद्धताको कुरालाई अनगिन्ती हिसाबले जितिदिन्छ ।
स्वार्थि नेतृत्वले सदा आफ्ना भरौटेको आश गर्दछ । एक अर्कामा विवाद गराउने चुक्ली । रच्दछ । आफू कसरी सुरक्षित रहन्छु भनि ध्यान केन्द्रित गर्दछ । मेलमीलाप र विश्वास जगाउने काम गर्दैन । अरुमा हिनतावोध गराउन पाए आफूलाई फाइदा हुने सोच्दछ । तत्कालिन फाइदा हेर्दछ दीर्घकालीन हेर्दैन । निराशालाई झन चुल्याइदिन्छ आशामा परिणत गर्न खोज्दैन । समाजलाई र सहकर्मीलाई बिरोधी सोच्छ र डरमा वशमा राखीरहने सोच्दछ । संसारमा सबै चिज नश्वर छन् ऊ त्यो बिर्सन्छ र आफू दीर्घ रहिरहने सोच्दछ ।
असल नेतृत्व सरल र सहासीक हुन्छ । भाषामा मीठास हुन्छ । आत्मविश्वासी र आत्मकेन्द्रित हुन्छ । आँखामा सत्यता हुन्छ । मनमा दया र इमानदारीता हुन्छ । समाजमा उसको इज्जत, मान सम्मान हुन्छ । ऊ समाजसेवी पनि हुन्छ । समाजदेखि ऊ र ऊदेखि समाज नतमस्तक हुन्छ । गौरबले ऊ प्रति शीर झुकाउनेहरु आफैं बढेर जान्छन् । उसको साथमा न्याय, स्वतन्त्रता,र दया तथा सम्मानको भावना रहिरहन्छ ।
कत्ति फरक छ यी दुई नेतृत्वमा, तपाईं हामी कुन नेतृत्व रुचाउँदछौं ? प्राविधिक र तत्कालिक कि प्राकृतिक, विधिसंगत र दीर्घकालीन ?निरंकुश की प्रजातान्त्रिक ? कुटील की विवेकी ?न्यायीक कि गैरन्यायीक? निर्दोष कि क्रुर ? अनि कस्तो नेतृत्व स्वीकार गर्नुहुन्छ ?वौद्धिक कि नियमवादी , ब्यवहारीक कि ब्यापारिक, सम्मानित कि अपमानित, पुजित कि आलोचित,घमण्डी कि साहसिक, सम्मान गर्ने कि अपमान, अनि खोजौं त उत्तर हामी सबै स्वतन्त्रात्मक नेतृत्व नै चाहान्छौं नि होइन । नेतृत्व वाणी र ब्यवहारीक कौशलतामा झल्किने कुरा हो । नियम र अनुशासनको पालनामा मात्र होइन । नियमहरु नै शंसोधनका लागि हुन भने नियम पालना मात्रै सर्वोपरि हो र ? विवेकको पालना चाहिं सर्वोपरि हो नि । कुटीलता र केवल अनुशाशनको बलले दाबेको नेतृत्वको अन्तिम गन्तब्य पतन नै हो ।
जुन नेतृत्वले गुरु, अग्रज, बालक, नारी र अभिभावकको सम्मान गर्न सक्दैन त्यसले समाज जित्न सक्दैन । नेतृत्वले नियमको पालना गरेको छु मात्र होइन छातीमा हात राखेर आफ्ना अग्रज,सहयोगि,र सहकर्मीहरुलाई सक्दो न्याय गरेको छु भनि लामो सास फेर्न सक्नु पर्दछ । आफू भित्र उकुसमुकुस भई बाहिर ढोंङ्क देखाउनु ठीक होइन । न्याय गरेर मनमा शान्ती लिने सक्नु महानता हो । भोलिका दिनमा जिवनभर सम्मान पाउने हो कि गाली त्यो उसको आफ्नै हातको कुरो हो । दया, माया, त्याग,दान, शान्ती यी सब नेतृत्वका लक्ष्य हुनुपर्दछ । दुष्ट्यार्इँ, मुख्र्यार्इँ,धुत्र्याईं, दम्म, अभाव,दवाव,अशान्ती र भिखारीपना नेतृत्वका शत्रु हुन । यी जन्जालहरुबाट घेरीएको मानिस राजगद्यीमा नै भएपनि छिटै झर्नु पर्दछ । यिनले दिएको आशन इन्दै्रको सिंहासन भएपनि सत्यवादी र स्वाभिमानि लाई मन पर्दैन ।
अरुको वाध्यता आवश्यकता र भावनालाई कमजोरी सम्झेर जसले दम्मको नेतृत्व गर्दछ त्यसको परिणाम ध्वस्तता हो । त्यस्तालाई नेतृत्व मान्नु मुसालाई सिंह बनाउनु जस्तै हो । डर र इज्जत नभएको मानिसलाई नेतृत्व दिनु नाश र अपराध निम्त्याउनु हो । त्यस्तो तत्वको ब्यवस्थापन गरिहाल्नु जरुरी हुन्छ ।
नेतृत्वले अनुयायीहरुले मेरो पक्षमा वकालत गर्छ कि गर्दैन भनि नियाल्दैन । पक्षपाती ब्यवहार गर्दैन । बरु सबैलाई सम्मान र स्वागत गरेर विरोधीलाई समेत बिस्तारै आफूतिर आकर्षित गर्दछ । सानो सहयोग र कार्यको पनि ठूलो प्रशंशा गर्दछ । बदलामा कुटील नेतृत्व अविश्वासी र निर्दयी बन्दछ ।
महात्मा गान्धी,नेलशन मण्डेला आदि आफ्ना पछि को लाग्ला भनि नेता बन्न नेतृत्व गरेका होइनन् । न कसैलाई चाकडी गराउन वा दवावमा राख्न । केवल प्रेम र सत्यताका लागि नेतृत्व गरेका हुन् । हाम्रा चार शहिदहरु पनि आफू मरेपछि कतै शालीक बन्ला र माला लगाइदेलान भनि शहिद बनेका होइनन् । तसर्थ नेतृत्वमा त्याग समर्पण, समर्थनको र सम्मोहनको गुण हुनुपर्दछ । त्यसैले नेतृत्व पद मात्र होइन, प्रशाशन वा शासन होइन, नियमन मात्र होइन, भावनाको नेतृत्व नै वास्तविक नेतृत्व हो । समूहको नेतृत्व जो कोहिले गर्न सक्दछ,भावनाको नेतृत्व कमैले मात्र गर्न सक्दछ ।
असल नेतृत्वले पहिले आफूले केहि दिएर मात्र लिन खोज्दछ पहिले लिने र पछि दिने काम त आम मानिसको हो । यो सिकेर मात्र गर्ने काम होइन आफैंभित्र प्रादुर्भाव भएको आत्मज्ञानलाई अनुकुल किसीमले संचालन गर्न सक्ने क्षमता हो । जब सहयात्रीहरुको भावनाको सम्मान हुन थाल्दछ तव नियम र सिस्टमहरु आफैं विकसित हुन्छन् । आफैं लागु हुन थाल्दछन् । जबरजस्ती लागु गरिरहनु पर्दैन । जबरजस्ती लादेर म ठूलो हूँ भन्दैमा नेतृत्व भइन्न ।
तसर्थ नेतृत्व हुने परिपक्वता नभइकन छलले अगि बढ्नु आफ्नै लागि घातक सिद्ध हुन्छ । विश्वास, सम्मान, स्वीकार, सहयोग, सद्भाव, सत्चरित्र,मृदुभाषि,विवेकशीलता,भावनात्मक सम्बन्ध आदि नेतृत्वका उच्च कोटिका गुण हुन भने संचार समन्वय, योजना, ब्यवस्थापन, संगठन, नियन्त्रण, निर्णय, प्रतिवेदन आदि नेतृत्वका कार्यहरु र शीपहरु हुन् । कार्य मात्र गरेर कर्तब्य पुरा हुँदैन । कर्तब्य पूर्र्ण हुन गुण आवश्यक पर्दछ । अझ योग्यता र नियमवादी सोच पछिल्ला समयमा प्राइभेटाइजेशनका आयामहरु मात्र हुन् । अहिले संसारमा टिकाउ र मान्य नेतृत्व प्रजातान्त्रिक नेतृत्व नै हो । कुटिल, निर्विवेकी,र प्राविधिक भन्दा ब्यवहारिक स्वतन्त्र र विवेकी नेतृत्व नै दीर्घ नेतृत्व हो । प्राकृतिक रुपबाट हेर्दा नेतृत्व पहिले प्रशासक, ब्यस्थापक अनि मान्छे नभई पहिले मान्छे अनि ब्यवस्थापक वा प्रशासक हुनुपर्दछ ।
भगवान कृष्ण , राम ,बुद्ध यस्ता नेतृत्वका उदाहरण हुन । हामी जेसिज पनि एउटा नेतृत्वदायी संस्थामा छौं । नेतृत्वका गुण बिष्ोषता, कार्य ,शीप , कर्तब्य,जवाफदेहिता जस्ता कुरा अहम रहन्छन ।हामीले ब्यक्तिगत स्वार्थ भन्दा सामाजिक स्वार्थलाई ध्यान दिनुपर्दछ । संस्थाको बिकासका लागि सदस्यको सम्मान र विकास तथा उत्प्रेरणा जरुरी रहन्छ । सदस्य र सरोकारवालाहरुमा उदासिनता देखिन नदिई अगाडी बढ्नु चुनौतीपूर्ण कुरा रहन्छ । राजनीतिलाई गलत तरिकाले प्रयोग गरि संस्था धमिल्याउने खेलहरुको भन्दा काम गरी विश्वास जितेर आउने नेतृत्वलाई संस्थाको पदभार सुम्पिने संस्कार र असल तथा क्ष्ेमतावान नेतृत्व श्क्तिको विकास हुनु आवश्यक छ । जेसिजलाई संग्लो वा धमिलो जे बनाउने त्यो अन्तिम जस नेतृत्व तहमै रहन्छ । त्यसैले निर्मित, कृतिम, र धरासायी नेतृत्व नभै प्राकृतिक,असल र गतिशील नेतृत्वको चयनमा हामी सब सजक रहनु पर्दछ । हरेक समय चुनौतीलाई स्वीकार गर्न सक्ने नेतृत्व बन्नु र खडा गर्नु सबै क्षेत्रको सरोकार हो ।
सिस्नो र दुबो झाङ्गिन त दुबै झाङ्गिन्छन् तर तिनीहरुको मूल्य फरक छ । नेतृत्व बुझाउने बुझ्नेले यो मनन गर्नु उचित छ ।
(लेखक भकुण्डेबसी जेसीज काभ्रेकी वर्ष २०१८ कि अध्यक्ष हुन् )
प्रतिक्रियाको लागि
[email protected]