काठमाडौं। संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली बिहीबार बिहान टुंगो लगाउने भएको छ। बुधबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीहरुको नामावली बिहीबार बिहानसम्म टुंगो लगाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो।
अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा पार्टीबाट २ जना मन्त्री सरकारमा सामेल हुनेछन्। पार्टी संसदीय दलको बैठकमा यसबारे छलफल भएपनि कसलाई पठाउने भन्ने विषयमा टुंंगो लगाउन बिहीबार विहान ८ बजे पार्टी केन्द्रीय कार्य सम्पादन समिति र ससदीय दलको संयुक्त बैठक बोलाइएको छ। सोही बैठकले मन्त्री बन्नेहरुको नामावली तय गरी प्रधानमन्त्री ओलीलाई बुझाउने निर्णय गरिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
संसदीय दल बैठकले सोमबार नेपाल कम्युनिष्ट पार्टीसँग सरकारमा सामेल हुनगरी गरिएको २ बुँदे सहमतिलाई अनुमोदन पनि गरेको छ। सरकारमा सहभागी हुने गरी गरिएको दुई पार्टीबीचको सहमति पनि अनुमोदन गरिएको अध्यक्ष यादवले बताए।
बैठकले बजेट निर्माणमा सहभागी नभएको हुनाले यसमा सन्तुष्ट हुने ठाउँ नरहेको जनाएको छ। अध्यक्ष यादवले बजेटको विषयमा संसदमा आवश्यक सुझाव दिने निर्णय गरिएको अध्यक्ष यादवले बताए।