उर्लाबारी, १६ जेठ । उर्लाबारी नगरपालिकाले आज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रबहादुर थापालाई बिदाई गरेको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी थापालाई बिदाई गरेको हो । कार्यक्रममा प्रहरी निरीक्षक थापालाई सम्मानपत्र समेत प्रदान गरिएको थियो । नगर प्रमुख खड्ग फागोले प्रहरी निरीक्षक थापालाई नगरपालिकाको तर्फबाट सम्मानपत्र प्रदान गर्नुभयो । नगर प्रमुख फागोले प्रहरी निरीक्षक थापाको व्यावसायीक दक्षताको मुल्याङ्कनस्वरुप सम्मान गर्दैै बिदाई गरिएको बताउनुभयो । नगर प्रमुख फागोले प्रहरी निरीक्षक थापाले उर्लाबारीको शान्ति सुरक्षामा पुर्याएको योगदान प्रशंसनीय भएको बताउँदै अपराध नियन्त्रणमा प्रहरी निरीक्षक थापाले देखाएको कार्यकुशलताको चर्चा समेत गर्नुभयो ।
फागोले निश्पक्ष र विवादरहित ढङ्गले नगरवासीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी निरीक्षक थापा सफल भएको विचार व्यक्त गर्नुभयो । प्रहरी निरीक्षक थापाले यस किसिमको सम्मानपूर्वक विदाईले आफ्नो कार्यदक्षता र कार्य सम्पादनमा प्रेरणादायी भूमिका खेलेको बताउनुभयो । प्रहरीले मात्र समाजमा शान्ति सुव्यवस्था कायम राख्न नसक्ने भएकाले यस कार्यमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहने उँहाले बताउनुभयो ।
यसैबीच न्यानो अभियान नेपालले पनि प्रहरी निरीक्षक थापाको बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सो संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रहरी निरीक्षक थापाको बिदाई कार्यक्रम सम्पन्न गरेको हो । न्यानो अभियान नेपालका अध्यक्ष पुर्ण सिङ्गक लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी जयधर्म आचार्यले प्रहरी निरीक्षक थापाको कार्य सम्पादनको प्रशंसा गर्नुभयो । थापाको केहीदिनअघि काठमाण्डौको गौशालास्थित महानगरीय प्रहरी कार्यालयमा सरुवा भएको थियो । थापाको सट्टामा विराटनगरको रानीबाट प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना आउने भएका छन् ।