उर्लाबारी, १६ जेठ ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले खेतीयोग्य जमिनमा हुने जग्गा प्लटिङलाई नियन्त्रण गर्ने बताएउनुभएको छ । जताभावी हुने जग्गा प्लटिङका कारण कृषि उत्पादनमा ह्रास आएको भन्दै फागोले त्यसलाई नियन्त्रण गर्ने बताउनुभएको हो ।
मोरङको उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिरमा सञ्चालित तीन दिने खाद्य प्रविधि तालिम समापन कार्यक्रममा मंगलबार बोल्दै नगर प्रमु्ख फागोले सो कुरा बताउनुभएको हो । उब्जाउयुक्त भूमिलाई खण्डिकरण हुनबाट जोगाउन नेपाल सरकारले चालेका कदम स्वागतयोग्य भएको बताउँदै फागोले कृषि उत्पादनमा असर पार्ने किसिमका गतिविधि माथि नगरपालिकाले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरवासीको जीवनस्तर उकास्न कृषिको आधुनिकरण र व्यावसायीकरणका लागि नगरपालिकाले आगामी बर्षको बजेट मार्फत् कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । त्यसबाहेक शिक्षा र स्वास्थ्यको सन्दर्भमा समेत प्रभावकारिता ल्याउन आगामी बर्षको बजेट मार्फत् सम्बोधन गरिने उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा उर्लाबारी–७ का वडाध्यक्ष बीरबल थापाले नगर क्षेत्रमा वसोवास गर्ने महिलाको दक्षता अभिबृद्धिका लागि खाद्य प्रविधि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उर्लाबारी नगरपालिकाद्वारा सञ्चालित सो तालिममा अचार, आलु चिप्स र सस बनाउन सिकाइएको थियो । तालिममा नगरभित्रका ६२ जना महिलाको सहभागिता रहेको नगरपालिकाका कर्मचारी लाक्पा शेर्पाले जानकारी दिनुभयो । तालिममा खाद्य प्रशिक्षक रञ्जना निरौलाले सहजीकरण गरेकी थिइन् । तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।