सुर्खेत । सुर्खेत महिला जेसीजले बुधवार जेष्ठ नागरिकहरुसँग खुसी साटासाट गरेको छ । सुर्खेत महिला जेसीजको जेसीज सप्ताह अन्तरगत पाँचौ दिन जेष्ठ नागरिक दिवा स्याहार केन्द्रका बृद्ध बुबा आमाहरुसँग सुर्खेत महिला जेसीजले खुसी साटासाट गरेको हो । जेसीजले यहाँ रहेको ५० जना बृद्धबृद्धाहरुलाई फलफुल वितरण तथा दिउँसो खाजाको व्यवस्था गरेको थियो । साथै उनीहरुलाई जुसको पनि व्यवस्था गरिएको जेसी लक्ष्मी कार्कीले बताइन् । फलफुल, खाजा तथा जुसको संयोजन महासचिव सिया कार्की प्रधान, कार्यकारी उपाध्यक्ष सुमित्रा गौतम, लक्ष्मी कार्की र निसिता आचार्यले गरेका थिए ।
जेष्ठ नागरिकहरुले पनि सामाजिक क्षेत्रमा क्रियाशील जेसीजका सदस्यहरु दिनभर भलाकुसारी गरेपछि खुसी व्यक्त गरेका थिए । जेष्ठ नागरिकहरुले सामाजिक माया र सम्मान पाउने हो भने अझ बाँच्ने आत्माबल बढ्ने प्रतिक्रिया दिए ।
शाखा अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शाखाकी पूर्व अध्यक्ष ज्योति पौडेल र विशेष अतिथि वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष हरिहर बस्नेतले बृद्ध बुबा आमाको सम्मान र माया गर्न सके भगवानको पुजा गर्न मन्दिर जान नपर्ने बताएका थिए । उनीहरुले बृद्ध बुबा आमाको सम्मान गर्नु र सामाजिक क्षेत्रमा क्रियाशील रहनु जेसीजको जिम्मेवारी र कर्तव्य रहेको बताए ।
जेसीजकी मूल कार्यक्रम संयोजक सुमित्रा गौतमले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव सिया कार्की प्रधानले गरेकी थिइन् । कार्यक्रममा सहभागिलाई आजको कार्यक्रमकी संयोजक निसिता आचार्यले सबैलाई धन्यवाद दिँदै अध्यक्षको अनुमतिले कार्यक्रम सम्पन्न गरेकी थिइन् ।