काठमाडौं : ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ। अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ।
गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको हो।
धनुषा, कालिकोट, जाजरकाट, डोल्पा, हुम्लासहित सात जिल्लाबाट भने मन्त्रालयमा नाम आउन बाँकी छ। अहिलेसम्म सम्झौताअनुसार काम सम्पन्न नगर्ने ठेकेदार र उनीहरुका कम्पनीहरुको नामसहितको रिपोर्ट ७० जिल्लाबाट मन्त्रालयमा आइसकेको खबर नागरिक दैनिकमा छ।
प्राप्त रिपोर्टमाथि विश्लेषण गर्दैछौं’ मन्त्रालयका उपसचिव एकदेव अधिकारीले भने। काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी ठेकेदार र कम्पनीहरुको नाम संकलन भएको छ।