काठमाडौं। पाकिस्तानका विष्फोटक अलराउण्डर शाहिद आफ्रिदीको कप्तानीमा आज नेपाली युवा बलर सन्दिप लामिछाने टि–२० इन्टरनेशनल डेब्यू गर्दैछन् । आइसीसी वल्र्ड ११ र वेष्ट इण्डिजबीच हुने च्यारिटी खेलमार्फत सन्दिप टि–२० अन्तर्राष्ट्रिय डेब्यू गर्न लागेका हुन् । सन्दिप नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुँदाहुँदै पनि उनले अहिलेसम्म टि–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका छैनन् ।
नेपालले यसअघि २०१४ मा टि–२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो तर त्यतिबेला सन्दिप नेपाली राष्ट्रिय टिममा थिएनन् । सन्दिप नेपाली राष्ट्रिय टोलीमा आउँदा नेपालले टि–२० अन्तर्राष्ट्रिय मान्यता गुमाइसकेको थियो । अहिले भने नेपालले वन डे अन्तर्राष्ट्रिय मान्यतासँगै टि–२० अन्तर्राष्ट्रिय मान्यता पाएको छ । आइसीसीले आज हुने च्यारिटी खेललाई टि–२० अन्तर्राष्ट्रियको मान्यता दिएको हुँदा सन्दिपको आजको खेल टि–२० अन्तर्राष्ट्रियको डेब्यू खेल हुनेछ ।
सन्दिप वल्र्ड ११ टिममा छन् । यो टिमका कप्तान पाकिस्तानी विष्फोटक अलराउण्डर ‘बुम बुम आफ्रिदी’ अर्थात शाहिद आफ्रिदी हुन् । टिममा आफ्रिदी र सन्दिपसँगै इङल्याण्डका साम बिलिङ्स, भारतका दिनेश कार्तिक, न्यूजिल्याण्डका मिचेल म्याकलेङ्घेन, भारतका मोहम्मद शमी, श्रीलंकाका थिसारा परेरा, इङल्याण्डका आदिल रशिद, अफगानिस्तानका राशिद खान, न्यूजिल्याण्डका लुक रोन्ची, पाकिस्तानका शोएब मलिक र बंगलादेशका तमिम इकबाल छन् ।
वल्र्ड ११विरुद्ध वेष्ट इण्डिज कार्लोस ब्रेथवेटको कप्तानीमा उत्रिनेछ । वेष्ट इण्डिजको टिममा कप्तान ब्रेथवेटसँगै सामुएल बद्री, रायात इमरिट, आन्द्रे फ्लेचर, क्रिस गेल, एविन लेविस, एसले नर्स, किमो पल, रोभमान पावेल, दिनेश रामदिन, आन्द्रे रसेल, मार्लोन सामुएल्स र केसरिक विलियम्स छन् ।
खेल इङल्याण्डको लर्डस मैदानमा नेपाली समयअनुसार आज राती सवा १० बजे सुरु हुनेछ । नेपालमा खेलको लाइभ प्रसारण भारतीय च्यालन सोनी सिक्स र सोनी सिक्स एचडीमा हेर्न सकिनेछ । यसबाहेक सोनीको अफिसिएल वेब प्रसारक सोनीलिभ डटकम र सोनीलिभ एपमा पनि खेलको लाइभ अपडेट हेर्न पाइनेछ ।