भीमराज अधिकारी, पथरी
१७ जेठ, २०७५
मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामाजिक सुरक्षा भक्ता वितरणमा समस्या देखिएको छ । विषेश गरेर वडा नं. ५ को वढी समस्या रहेको सर्वसाधारण र जनप्रतिनिधिले गुनासो गरेका छन् । बैकिङ् प्रणाली लागू भएपछि झन सजिलो
होला भन्ने आस गरेका सेवाग्राहीले झन दुःख पाउनु परेको चौतर्फि गुनासो बढेको हो । नगर भित्रमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या ५ हजार ५ सयको हाराहारीमा रहेको र अब १० प्रतिसतको मात्रै सामाजिक सुरक्षाको रकम बैँक खातामा पठाउन बाकीँ रहेको सामाजिक सुरक्षा तथा पंजिकरण फाँटका कार्मचारी गोपाल खड्काको भनाइ छ । वडा नं. ५ मा मात्रै जम्मा ५० जनाको बैँक खातामा रकम पठाउन बाँकी रहेको खड्काको भनाइ छ । जसमध्ये २३ जनाको बैँक खाता पनि आइसकेको र बाकीँ रहेका २७ जनाको पनि केही दिनमा नै बैँकले खाता नं. उपलब्ध गराउने र सबै रकम खातामा जम्मा गरिदिने खड्काले बताउनुभयो । फाँटमा कर्मचारी कम भएका कारण पनि समयमा सबै काम गर्न कठिन भएको उँहाले बताउनुभयो । केही व्याक्तिको मृत्यू भइसकेको तर पुष्ठी नभएका कारण पनि काम गर्न कठिन हुने गरेको खड्काले बताउनुभयो ।
धमाधम सेवाग्राहीहरु खातामा रकम नभएको गुनासो लिएर वडामा पुग्ने गरेको वडा नंं. ५ का वडा सदस्य चेतन खड्काले बताउनुभएको छ । खातामा समयमा रकम जम्मा नभएका विषयमा पटक पटक नगरमा जानकारी गराउदा पनि सुनुवाइ नभएको खड्काको भनाइ छ । एन आइ सी एसिया बैँकले समयमा खाता नं. उपलब्ध नगराउने र सेवाग्राहीलाई पनि छिटो सेवा प्रदान नगरेको खड्काको गुनासो छ । वडा नंं. ५ दुरीको हिसाबले नगरकै सबैभन्दा टाडा पर्दछ । पटक पटक बैँकमा धाएको तर सेवा नपाएको गुनासो बढेपछी मिडियाको सहारा लिनुपरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । यो त एउटा उदाहरण मात्र हो नगरका अन्य वडाहरुमा पनि समस्यै समस्या रहेको गुनासाहरु चौतर्फी रुपमा आइरहेका छन् ।