• एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ । ३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता लागेको हो ।

    सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । उनले भने, ‘एनआइसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र त्यसमध्ये झन्डै सात करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको विषयमा सिआइबीले अनुसन्धान ग-यो ।

    यस क्रममा बैंक ह्याक गर्ने समूह लजारुस ग्रुप रहेको खुलेको छ । यो अन्तर्राष्ट्रिय कुख्याती कमाएको ग्रुप हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गरेको खुल्न आएको छ ।’

    ह्याकर समूहले एनआइसीको उक्त रकम ह्याक गरी आठ मुलुकका विभिन्न बैंकमा ट्रान्सफर गरेको थियो । त्यसमध्ये ६ करोड ८० लाख ७१ हजार एक सय ८२ रुपैयाँ भने अझै फिर्ता हुन सकेको छैन । प्रहरीका अनुसार यो रकममध्ये चारवटा अर्डरबाट ह्याकरले ४ करोड ५२ लाख २९ हजार रुपैयाँ लिइसकेको छ । अरू ३९ करोड ७५ लाख ७९ हजार ३ सय ६८ रुपैयाँ भने ‘करेन्सपोन्डेन्ट बैंक रिलेसन’का आधारमा बैंकमै फिर्ता भएको छ ।

    यसरी फिर्ता गर्न सकियो धेरै पैसा
    गत ३ कात्तिक तिहारको बिदाको दिन ह्याक भएको केही घन्टाभित्रै बैंकमा रहेको साढे ४६ करोड रुपैयाँ लन्डन, जर्मन, चीन, हङकङ, टर्की, जापान र अमेरिकाका विभिन्न बैंकमा ट्रान्सफर गरिएको थियो । ट्रान्सफर गरिएको रकम भुक्तानीका लागि ह्याकरले ३९ वटा अर्डर दिइसकेको थियो । त्यसमध्ये ३१ वटा अर्डर भने सफल हुने चरणमा थियो । पछि बैंकले प्रक्रिया नपुगेको भन्दै २३ वटा अर्डर रोकेपछि रकम भुक्तानी हुन सकेन । त्यसबाहेकको ४ वटा अर्डरबाट भने भुक्तानी भएको थियो ।

    १३ वटा खातामा रकम ट्रान्सफर
    बैंक ह्याक गरी लगिएको रकम विभिन्न मुलुकका १३ वटा बैंक खाताबाट रकम झिक्ने प्रयास गरिएको थियो । प्रहरीका अनुसार लन्डनको लोयड्स बैंकस्थित २३ वर्षीय इमिलियानो भिल्लाकसिओ र सोही बैंकमा रहेका २१ वर्षीय अलिक्जा मिकिलेविजको बैंक खातामा रकम ट्रान्सफर गरिएको थियो । त्यस्तै, जर्मनको कमर्ज बैंकस्थित ४४ वर्षीय निल डर्नेल कोच र सोही बैंकस्थित २७ वर्षीय मौरिस जुन फरेल अन्नाको बैंक खातामा पनि ह्याक गरिएको रकम ट्रान्सफर गरिएको थियो ।

    चीनको बैंक अफ कम्युनिकेसनमा चिनियाँ कम्पनी ग्वान्जी जिङ्गुई इलेक्ट्रिक इन्जिनियरिङको बैंक खातामा पनि उक्त रकम ट्रान्सफर गरिएको थियो । त्यस्तै, हङकङको हङसुङ बैंकमा रहेको फेनजिङसिङ इन्डस्ट्रीको बैंक खातमा समेत उक्त रकम ट्रान्सफर गरिएको थियो ।

    प्रहरीका अनुसार टर्कीको एके बैंक, जापानको बैंक अफ टोकियो मित्सुबिसीस्थित दुईवटा खाता, चीनको बैंक अफ इस्ट एसियास्थित दुईवटा खाता, अमेरिकाको बैंक अफ अमेरिका र अमेरिकाकै पिएनसी बैंक पिट्सबर्गमा पनि ह्याकरले उक्त रकम पु-याएका थिए ।

    कस्तो ह्याकर हो ‘लजारुस ग्रुप’ ?
    प्रहरीका अनुसार ‘लजारुस ग्रुप’ अन्तर्राष्ट्रिय ह्याकर समूह हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यो ग्रुपले सन् ०१६ मा बंगलादेशको केन्द्रीय बैंक ह्याक गरी ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा सफलतासाथ ट्रान्सफर गरेको थियो । त्यसमध्ये ८ अर्ब १० लाख रुपैयाँ भुक्तानी लिन ह्याकर ग्रुप सफल भएको थियो । सोही ग्रुपले इक्वेडरको बैंकको डेल अस्ट्रोबाट १ अर्ब २० करोड रुपैयाँ, भियतनामस्थित तेइफोङ बैंकबाट १० करोड रुपैयाँ र ताइवानस्थित इस्ट इन्टरनेसनल बैंकबाट ६ अर्ब रुपैयाँ लैजान सफल भएको थियो ।

    ह्याक गरी बैंकलाई अर्बौँ रुपैयाँ क्षति पु-याउने ‘लजारुस ग्रुप’का कुनै पनि सदस्य अहिलेसम्म पक्राउ भने परेका छैनन् । उनीहरूको पहिचानसमेत हुन सकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…