• चितवन, जेठ २३ गते । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो ।

    यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताउनुभयो । उहाँका अनुसार दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्र गरिएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ । उच्च स्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो ।

    सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । सो सडक खण्डको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले बताउनुभयो ।

    दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो । सो खण्डको प्रगति ९७ दशमलब ५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शत्प्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ ।

    तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२ दशमलब १५ किलोमिटर हो । सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताउनुभयो । सो खण्डको दोस्रो तह ११ दशमलब ८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले बताउनुभयो । मौसम अनुकूल भएमा एक दिनमा दोस्रो र तेस्रो तहको कालोपत्र एक किलोमिटर गर्न सकिने भएकाले लामो समय नलाग्ने उहाँले बताउनुभयो ।

    चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मई १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मई र तेस्रो खण्डको ३० मई २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ दशमलव पाँच प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण समय थप गरिँदै आएको छ । कालोपत्र गर्ने काम सम्पन्न भएसँगै पहिरो झर्ने र गाडी बिग्रिने नभएमा एक घण्टा भित्रमा सो सडक पार गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…