• काठमाडौं, २७ जेठ । आगामी बिहिबार देखि सुरु हुने विश्वकप २०१८ को लागि सबै टोली रसिया आइसकेका छन् । १४ दिनमा ४८ खेल हुने समुह चरणको सबै खेल हेर्ने कमै दर्शक होलान् । तथापी आफुलाई मन पर्ने टोलीको कुनै खेल नछुटाउनेहरुको पनि संख्या प्रशस्तै हुन्छ ।

    आफुलाई मन पर्ने २ वा ३ टोलीको समुह चरणको प्रति टोली ३ खेलको हिसाबले ६–९ खेल बाहेक अरु कुन कुन खेल हेर्ने भन्ने अलमलमा हुनुहुन्छ भने यी निम्नलिखित ५ खेल हेर्नुस् । यी खेल रोमाञ्चक हुनेमा कुनै शंकै छैन ।

    पोर्चुगल भर्सेस स्पेन

    यी २ राष्ट्रको खेल जुनसुकै प्रतियोगितामा भएपनि सधैं हेर्नलायक हुनेगरेको छ । यी दुई युरोपेली मुलुक बिचको खेल यी २ बलिया राष्ट्रहरुबिचको ३७ औं खेल हुनेछ । यो खेलमा दुबै टोलीले शत प्रतिशत शक्ति लगाउनेमा कुनै शंका छैन । नकआउट चरणमा जाने सम्भाव्यता बोकेका यी दुइ टोली बिचको खेलको विजेतालाई त्यसपछिका खेलमा सहज हुनेछ भर्ने हार्ने टोली दबाबमा हुनेछ ।

    यो समुहमा इरान र मोरक्को पनि रहेकोले पहिलो खेल जितेर दुबै टोली मनोबल उच्च पार्न चाहन्छन् । स्पेनी खेल शैलीमा अभ्यस्त पोर्चुगलका स्टार क्रिस्टीयानो रोनाल्डो यो खेलमा सबैको ध्यानको केन्द्र बिन्दु हुनेछन् ।

    यूरो कप २०१६ को विजेता पोर्चुगल र नयाँ अनुहार र व्यवहारमा मैदानमा उत्रिने स्पेन बिचको खेलमा विजयी भइ प्रभुत्व कायम गर्नु पनि एउटा उद्देश्य हुने हुनाले यो खेल छुटाउनु फुटबल समर्थकको हितमा छैन ।

    अर्जेन्टीना भर्सेस आइसल्याण्ड

    अर्जेन्टीनाका स्टार लियोनल मेसीले क्लब फुटबलमा पाउनबाँकी सफलता बिरलै बाँकि होला । तर उनको क्लब फुटबलमा पाएको सफलता राष्ट्रिय स्तरसम्म आउन नसकेको तथ्य जगजाहेर छ । सिनियर स्तरको फुटबलमा अर्जेन्टीनाले मेसीबाट ठुलो उपाधी हालसम्म पाउन सकेको छैन तथा मेसीले विगतमा एक पटक सन्यास घोषणा पनि गरिसकेका छन् ।

    त्यस्तै विश्वकपको दावेदार राष्ट्र भएपनि अर्जेन्टीनाको यो टिम ‘कमप्याक्ट’ छैन ।

    अर्कोतिर विश्व फुटबलमाझ आफुलाई अब्बल राष्ट्र प्रमाणित गर्ने ‘रेस’ मा रहेको आइसल्याण्डले यूरो २०१६ मा क्वार्टरफाइनल सम्मको यात्रा तय गर्दा धेरैले काकताली परेको अनुमान गरेका थिए । ३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्डले अर्जेन्टीनालाई हराउन सकेमा उनिहरुप्रति अविश्वास गर्नेहरुलाई ठुलो झापड मिल्नेछ ।

    आइसल्याण्डले अर्जेन्टीनालाई हराउन सक्दैन भन्ने सोचाइ हुनेहरुले आइसल्याण्डले यूरो २०१६ को नकआउटमा इंग्ल्याण्डलाई हराएको तथा क्रोयशिया र टर्कीलाई विश्वकप छनौटमा हराएको इतिहास पल्टाए पुग्छ ।

    यस्ता बलिया राष्ट्रलाई बलियो खेल देखाएर हराउने आइसल्याण्डले अर्जेन्टीनालाई हराउने क्षमता राख्छ । बिना दबाब खेल्ने आइसल्याण्ड र दबाबमा रहेको अर्जेन्टीना बिचको खेल यो विश्वकपको हेर्नै पर्ने खेल मध्येमा पर्छ ।

    जर्मनी भर्सेस मेक्सिको

    हाल उत्कृष्ट फुटबल खेलिरहेको मेक्सिको र डिफेन्डीङ च्याम्पीयन जर्मनी बिचको खेल छुटाउनै नहुने एक खेल हो । २००२ मा फ्रान्सले, २०१० मा इटालीले र २०१४ मा स्पेनले डिफेन्डीङ च्याम्पीयनको हैसियतमा खेल्दा समुह चरणमा नमिठो हार भोगेको इतिहासलाई बिचार गर्ने हो भने जर्मनीलाई यो संस्करणमा गाह्रो छ ।

    तथापी जर्मनी हाल विश्व बरियताको नम्बर १ टिम हो । हरेक सिजनमा उत्कृष्ट तथा आक्रामक खेल्ने जर्मनीले लरोतरो खेल नदेखाउने कुरामा ढुक्क हुन सकिन्छ ।

    राम्रो फुटबल खेल्दा खेल्दै पनि विश्वकपमा धेरै अगाडि जान नसकिरहेको मेक्सिकोको लागि जर्मनीलाई हराउँदै अघि बढ्ने सुवर्ण अवसर छ । बराबरी मात्र पनि मेक्सिकोलाई अर्को चरणमा पु¥याउन सहयोगी सिद्ध हुनेछ ।

    पोल्याण्ड भर्सेस कोलम्बीया

    विश्व फुटबलमा अलि बढि चर्चित टोलीहरुकै खेलहरु बढि पछ्याउने चलन भएपनि पोल्याण्ड र कोलम्बीया जस्तो बराबर स्तरको टोलीको खेल हेर्नुको मज्जा छुट्टै हुन्छ ।

    क्लब फुटबललाई आकर्षक बनाउन खेलिरहने खेलाडि यी देशहरुमा पनि प्रशस्तै छन् । दुबै टोली यो विश्वकपमा आफ्नो छाप छोड्न आतुर भएकोले पनि यी दुई टिम बिचको प्रतिस्पर्धा छुटाउनु बुद्धिमानी हुँदैन ।

    देशको नामबाट नचिनेपनि पोल्याण्डका रोबर्ट लेवान्डोस्की र कोलम्बीयाको जेम्स रोड्रिगेजको नाम सबैले चिनेको नाम हो । यी दुई विश्व स्तरीय खेलाडिको प्रेरणामा खेल्ने यी दुई टिमको नकआउट पुग्ने सम्भावना यहि खेलले निर्धारण गर्ने हुँदा छरितो शैलीमा खेल्ने यी दुबै टिमले जितको लागि कुनै कसर बाँकि राख्नेछैनन् ।

    रोमाञ्चक प्रतिस्पर्धा हुने सम्भावना बोकेको यो खेल छुटाउनु फुटबल प्रेमीको बुद्धिमानी मान्न सकिंदैन ।

    इंग्ल्याण्ड भर्सेस बेल्जीयम

    ग्रुप जी मा रहेको यी २ टोलीले एक आपसमा समुह चरणको अन्तिम खेल खेल्ने तालिका रहेको छ । ट्युनिसिया र पनामा रहेको यस ग्रुपमा अन्तिम खेल हुनु अघिनै दुबै टोली नकआउट चरणमा पुगेमा यो खेल निरस हुनेछ ।

    यद्यपी अरु टोलीले अप्रत्यासित नतिजा ल्याइ दुबै टोलीको लागि जितको मात्र विकल्प हुने अथवा दुई मध्ये एक टोलीको अर्को चरण यात्राको निर्णायक यो खेल भएमा सम्भवत समुह चरणको सबैभन्दा रोचक खेल बेल्जीयम र इंग्ल्याण्डबिच हुनेछ ।

    इंग्लीश प्रिमियर लिगका चर्चित नाम ह्यारी केन, एडन हाजार्ड, रहिम स्टर्लिङ, केभिन डे ब्रुनी, डेले अल्ली र रोमेलु लुकाकु जस्ता खेलाडि भिड्ने यो खेलको लागि फुटबल प्रेमीहरु प्रतिक्षारत छन् ।

    दुबै टोलीको खेल्ने शैली करिब करिब उस्तै हुनु र दुबै टोली एक अर्कासँग परिचित हुँदा कस्तो रणनिती सहित यो खेल खेल्नेछन् भन्ने उत्सुकताको कारण पनि यो खेल हेर्नै पर्ने खेल हो ।

    विश्वकप फुटबल ४ वर्षमा एक पटक आउने हुँदा हरेक खेलहरु ‘हाइलाइट्स’ मात्र भएपनि हेर्न मज्जा हुन्छ भने चर्को प्रतिस्पर्धा हुने यस्तो खेल प्रत्यक्ष हेर्नुनै अत्याधिक रोमाञ्चक हुन्छ । जुनसुकै टोलीको हारजित भएपनि यो विश्वकपमा प्रतिस्पर्धात्मक फुटबल हेर्न पाउनु दर्शकको लागि एकमात्र उद्देश्य हुने हुँदा यो महाकुम्भमा फुटबल प्रेमीले प्रतिस्पर्धात्मक खेलहरुको मज्जा लिन पाउने कुरामा विश्वस्त हुन सकिन्छ । (एजेन्सीको सहयोगमा)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…