निमकान्त पाण्डे, झापा आन्दोलनको नामबाट चर्चा पाएको ‘वर्गशत्रु सफाया’ आन्दोलनको नेतृत्व गरेका व्यक्तिहरूमध्येका एक शीर्ष व्यक्ति हुन् केपी शर्मा ओली । त्यसैगरी १० वर्षे सशस्त्र युद्धको नायकत्व गरेका शीर्ष व्यक्तित्व हुन् पुष्पकमल दाहाल प्रचण्ड ।
यी दुवै अध्यक्षको रूपमा रहेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइएको छ । नेकपाको राजनीतिक आदर्श के हो भन्ने कुरा यी दुवै अध्यक्षलाई जानकारी नहुने कुरै भएन । झापा आन्दोलन र १० वर्षे जनयुद्धको फ्यूजन बन्न पुगेको यो समीकरणबाट नेपालको परिवर्तन चाहनेहरूले आशा गर्नु स्वाभाविक हो ।
परन्तु गतिविधि भने ठीक विपरीत देखिएका छन् । राजनीतिक आदर्शलाई थाँती राखेर नेकपाले दुई तिहाइ बहुमतको सरकार निर्माण गरिसकेको छ ।
मधेस केन्द्रित राजनीतिमा सक्रिय रहेका उपेन्द्र यादवको नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सरकारमा सामेल गरेर दुई तिहाइ बहुमतको सरकार बनाइएपछि विभिन्न किसिमका शंका पैदा भएका छन् ।
एमाले र माओवादी केन्द्र एकीकृत भइसकेपछि स्वाभाविक रूपमा नेकपाको बहुमतको सरकार बनिसकेको अवस्थामा फोरमलाई समेत सरकारमा सामेल गराएर दुई तिहाइ पु¥याउनुका पछाडि निश्चय पनि केही उद्देश्य छन् भन्ने कुरा शंका मात्र ठहर्ने छैन ।
परिणाम नआएसम्म ठोकुवा गरिहाल्ने अवस्था नभए पनि सरकारको कार्यशैलीलाई विश्लेषण गर्दा राष्ट्रलाई दुर्घटनामा पु¥याउने गम्भीर खालका षड्यन्त्र भइरहेको अनुमान गर्न सकिन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार रहेको बेला देशले महँगीको ठूलो उपहार पाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई सामान्य रूपमा लिन सकिंदैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा सबै वस्तु र सेवाको मूल्य अकासिएको छ ।
सरकारले जनतामाथि गरिरहेको यो खेलवाडले कम्युनिष्ट पार्टीप्रति जनतामा नकारात्मक भावना पैदा गर्ने निश्चित हुन्छ । कम्युनिष्टहरू परिवर्तनप्रेमी हुन्छन्, कम्युनिष्टहरू जनताको पक्षमा काम गर्छन् भन्ने सोचाइमा रहेका नेपाली मतदाताहरूलाई निराश तुल्याउने गरी महँगी वृद्धि गराएको छ ।
वाम सरकारको नामबाट बजेट सार्वजनिक गरिएलगत्तै भएको मूल्यवृद्धि एकातिर छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थपेको मूल्यवृद्धिको भार अर्काेतिर छ । अत्यधिक मूल्यवृद्धिको प्रभाव बजारमा देखा परिसकेको छ ।
यो वस्तुस्थितिप्रति सरकारको उदासिनता आश्चर्यजनक लाग्दो छ । सरकार भनिरहेको समृद्धि ! के महँगीले देशलाई समृद्ध तुल्याउँछ । महँगीले ढाड सेकिएका जनतालाई देशको समृद्धिको अनुभूति कसरी होला ?
नेपाली जनतालाई रेल र पानीजहाजका सपना देखाएर महँगीको भार थोपर्ने सरकारलाई कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भनेर कसरी जनताले विश्वास गर्ने अब ?
एकातिर युवा जनशक्ति विदेशिन बाध्य भइरहेका छन् भने अर्कातिर देशको विकासको पूर्वाधारका रूपमा रहेका नदीहरू छिमेकी देशको कब्जामा पु¥याएर विकासको पूर्वाधारलाई समेत समाप्त गर्ने काम भइरहेको छ ।
यो स्थितिले देशलाई औद्योगिकीकरण गर्ने र निकासी बढाउने भन्ने सम्भावना पनि समाप्त हुँदै गएको अवस्था छ । देशलाई औद्योगिकीकरण गर्न विद्युत् शक्तिको आवश्यकता रहन्छ ।
विद्युत् उत्पादन गर्ने नदीहरू अर्काको स्वामित्वमा हस्तान्तरण गरिसकेपछि उद्योगहरूको स्थापना र देशको विकास कसरी गर्न सकिएला ? यो गम्भीरतातर्पm वाम सरकारले पटक्कै ध्यान दिन सकेको पाइँदैन ।
प्रधानमन्त्री केपी ओलीले नेपाली जनतालाई सुखी बनाउने र नेपाललाई समृद्ध तुल्याउने कुरा पटक–पटक भाषणमा बोल्ने गर्नुभएको छ । बोलेर मात्र हुने भए आजसम्म नेपाल विकसित मुलुकहरूको अग्रस्थानमा भइसक्ने थियो ।
राजाहरूले विकास गर्न चाहेनन्, पञ्चहरूले देशलाई कंगाल बनाए, कांग्रेसले देशमा स्थापित उद्योगहरूसमेत निजीकरण गरेर सिध्यायो । अब नेपालको विकासको लागि कम्युनिष्टको विकल्प छैन भन्ने भावनाका साथ मत दिएर सरकारमा पु¥याइएका कम्युनिष्ट नेताहरूले देशको लागि गर्नुपर्ने के हो भन्ने कुरा नै बुझ्न नसकेको जस्तो महसुस हुन थालेको छ ।
प्रधानमन्त्री केपी ओलीले उखानटुक्का बोल्दै आफ्ना समर्थकहरूबाट थपडी बजाएको पाएपछि के–के न बोलेको छु भन्ने ठानिरहेको देखिन्छ । उखानटुक्काले मात्र देशको विकास भइहाल्ने भए माक्र्सवादको राजनीतिक किन गरिरहनु पथ्र्याे र !
राजनीतिक आदर्शका रूपमा माक्र्सवाद र लेनिनवादलाई अपनाइसकेपछि त्यसअनुरूपको कार्यक्रमहरू पनि तय गर्न सक्नु पर्दछ । दुई तिहाइ बहुमतको सरकार निर्माण भइसकेपछि सरकारले राष्ट्रिय स्वाधीनता र जनताको जनजीविकाका लागि गर्नुपर्ने सबैखालका कामहरू गर्न सक्ने हैसियत बनेको छ ।
यो हैसियतको उपयोग नगरेर उखानटुक्कामा जनतालाई भुलाउने काम गर्नु भनेको जनतामाथिको ठूलो गद्दारी हो । बढ्दो महँगीले वाम सरकार जनताप्रति जिम्मेवार नरहेको स्पष्ट भइरहेको छ ।
झापा आन्दोलनको रक्तपात र १० वर्षे जनयुद्धको रक्तपात केको लागि भएको हो ? राजा, पञ्च र कांग्रेसहरूकै शैलीको शासन गर्नु थियो भने जनतालाई आमूल रूपान्तरणका आश्वासनमा समेटेर रक्तपातपूर्ण संघर्ष किन गरिएको हो ? कमरेड प्रचण्ड र कमरेड केपी ओलीले आत्मसमीक्षा गरेर जनतालाई जवाफ दिनु जरुरी छ ।
राजनीतिक दाउपेच र विदेशी शक्तिको स्वार्थपूर्तिका लागि मात्र राजनीति गरिएको हो भने माक्र्सवाद–लेनिनवादको आवरणमा रहनुको कुनै अर्थ छैन । नेपाली जनतालाई तत्काल साम्यवाद चाहिएको छैन ।
साम्यवादको चाहनामा नेपाली जनतालाई दिग्भ्रमित बनाइएको भए पनि जनता त्यसको आशामा रहेका छैनन् । नेपाली जनतालाई कमसेकम गाँस, बास र कपासको साथै काम गरेर खान पाउने अधिकार आवश्यक छ । यो आवश्यकता पूर्ति गर्न कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेर पनि सकिंदैन भने अरु कसले गर्ने ?
कम्युनिष्ट पार्टीबाट देश र जनताको हितमा काम गर्न सकिंदैन भने अरु कसको आशा गर्ने ? नेपाली जनताका लागि वर्तमान वाम सरकार निकै लामो संघर्षको परिणाम हो । यो सरकारले जनतालाई निराश तुल्याउनु हुँदैन ।
जनतालाई महँगीको उपहार दिएर ‘बिहानीले दिनको संकेत गर्छ’ भन्ने किंवदन्तीलाई सम्झाउने गरी वाम सरकारले देखाएको शासनको सुरुआत निराशाजनक देखिंदै छ । उखानटुक्कालाई बन्द गरेर देशको समृद्धि कसरी हुन्छ ? देशमा महँगी नियन्त्रण कसरी हुन्छ ?
देशमा भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ ? देशलाई औद्योगिकीकरण कसरी गर्न सकिन्छ ? देशका जलसम्पदाको उपयोग देशको हितमा कसरी गर्न सकिन्छ ? देशमा रोजगारी वृद्धि कसरी गर्न सकिन्छ ? देशमा जनतालाई शिक्षाको अवसरबाट वञ्चित हुनु नपर्ने अवस्था कसरी विकसित हुन सक्छ ?
देशमा उपचार नपाएर जनता मर्नु नपर्ने अवस्था कसरी बनाउन सकिन्छ ? देशमा बैंक तथा वित्तीय संस्थाहरूले गरिरहेको सुदखोरी प्रथाको अन्त्य गरी सुलभ तरिकाले न्यून ब्याजनरमा जनतालाई कर्जा कसरी उपलब्ध गराउन सकिन्छ ?
यस्ता लोककल्याणकारी सोचाइ वर्तमान वाम सरकारले बनाउनु जरुरी छ । होइन भने कम्युनिष्ट आवरणबाट मुक्त भएर राजनीतिक गन्तव्य स्पष्ट गरे हुन्छ । जनतालाई झुक्याउन पाइँदैन । आगे नेताजीहरूलाई चेतना भया ! जनधारणाका साथमा ।