• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर वार्ता आज सिंगापुरमा हुँदै छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उपस्थितिमा यी दुई नेताबीच स्थानीय समयअनुसार बिहान ९ बजे भेट हुनेछ । त्यसपछि दुवै नेता वान टु वान वार्ताका लागि बस्नेछन्, जहाँ दोभासेबाहेक अरू कसैलाई पनि प्रवेशका लागि अनुमति दिइएको छैन ।

    वार्तापछि उत्तर कोरियाली प्रतिनिधिमण्डल २ बजेअघि नै प्योङयाङ फर्कने कार्यक्रम छ । ट्रम्प पनि आजै अपराह्न अमेरिका फर्कने कार्यक्रम छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले वार्ताको प्रशंसा गर्दै अमेरिकासँग नयाँ सम्बन्ध सुरु भएको उल्लेख गरेको छ ।

    आइतबार सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृषणले ट्रम्प र किमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनका अनुसार दुवै नेता वार्ता सफल हुनेमा आशावादी छन् ।

    दुवैको आत्मविश्वास उच्च देखिएको बालाकृषणले बताए । उत्तर कोरियाली प्रतिनिधिमण्डल र अमेरिकी राष्ट्रपति ट्रम्प छुट्टाछुट्टै होटेलमा बसेका छन् ।

    तर, होटेलको दूरी नजिक छ ।

    उनीहरूबीच होटेल सेन्टोसामा भेटवार्ता हुनेछ । सिंगापुरको मुख्य टापुबाट केही पर रहेको पर्यटकीय गन्तव्यमा यो होटेल छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै आफू भेटका लागि निकै उत्साहित रहेको बताएका छन् ।

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले परमाणु निशस्त्रीकरण अमेरिकाको पहिलो सर्त रहेको बताए । उनले यसको बदलामा उत्तर कोरियालाई आवश्यक पर्ने सुरक्षा प्रत्याभूति अमेरिकाले उपलब्ध गराउने बताए ।

    उनले उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नगरेसम्म नाकाबन्दी कायमै रहने जनाए । कोरियाली प्रायद्वीपमा झन्डै ६ दशकदेखि जारी द्वन्द्व अन्त्य गर्दै शान्ति स्थापना गर्ने दिशामा यो भेटवार्ता कोसेढुंगा बन्ने अपेक्षा गरिएको हो ।

    प्रचलित मान्यताविपरीत उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अहिले किमको भ्रमणलाई लिएर समाचार बनाइरहेको छ । यसअघि कुनै पनि कार्यक्रम सम्पन्न भइसकेपछि मात्रै सरकारी सञ्चारमाध्यमले त्यस विषयमा जानकारी दिने गरेको थियो ।

    रोडोङ सिनमुन पत्रिकामा प्रकाशित सम्पादकीयमा नयाँ युगका परिवर्तित मागहरूलाई सम्बोधन गर्न नयाँ सम्बन्ध फलदायी हुने उल्लेख छ ।

    सम्पादकीयमा लेखिएको छ कुनै देशको हामीसँग विगतमा तिक्ततापूर्ण सम्बन्ध थियो भने पनि यदि उसले हाम्रो सार्वभौमिकताको सम्मान गर्छ भने हामीले वार्ताबाट समाधान निकाल्नुपर्छ ।’

    दशकौँदेखि उत्तर कोरियाले अमेरिकालाई शत्रु मान्दै आएको छ । राजधानी प्योङयाङमा अमेरिकाविरोधी संग्रहालयहरूसमेत छन् ।

    डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछिका १८ महिना यी दुई देशका प्रमुख नेताबीच उतारचढावपूर्ण सम्बन्ध रह्यो ।

    ट्रम्पले राष्ट्रपति बन्नुअघि नै आफ्नो चुनावी सभाका दौरान किमसँग वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, कार्यकाल सम्हालेको पहिलो वर्ष किमसँग उनको सम्बन्ध निकै चिसो रह्यो । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको बेवास्ता गर्दै लगातार ब्यालेस्टिक क्षेप्यात्र परीक्षण ग-यो ।

    त्यसयता अमेरिकी राष्ट्रपतिको पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्धलाई थप कडा बनायो । यद्यपि, उत्तर कोरियाले आफ्नो परम्परागत सहयोगी तथा छिमेकी चीनबाट सहयोग पाएको थियो ।

    रुष्ट देखिएका ट्रम्पले अमेरिकालाई चेतावनी दिइरहेको खण्डमा उत्तर कोरियालाई नै ध्वस्त बनाइदिने चेतावनी दिए । किमले ट्रम्पलाई ‘मनोरोगी’ र ‘बूढो’ भन्न भ्याए । सन् २०१७ को सेप्टेम्बरमा उत्तर कोरियाले छैटौँपटक आणविक परीक्षण गर्‍यो ।

    त्यसको छोटो समयमै किमले अमेरिकासम्म पुग्न सक्ने मिसाइलहरू आफ्नो देशसँग रहेको भन्दै आणविक शक्तिसम्पन्न राष्ट्र बनाउने आफ्नो मिसन पूरा भएको घोषणा गरे ।

    सन् २०१८ को सुरुवाती समय निकै फरक रह्यो । विन्टर ओलम्पिकलाई अवसरका रूपमा उपयोग गर्दै उत्तर कोरियाले दक्षिण कोरियासँग कूटनीतिक सम्बन्ध सुधार्‍यो ।

    गत मार्चमा शिखर वार्ताका लागि किमले पठाएको निमन्त्रणालाई ट्रम्पले स्विकारेपछि दुई देशबीचको सम्बन्ध नयाँ मोडमा पुगेको हो ।

    परमाणु निशस्त्रीकरण नै यो वार्ताको प्रमुख एजेन्डा हो । अमेरिकाको चाहना उत्तर कोरिया आणविक हतियारविहीन राष्ट्र बनोस् भन्ने हो ।

    तर, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम अन्त्य गरेको खण्डमा त्यसको बदलामा अमेरिकासँग के माग्छ भन्ने विषय स्पष्ट छैन । किमले उत्तर कोरियाको अर्थतन्त्र उकास्न आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

    त्यसैले उनको चाहना अन्तर्राष्ट्रिय लगानी र नाकाबन्दी अन्त्य हो । उनले के समझदारी गर्छन् वा अमेरिकालाई कुनै वाचा गर्न लगाउँछन् भन्ने विषय स्पष्ट छैन ।

    सिंगापुरमा हुने यही भेटले सबै समाधान निकाल्ने अपेक्षा अमेरिकाको छैन । राष्ट्रपति ट्रम्पका अनुसार अहिले अवस्था बुझ्न भेटवार्ता भएको हो र यो प्रक्रिया चल्दै जानेछ ।

    सिंगापुरमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको सवारी भएसँगै विश्वले एकपटक फेरि उनको सुरक्षा व्यवस्थालाई नियाल्ने अवसर पाएको छ । आइबार सिंगापुरमा अवतरण गरेलगत्तै किमको मोटरकाडलाई सुरक्षाकर्मीहरूले दौडँदै स्कर्टिङ गरेका थिए ।

    किमसँग कुद्दै गरेका यी बडीगार्डहरू केन्द्रीय पार्टी कार्यालयसँग जोडिएका व्यक्ति हुन् । उनीहरू कोरियाली जनसेनाबाट छानिएका हुन् । इमानदार र देशभक्तिले ओतप्रोत व्यक्तिहरूलाई यसका लागि चुनिन्छ । यो किमको सुरक्षाको पहिलो घेरा हो र यसको जिम्मा प्रमुख सुरक्षा कार्यालयको हुन्छ । यस्तो तीनवटा सुरक्षा घेराले किम घेरिएका हुन्छन् ।

    रोचक कुरा, पहिलो घेरामा छानिनेहरूको उचाइ किमकै बराबर हुन्छ । आवश्यक धेरै योग्यताहरूमध्ये यो एउटा योग्यता हो । यी सुरक्षाकर्मीसँग मान्छे चिनेर तत्काल गोली चलाउने उच्च क्षमता हुन्छ । मार्सल आर्टमा उनीहरूको क्षमता उच्च हुनुपर्छ ।

    अन्त्यमा यी बडीगार्डको दुईपुस्ते विवरण लिइन्छ । प्रायः किमकै परिवारसँग सम्बन्धित व्यक्ति र उत्तर कोरियाको माथिल्लो वर्गका व्यक्तिहरू बडीगार्डमा छानिने गरेका छन् ।

    एकपटक बडीगार्डका लागि छानिएपछि जागिर खान्न भन्ने छुट कसैलाई हुँदैन । उनीहरूले निकै कडा अभ्यास गर्नुपर्छ ।

    किमका सुरक्षाकर्मीहरूले उनलाई ३ सय ६० डिग्रीको सुरक्षा घेरा दिएका हुन्छन् । जसका कारण कुनै पनि स्थानबाट अन्य व्यक्ति उनको सामुन्ने आउनै पाउँदैनन् । स्वदेशका कार्यक्रममा किमको अगाडि हिँड्ने वा घोडामा सवार हुने सुरक्षाकर्मीहरूको संख्या तीनदेखि पाँच रहन्छ । जसमा प्रमुख सुरक्षा कार्यालयका निर्देशक पनि हुन्छन् ।

    उनीसँगै हिँड्नेमा चारदेखि ६ गार्ड हुन्छन् । दुई वा तीन बडीगार्ड दायाँ र उत्तिकै संख्यामा बायाँ । त्यस्तै, उनको गाडीको पछाडि चारदेखि पाँच बडीगार्ड हुन्छन् । उत्तर कोरियामा त्यस्ता केही सीमित व्यक्ति मात्रै छन्, जसले सर्वोच्च नेताको नेताको अगाडि बस्दा हतियार बोक्न पाउँछन् ।

    हतियार बोके पनि बडीगार्डहरूको मुख्य काम किमको वरपर रहेका व्यक्तिहरूलाई नियाल्ने हो । सर्वोच्च नेतालाई चुनौती हुने कुनै पनि वस्तुलाई उनीहरूले हात वा शरीरले नै ध्वस्त गर्नुपर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…