• काठमाडौं। गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय व्यहोरेपछि कांग्रेसभित्रैबाट नेतृत्व परिवर्तनको कुरा उठ्यो। यो आवाज यतिसम्म चर्को भयो कि सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाए। यद्यपि सभापति देउवाले कुनै हालतमा नेतृत्व नछाड्ने रणनीति लिए र विभिन्न अस्त्र प्रयोग गरी नेतृत्व परिवर्तनको आवाजलाई दबाए।

    उनको अहिलेको कार्यनीति हेर्दा जसरी पनि कांग्रेसको लगाम आफ्नो हातबाट फुस्कन नदिने रणनीतिमा उनी रहेको देखियो। तर, पछिल्लो समयका घटनाक्रम हेर्दा भने कांग्रेसमा देउवाको पकड फितलो हुँदै गएको र आगामी महाधिवेशनमा कांग्रेस पूरै देउवाको हातबाट उम्कने संकेत देखिएको छ।

    हालै भएका तीन भातृसंगठनको निर्वाचनमा देउवापक्षीय प्यानलको दुर्दशा हेर्दा कांग्रेसभित्रका सहकर्मीले नै देउवालाई नेतृत्वबाट पाखा लगाउने रणनीति बनाएको प्रस्ट हुन्छ। पछिल्लो समय भएको नेपाल ट्रेड युनियन कांग्रेसको निर्वाचनमा देउवा प्यानलका उम्मेदवार १ जनाले मात्र जितेका छन्। यसअघि पार्टीको इन्जिनियर संगठन र कर्मचारी संगठनको निर्वाचनमा समेत देउवा पक्ष निकै कमजोर देखिएको थियो। भातृसंगठनबाट पकड गुमाउँदै जाँदा अर्को महाधिवेशनसम्ममा देउवाको हातबाट पूरै कांग्रेस उम्कने अनुमान गरिएको छ।

    देउवाको परिवारवादी शैलीले कांग्रेसलाई डुबाउने अधिकांश कांग्रेसीहरुको बुझाइ

    कांग्रेसभित्र गिरिजाप्रसाद कोइराला र त्यसपछि सुशील कोइराला हुँदासम्म देउवाले कहिल्यै नेतृत्व पाएनन्। कांग्रेस कोइराला परिवारकै वरिपरि घुमिरह्यो। पछिल्लो निर्वाचनमा भने कोइराला परिवारको कुनै सिनियर प्रतिस्पर्धामा नरहेको अवस्थामा देउवाले कांग्रेसको नेतृत्व पाएका थिए। तर, सभापति भएपछिको देउवाको कार्यशैली कांग्रेसभित्रकै सहकर्मीलाई चित्त नबुझेको देखिएको छ। देउवाको परिवारवादी शैलीले कांग्रेसलाई डुबाउने अधिकांश कांग्रेसीहरुको बुझाइ देखिएको छ। यही कारण कांग्रेस बचाउनकै लागि पुराना कांग्रेस नेताहरु देउवाको विपक्षमा उभिन थालेका छन्।

    पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कृष्ण सिटौला र गगन थापाको धारसँगै कोइराला परिवारका उत्तराधिकारीहरुसमेत मिल्न पुगेको कांग्रेसनिकट स्रोत बताउँछ। बीपीपुत्र शशांक यस विषयमा अहिलेसम्म देखिने गरी केही नगरेको भए पनि उनले समेत कांग्रेस बचाउन पौडेलसँग मिल्नुपर्ने निष्कर्ष निकालेका छन्। यद्यपि उनी देउवाकै समर्थनमा सभापति बन्न चाहेको उनीकटहरु बताउँछन् ।

    पछिल्लो समय देउवाको कार्यशैली हेर्दा उनी पत्नी आरजुलाई कार्यकारी बनाउने प्रयासमा रहेको उनीनिकटहरु बताउँछन्। निकट स्रोतका अनुसार अहिले सभापति देउवाले पार्टीका केही सीमित नेताबाहेक अरु कसैलाई भेट्दैनन्। पार्टीका आफूसँग अत्यन्तै निकट बाहेक अन्य कोही भेट्न आएमा सभापति देउवाले भेट्नै नमान्ने गरेको कांग्रेसकै कतिपय नेता कार्यकर्ता बताउँछन् ।

    देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला आरजुलाई प्रत्यक्ष चुनाव जिताउने र संसदीय दलको नेता हुँदै प्रधानमन्त्री नै बनाउने योजना बनाएका थिए। तर, कांग्रेसको अप्रत्याशित हारले उनको योजना तुहियो। त्यसपछि उनी पत्नीलाई पार्टीभित्र शक्तिशाली बनाउन लागेका छन्। देउवाले आफू जीवित रहँदासम्म आफैं नेतृत्वमा रहने, आफूपछि पत्नी आरजुलाई नेतृत्वमा ल्याउने र त्यसपछि छोरालाई नेतृत्वमा ल्याउने रणनीति बनाएको बताइन्छ । यही कारण अधिकांश कांग्रेसका नेता कार्यकर्ता देउवासँग रुष्ट छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…