• काठमाडौं,१४ असार । ड्राइभिङ पेसामा संलग्न रामकुमार विष्ट जोरपाटीबाट गोकर्ण हुँदै सुन्ताखान दैनिक आवजतावत गर्छन् । बाटोको विकल्प नहुँदा बर्सातको समयमा हुने हिलो र सवारी साधन फस्ने समस्याले उनलाई वर्षा नआओस् भन्ने लाग्छ ।

    ‘पानी परेपछि न बाटो हिंड्न सकिन्छ, न सवारी साधन नै चलाउन सकिन्छ’, दैनिक गोकर्णबाट चावहिल हुँदै कमलादीसम्म कार्यालय धाउने सरिता विष्टको गुनासो पनि उस्तै छ । यो सडक खण्डमा वैकल्पिक बाटो नहुँदा र बर्सातको समय त यो बाटो हिँड्न नपरे पनि हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

    नहिँडी नहुने बाध्यताले सरिता र रामकुमारजस्तै यो क्षेत्रका आम स्थानीयको साझा समस्या भएको छ, सडक यात्रा । ठेकेदार कम्पनीले समयमा काम नगर्दा चावहिल-जोरपाटी-गोकर्णेश्वर वा साँखु सडक क्षेत्र मात्रै होइन, राजधानीका विभिन्न सडकको अवस्था उस्तै छ । बिरामी पर्दा पनि समयमै हस्पिटल जान बाटोकै कारण समस्या पर्ने गरेको विष्टले बताइन् ।

    गोकर्णेश्वर नगरपालिका-३ का अध्यक्ष राजेन्द्र भण्डारीले स्थानीय निकायले माथिल्लो तहसँग समस्या समाधानको पहल गरिरहेको बताए । उनले भने, ‘बुधबार मात्रै शंखरापुर, गोकर्णेश्वर, कागेश्वरी मनहराका नगर प्रमुख, सहरी विकास मन्त्री, उपत्यका विकास प्राधिकरण, सम्बन्धित ठेकेदार र सरोकार समितिको संयुक्त पहलमा एक महिनाभित्र सडकको समस्या समाधान गर्ने सहमति भएको छ ।’ महिनाभित्रै सडक बनाउने प्रतिबद्धता ठेकेदार कम्पनीले व्यक्त गरेको भण्डारीले बताए ।

    सरकारले भने काठमाडौं उपत्यकामा दुईदेखि तीन वर्षअगाडि ठेक्का लागेका सडकको म्याद एक वर्ष थपेको छ । कामै नभएका सडकदेखि निर्माण सकिन लागेका सडकका निर्माण व्यवसायीले थप एक वर्षको सुविधा पाएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाबाट काम भएका विभिन्न सडकका १० वटा प्याकेजको एक वर्षसम्मको समय थप भएको आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले बताए ।

    यो आयोजनाले ठेक्का लगाएको त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको चार वटा प्याकेज रहेको छ । चावहिल-जोरपाटी-साँखु सडक खण्डको चार वटा प्याकेज छन् । लगनखेल-सातदोबाटो सडकका एउटा प्याकेज र बिजुली बजारमा निर्माण भइरहेको धोबीखोला पुलको गरी एकैपटक तीन सडकको नौ र एक पुलको गरी १० वटा ठेक्काको समय एक वर्षको निम्ति थप भएको हो ।

    गत पुसमै समय सकिएकादेखि असार मसान्तमा सकिने आयोजनाको समय थप भएको हो । आयोजनाले ठेक्का लगाएको तीनकुनेस्थित बागमतीमा पप्पु कन्स्ट्रक्सनले बनाइरहेको पुलसहितको अन्य आयोजनाको पनि समय थप हुने प्रवक्ता श्रेष्ठले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…