काठमाडौं, १९ असार । नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई पार्टीले बिर्सिएको छ । सोमबार उनको ९५औं जन्मजयन्ती पार्टी संस्थापनले बिर्सिएको हो ।
कोइरालाको जन्मजयन्तीमा पार्टी नेतृत्वले कुनै कार्यक्रम नगरे पनि १३औं महाधिवेशनपछि पार्टीभित्र तेस्रो गुटका रूपमा उदाएका नेता कृष्णप्रसाद सिटौला समूहले भने उनलाई सम्झिएको राजधानी दैनिकमा समाचार छ ।
‘गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठान’ले साेमबार राजधानीमा गरेको कार्यक्रममार्फत सो समूहले स्वर्गीय कोइराला र उनको योगदानको खाँचो वर्तमान अवस्थामा औंल्याएका हुन् ।
‘कांग्रेसले राजनीतिक मुद्दा जित्यो, निर्वाचन परिणाममा हार्यो, अब कसो गरे उँभो लाग्ला ?’ शीर्षकमा भएको अन्तक्रियामा नेपाली राजनीतिमा स्वर्गीय कोइरालाले निभाएको योगदानको चर्चा गरिएको थियो ।