काठमाडौं । कमजोर स्वास्थ्य अवस्थामा अनसन बसिरहेको डा. गोविन्द केसीको मागको समर्थन गर्दै जुम्लाको सदरमुकाम खलंगामा मंगलबार समर्थकहरुले अर्धनग्न प्रदर्शन गरेका छन्।
डा. केसीको माग पूरा गर्नुपर्ने भन्दै कर्णालीका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प गर्दै डाक्टर र नर्स अनि कर्मचारीहरु डा. केसीको अनसन स्थल पुगेका छन्।
डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने तयारी भएको थियो। तर प्रशासनले बस्न नदिएपछि पानी चुहिने कभर्ड हलमा उनको अनसन जारी छ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (मसाल) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द के.सी.को अनसन र उनको स्वास्थ्य प्रति गम्भीर चिन्ता प्रकट गरेको छ। उनलाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैरजिम्मेवार र अमानवीय कार्य भएको पार्टीले ठहर गरेको छ।
डा.केसीका सात माग
१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।
२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।
३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।
४) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह¥याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्विधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस्।
७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारवाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल शुरु गरियोस्।