काठमाडौं, १९ असार । छोरा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीलाई कारबाही हुनुपर्ने माग राखी अनसन बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उहाँलाई जिउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको एउटा पाटोमा स्पर्शको अनुभव कम हुने समस्या भएको बताइएको छ ।
गंगामायाको विषयमा सरकार गम्भीर नबनेको मानबअधिकारकर्मीको आरोप छ । वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ बाट छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई आजिवन जेल सजायको माग राख्दै गंगामायाले ३६ दिन अघि अनसन सुरु गर्नुभएको थियो । कृष्णप्रसादको हत्या २०६१ साल जेठ २४ गते भएको थियो ।
उहाँका पती नन्दप्रसाद अधिकारीको विर अस्पतालमै २०७१ असोज ६ गते निधन भएको थियो । कृष्णप्रसादको हत्याका आरोपी छविलाल पौडेललाई सर्वोच्च अदालतबाट २०७२ सालमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइए पनि कार्यान्वयन हुन सकेको छैन ।
मानव अधिकारकर्मी चरण प्रसाइले नेपाल समाचारपत्रसंग भन्नुभयो,–‘गंगामायाको माग नाजायज होइन । सर्वोच्चको आदेश कार्यान्वयन नहुनु नागरीक अधिकार हनन हुनुजस्तै हो ।’
राष्ट्रिय मानब अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपाल समाचारपत्रसंग भन्नुभयो–सर्वोच्चको आदेश कार्यान्वयन हुनुपर्छ, आश्वासन मात्र दिने होइन ।’
दोषीमाथि कार्वाहीको माग गर्दै सत्याग्रहमा होमिएकी ६२ वर्षीय गंगामायाले गणतन्त्र दिवसको अवसर पारेर गत जेठ १५ गतेदेखि फेरी आमरण अनसन सुरु गर्नुभएको हो । याे खबर अाजकाे नेपाल समाचारपत्रले लेखेकाे छ ।