• काठमाडौंँ, जेठ २० गते । नेपाली कांग्रेसले संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्य मान्यताको जर्गेनाका लागि सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा मङ्गलबार बसेको पार्टीका पदाधिकारीसहित शीर्ष नेताको बैठकले सरकारले संविधान, विधि र प्रक्रिया मिच्न थालेको निष्कर्ष समेत निकालिएको थियो ।
    कांग्रेसले अब सदन र सडकमा प्रभावकारी उपस्थिति देखाउँछ, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले चेतावनी दिनुभयो । सरकारले नागरिकका मौलिक हकलाई कुण्ठित पार्ने कार्य गरेको विषयमा समेत बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
    चिकित्सा शिक्षासम्बन्धी विधेयकका मूल अन्तरवस्तुलाई सरकारले तोडमोड गरेको आरोप लगाउँदै बैठकमा यस विषयमा छलफल भएको जानकारी उहाँले दिनुभयो । अनसनमा बस्नु भएका डा. गोविन्द के.सी.लाई शान्तिपूर्ण गतिविधिमा समेत रोक लगाएको र आफ्ना विचारलाई सार्वजनिक गर्न नदिएर सरकारले संविधान प्रदत्त मौलिक हकको हनन गरेकोसम्बन्धमा पनि बैठकमा छलफल भएको नेता खाँडले जानकारी दिनुभयो ।
    यसैगरी, छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै ३६ दिनदेखि आमरण अनसनमा बस्नु भएकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका विषयमा समेत सरकार गम्भीर नभएको निष्कर्ष समेत कांग्रेस बैठकले निकालेको छ ।
    मुख्य सचेतक खाँडले संघीय संसद् र प्रदेशसभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्थामा सम्बन्धमा कांग्रेसले आजाव उठाउँदा पनि सरकारले वास्ता नगरेको विषयमा पनि बैठकमा छलफल भएको बताउनुभयो ।
    यसैगरी, बैठकले विरोध प्रर्दशनका लागि सरकारले जारी गरेको निषेधाज्ञाको समेत विरोध गर्दै सरकारी कदम फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको छ । सरकारले निषेधाज्ञा फिर्ता नलिए निषेधाज्ञा तोड्ने चेतावनी समेत काँग्रेसले दिएको छ ।
    बैठकले पार्टीको विधान मस्यौदा समिति तथा अनुशासन समिति शीघ्र गठन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकमा महासमिति बैठकमा प्रस्तुत गरिने विधान र राजनीतिक विषयवस्तुका विषयमा समेत छलफल भएको छ ।
    काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनताको ढाड नै सेकिने गरी सरकारले महँगी बढाएको, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेकाले सदन र सडकमा कांग्रेसले प्रतिकार गर्ने निर्णय गरेको बताउनुभयो ।
    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको उपस्थिति थियो । यसैबीच, कांग्रेसको संसदीय दलको बैठक बुधबार बिहान सिंहदरबारस्थित दलको कार्यालयमा बोलाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…