• काठमाडौं, २० असार । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा कांग्रेसको भूमिका थप प्रभावकारी बनाउनका लागि शीर्ष नेताहरु एकजुट भएको बताएका छन् ।

    नेपाली कांग्रेसका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १८ जना शीर्ष नेताहरुले हिजो विशेष बैठक बसेका थिए ।

    उक्त बैठकमा भएका छलफल जानकारी दिदै प्रवक्ता शर्माले सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन, गोविन्द केसीको माग, गंगामाया अधिकारीको अनशन, बाढी प्रभावित क्षेत्रमा राहत र उद्दार लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

    त्यसैगरी काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको, मूल्यवृद्धि नियन्त्रण नगरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएका प्रश्नलाई बेवास्ता गर्दै आएको लगायतका विषयलाई कांग्रेसले मुख्य रुपमा उठाउने शर्माले बताए ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले पार्टी भित्र भएका सामान्य विवाद र फरक विचार पनि अब एक हुने बताए ।

    सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा, कि निश्चित नियतका साथ प्रस्तुत हुँदै आएको कांग्रेसको ठहर छ । त्यसको उदाहरणको रुपमा चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकलाई लिन सकिने प्रवक्ता शर्माले बताए ।

    सरकारले गत आइतबारको प्रतिनिधिसभा बैठकमा नियम निलम्बन गरी फास्ट ट्रयाकबाट चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको थियो । तर प्रमुख प्रतिपक्षी कांग्रेसले त्यसो गरिएमा संसद अवरोध गर्ने चेतावनी दिएपछि सरकार पछि हटेको छ ।

    अध्यादेशमा भएका महत्वपूर्ण प्रावधान हटाएर प्रतिस्थापन विधेयक ल्याइएको कांग्रेसको दाबी छ । काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कजेललाई सम्बन्धन दिन नहुने, मेडिकल कलेजको सम्बन्धन पाउन तीन वर्ष सञ्चालन हुनुपर्ने जस्ता अध्यादेशका प्रावधानलाई प्रतिस्थापन विधेयकमा हटाइएपछि कांग्रेस रुष्ट छ ।

    प्रतिस्थापन विधेयकको विरोधमा डा. गोविन्द केसीले जुम्लामा आमरण अनशन सुरु गरेका छन् । उनको स्वास्थ्य गम्भीर बन्दै गए पनि सरकारले बेवास्ता गरेको कांग्रेसको आरोप छ ।

    पार्टीको आन्तरिक संगठन मजबुत बनाउनका लागि जतिसक्दो महासमिति बैठक बोलाउने विषयमा पनि सहमति भएको शर्माले बताए ।

    त्यसैगरी विधान समिति गठन गर्ने विषयमा पनि आजको बैठकमा छलफल भएको थियो । अहिलेसम्म गठन हुन नसकेका विभागहरु पनि अब गठन गर्ने सहमति भएको छ ।

    समग्रमा पार्टी एकढिक्का भएर अगाडि बढ्ने विषयमा सबै नेताहरु एकमत भएको शर्माले बताए । हिजोको बैठकपछि सभापति देउवा र पौडेलबीचको सम्बन्ध सुध्रिएको शर्माको दाबी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…