• काठमाडौं, २१ असार । विमान बंगलादेश एयरलाइन्सले विगत नौ वर्षदेखि काम गर्दै आएका नेपाली श्रमिकलाई महिनाको जम्मा ३५ सय तलब दिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो ।

    देवी थापा, जो विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाईन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा पैंतिस सय रुपैंया रहेको छ । त्यो पनि पेट्रोल खर्च भनेर थपेर दिने गरेको हो ।

    उनको तलबकै कुरा गर्ने हो भने मासिक दुई हजार मात्रै हो । उनले भनिन्, ९ वर्ष भयो काम मैले गरेको । दुई हजार तलब छ, पेट्रोलबाट मिलाएर भनेर जम्मा ३५ सय दिन्छ । भत्ता लगायत अरु केहि छैन । दशैंमा पनि केहि दिंदैन । तलब बढ्छ भन्ने आश्वासन दिन्छ तर झुलाएर राख्छ ।

    श्रमिकमाथि एयरलाईन्सले चरम श्रमशोषण गरेपछि पर्यटन श्रमिक संगठन नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) को नेतृत्वमा एयरलाईन्सको मुख्य कार्यालयमा बिहीबारबाट अनिश्चितकालिन हड्ताल शुरु भएपछि उक्त विषय बाहिर आएको हो ।

    हड्तालमा उत्रेकी थापाले भनिन्, हाम्रो माग भनेको दुःख गरे अनुसार दुःखको फल मिलोस् भन्ने हो । आश गरेर कति दिन बाँच्ने । लिखित, मौखिक रुपमा पटक पटक भन्दा पनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौं ।

    उनी मात्र होईन, विगत २६ वर्षदेखि सोहि एयरलाईन्समा काम गर्दै आएका गुञ्जबहादुर श्रेष्ठले महिनामा जम्मा ५ हजार तलब बुझ्छन् । उनी भन्छन्, हुन्छ–हुन्छ भनेर आशा देखाउँछ । दुई वर्षमै अर्को व्यक्ति परिवर्तन हुन्छ ।

    हामी त हेरेको हेर्यै । उनले गहभरी आँसु पार्दै भने, हुन्छ क्यारे भन्ने आशमा आमाले दूध नखुवाएपछि बच्चा रुन्छ तर रोए पनि हामीले सुख पाएनौं । २६ वर्ष बढी भयो काम गरेको तर खाना नपुगेर हड्तालमा उत्रिन बाध्य भयौं ।

    उनलाई दिनको दुई घण्टा काम गरेबापत दैनिक ज्याला दुई सय रुपैंया दिन्छु भनेर राखे पनि व्यवस्थापनले दिनको सोह्र घण्टासम्म काम लगाउने गरेको छ ।

    उनले दुःखेसो गर्दै भने, दिनहुँ दुई घण्टा काम गरे बापत दुई सय रुपैंया दिन्छु भनेर काम गरेको तर न्यूनत्तम १२ घण्टा देखि १६ घण्टासम्म काम लगाउँछ । कार्यालयको रेखदेख देखि कार्यालय खोल्ने, चेक साट्ने काम गर्छु । एकैचोटी ३२ लाख रुपैंया सम्मको चेक साट्नसमेत जान्छु तर आफ्नो ब्यथा आफैंसँग छ ।

    उनलाई तलब दिंदा व्यवस्थापन पक्षले एउटा कागजमा हस्ताक्षर गराउने मात्र गरेको उनले बताए । एयरलाइन्सको कर्मचारी हो भनेर पत्रसमेत नदिएको उनको गुनासो छ ।

    उक्त एयरलाइन्समा काम गर्दै आएका कृष्ण भण्डारीले एयरलाइन्समा काम गर्दै आएका दस नेपाली श्रमिकको चरम श्रमशोषण भईरहेको बताए ।

    श्रमिकहरुलाई ओभरटाईम काम लगाउने, ओभरटाईमको पैसा पनि नदिने, काम ढिला भएर राति भयो भने आफ्नै खर्चमा ट्याक्सी लिएर घर जानुपर्ने, कुनै पनि सेवा सुविधा नभएको र कर्मचारीहरुको नियुक्ति पत्र समेत नदिएको विगत ६ वर्षदेखि काम गर्दै आएका एयर लाईन्सका ट्राफिक सुपरभाईजर सुरेश खतिवडाले बताए ।

    त्यस्तै श्रमिकहरुलाई कुनैपनि सार्वजनिक बिदा पनि नदिने गरेको हड्तालमा उत्रिएका श्रमिकहरुले बताए ।

    सरकारले दिएको न्यूनत्तम सेवा सुबिधा र शर्तअनुसार एयरलाइन्सले काम नगरेको पाईएपछि हड्तालमा उत्रन बाध्य भएको भन्दै यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले वार्ताबाट माग पुरा नगरे एयरलाईन्सको मुख्य कार्यालयमा तालाबन्दी गरिदिने चेतावनी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…